
– एटा सम्वाददाता
अल्डरसट । अल्डरसट भलिबल क्लब (एभीसी)ले दोस्रोपटक भलिबल खेलको आयोजना गर्ने भएको छ ।
गत आइतबार ८ अप्रिल २०१८ का दिन अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित पत्रकार सम्मेलनमा क्लबले सो जानकारी दिएको हो । आगामी ९ जुन २०१८ का दिन अल्डरसटस्थित कनट स्कुलको प्राङ्गणमा आयोजना गर्न लागिएको खेलमा पुरुषतर्फ करिब १५ र महिलातर्फ ८ टिम सहभागी हुने सो क्लबका अध्यक्ष चन्दन गुरुङले बताए ।
क्लबका युवाहरुको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले गत वर्षभन्दा यसवर्ष पुरस्कारको राशिमा केही वृद्धि गरिएको बताउँदै पुरुषतर्फको पहिलो विजेतालाई १००० पाउन्ड र उपविजेतालाई ६०० पाउन्डको नगद पुरस्कार, कप र मेडल प्रदान गरिने जनाए । त्यस्तै, उनले महिलातर्फको बिजेतालाई ४०० पाउन्ड, दोस्रोलाई २५० पाउन्ड र तेस्रोलाई १०० पाउन्ड नगद, कप र मेडल पुरस्कार राखिएको जनाए ।
अध्यक्ष गुरुङले टिम दर्ता शुल्क भने गतवर्षजस्तै पुरुषतर्फ १२० पाउन्ड र महिलातर्फ ८० पाउन्ड शुल्क तोकिएको बताए । उनले गतवर्ष स्थानीय नेपाली उद्यमी, व्यापारी र शुभचिन्तकहरुले पुरस्कारको प्रायोजन गरेको स्मरण गर्दै यसवर्ष पनि आफूहरुले नेपाली संघसंस्था, उद्यमी, व्यापारी र सहयोगी मनहरुलाई पुरस्कार प्रायोजन गरिदिन पत्रकार सम्मेलनमार्फत अनुरोध गरे ।
यस क्षेत्रका ४५ जना युवा खेलाडीहरु संगठित रहेको क्लबका अध्यक्ष गुरुङले युवाहरु कुलतमा नफसोस्, जुवा अर्थात् मेसीनमा नभुलोस् र अनुशासित बनुन् भन्ने उद्देश्यका साथ आफूहरुले क्लबको गठन गरी गतवर्ष पहिलो पटक अल्डरसटमा नेपाली समुदायबीच भलिबल प्रतियोगिताको आयोजना गरिएको स्मरण गरे ।
त्यस्तै, नेपालका क्षेत्रीयस्तरका पूर्वभलिबल खेलाडी समेत रहेका सो क्लबका भलिबल प्रशिक्षक एवं सल्लाहकार स्वर्ग गुरुङले क्लब गठनले युवाहरुमा नयाँ जोश, जाँगर र उत्साह थपिनुका साथसाथै अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, सल्लाहकार हेम गुरुङले युवाहरुको जोश र जाँगरलाई प्रशंसा गर्दै सो दिन बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरे ।
कार्यक्रममा सचिव रामकृष्ण गुरुङले आफूहरुले गतवर्ष २०१७ मा बेलायतका विभिन्न सहरहरुमा गई भलिबल खेलेको स्मरण गर्दै २०१८ सालमा भने आफूहरुले नेपाली समुदाय बेलायतमा पहिलो पटक खेलको आयोजना गरिएको जनाए ।
क्लबका अध्यक्ष चन्दन गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी एवं सदस्यहरुले पत्रकारहरुको विभिन्न जिज्ञासा मेटाउने प्रयास गरेका थिए ।
क्लबका डोल श्रीसको संयोजकत्वमा सम्पन्न हुन लागेको खेलमा सहभागी भई आफूलाई प्रोत्साहन गर्न युवाहरुले अनुरोध गरेका छन् ।


