
फाइल फोटो
लन्डन २२ नोभेम्बर २०२३। गोर्खा भूतपूर्व सैनिकहरूको विभिन्न समस्या समाधानका लागि बहुप्रतिक्षित वार्ता बुधबार हुँदैछ ।
नेपाल र बेलायतका अधिकारीबीच बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा हुने वार्तालाई गोर्खा भूतपूर्व सैनिकहरुले निकै महत्वका साथ हेरेका छन् । वार्तामा नेपाली टोलीको प्रतिनिधित्व बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य गर्दैछन् । बेलायतका तर्फबाट रक्षा राज्यमन्त्री एन्ड्रयू मरिसनले नेतृत्व गर्नेछन् ।
नेपालका तर्फबाट यसअघिका वार्तामा भाग लिँदै आएका मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङका अलावा यसपटक गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राईले पनि भाग लिनेछन् । साथै गेसो उपसभापति धर्म तामाङ पनि उपस्थित हुने छन् ।
समान पेन्सन पहिलो माग हुनुपर्नेमा सबै जना एकमत छन् । पेन्सनको माग टुङ्गोमा पुगेपछि मात्र अरू विषयमा वार्ता अगाडि बढाउनु पर्ने उनीहरूको अडान छ ।
यसैबीच, भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले बुधबारको वार्ता सकारात्मक निष्कर्षमा पुर्याउन अपिल गरेको छ । गेसोका तर्फबाट सभापति कृष्णकुमार राईले मंगलबार वक्तव्य जारी गर्दै भूतपूर्व गोर्खा प्रतिनिधि समेतको सहभागितामा बेलायत र नेपालबीच सरकारस्तरमा हुने वार्ता सफल बन्ने विश्वास व्यक्त गरिएको छ।
सभापति राईले त्रिपक्षीय वार्ता लामो समयदेखि गोर्खाहरुमाथि हुँदै आएको विभेद अन्त्य गर्ने अवसर रहेको भन्दै सदुपयोग गर्न दुवै सरकारलाई आग्रह पनि गरे । वार्ताको सफलताले अन्तर्राष्ट्रियस्तरमा दुवै राष्ट्रको छवि उचो पार्न मद्दत पुग्ने उनको भनाइ छ ।






