नेपालमा गुरुङ जाति

SHARE:

गुरुङ रामप्रकाश ‘समथिङ’

नेपाल सरकारले नेपाल आदिबासी जनजातिमा सूचीकृत गरेको जाति मध्ये गुरुङ जाति पनि एक हो । यो जातिको आफ्नो बास्तविक थातथलो अहिलेको गण्डक क्षेत्रको कालीगण्डकी र बुढीगण्डकी बीच भागमा पर्दछ ।

आज भन्दा १४०० सय वर्ष अघि अहिलेको मंगोलिया देशको वरीपरिबाट यो गुरुङ समुदायको साँँस्कृतिक विकास भएको भन्ने गुरुङ सम्बन्धीका आख्यान र दस्तावेजहरु उल्लेख छ । विभिन्न भूगोलहरु पार गर्दै वर्तमान चिनको सिन्चुआन प्रान्त तिबब्त हुदै नेपालको अन्नपूर्ण हिमालको वारीपारीबाट हालको डोल्पा, मुगु, मुस्ताङ र मनाङ हुँदै गण्डक क्षेत्रमा प्रवेश पश्चात संखुवासभाको रुम्जाटारबाट बसाई सर्दै पूर्व तर्फ धनकुटाको मादीखर्क ताप्लेजुङ, पाँचथर, इलाम, सिक्किम, दार्जिलिङ, आसाम, मणीपुर र बर्मासम्म फैलिएर बसेको छ ।

इमान्दार र सोझा बहादुर ठहरिएका गुरुङ जातिलाई पूर्वमा विभिन्न गढी, थुम र किल्लाहरुको अगुवाई गर्न लगाएको इतिहासमा उल्लेख छ । काजी अभिमानसिं बस्न्यातको समयमा सोलुको डिठ्ठा चम्बासिं गुरुङले वि.स. १८७२ मा आफ्ना फौज मार्फत टिष्टा नदी पारीसम्म विजय हासिल गरी फर्केर टिष्टा नदीमा आफ्ना हतियारहरु ढाल, खुँडा, खुकरी र तरबार पखालेको इतिहासमा उल्लेख छ । ति हतियारहरु आज पनि सिलीगुढी निवासी चम्बासिं कै सन्तान कर्णेल खड्कसिं गुरुङको घरमा सजाएर राखेको देख्न पाइन्छ । यसरी तत्कालिन शासक बर्गहरुले दिएको मान पदवी र जिम्मेवारीहरुलाई पुरा गर्ने क्रममा आफ्नो मौलिक भाषा, सस्कार, सस्कृति र धर्मलाई विस्तारै भुल्दै गएको र शासक बर्गबाट लादिएको, धर्म, सस्कार र सस्कृतिलाई अपनाउनु पर्ने बाध्यताले पूर्वमा बसोबास गर्ने गुरुङहरुले आफ्नो मौलिक भाषा र लिपी छाड्दै गए । धर्म, कर्म र संस्कार संस्कृतिहरु छाड्दै गए । जसका कारणले आजसम्म यस क्षेत्रमा बसोबास गर्ने गुरुङहरुले आफ्नो मातृ भाषा बोल्न र लेख्न जानदैनन् ।
भाषा
यो जातिको आफ्नै मातृभाषा र लिपी छ । यद्यपी माथि उल्लेख भए झै विभिन्न काल खण्डहरुमा पूर्व तर्फ प्रवेश गरेका गुरुङहरुले विविध कारणहरुले आफ्नो मौलिक भाषाहरु बोल्दैनन् । ऐतिहासिक जनआन्दोलन २०४६ पछि आफ्नो भाषा, धर्म, कर्म, संस्कार र सस्कृतिहरु खोज्ने क्रम संगसंगै पूर्वतिर बसोबास गर्ने गुरुङ जातिकाहरुले पनि धर्म गुरु लामाहरुबाट नै आफ्नो धर्म, सस्कार सस्कृति अथवा जन्मदेखि मृत्युसम्मको सस्कारहरु बौद्ध धर्म अनुसार लामा लगाएर गर्न थालेकाछन् ।
संस्कृति
गुरुङहरु दिल उद्धार भएका, एक अर्काका सहयोगी भावना भएका, मिलनसार, प्राय नाचगानमा रमाउने जाति हो । पश्चिममा गुरुङहरु जस्तो रोधीमा गाउने चलन पूर्वतिर छैन । घाटु, सोरठी, घाटुचाटु, र घोण्डी नाच पनि नाच्दैनन् यतातिरका गुरुङहरुले बरु शुभ अशुभ कार्यमा केही पाका पुराना जान्नेहरुको सहयोगमा केटा पक्ष र केटी पक्ष वारीपारी बसी लहरी गीत गाउने चलन छ । यसरी गाउँदा त्यस ठाउँको देवी, देवता, देउराली, भञ्ज्याङ, खोलानाला, भिरपहरा आफ्नो देश प्रदेशका अनुभवहरुलाई बढो रमाइलो तरिकाले प्रस्तुत गर्दछ भने केही युवायुवतीहरु झ्याउरे लोक लयमा दोहोरी खेल्न रुचाउछन् भेडा पालन व्यवसायलाई आम्दानीको मुख्य श्रोतको रुपमा अपनाई उच्च हिमाली भागको विभिन्न भूभागहरुमा चरणको लागि पु¥याउदा आधिबेहरी र हावाहुरीले दुःख दिएको कथा, खान नपाई गोठमा बस्नु परेको व्यथाहरुलाई उद्यौली समय पारी भेडी गोठालाहरुले टुङना बजाइ बजाइ गोठाले लोक लयमा गाउँ घर झरी घर प्रत्येकबाट गोठालालाई नुन चामल र कुकुरलाई मकैको पिठो मागी गोठ फर्केर जाने चलन रहेको कुराहरु साक्षीका रुपमा आज पनि जिवित छन् । यद्यपी वर्तमान अवस्थामा भेडा चरण क्षेत्रको अभाव र युवाहरुको विदेश पलायनका कारणले यो पेशा संकटमा पर्दै गएको छ ।
यो जातिमा मामा चेला र फूपु चेला बिवाहवारी गर्ने भन्ने आम प्रचलन रहे पनि पछिल्लो समयमा शिक्षाका कारणले यस क्षेत्रमा पूmपुचेला र मामाचेला बिहे गर्दैनन् ।
पेसा
यो जातिको मुख्य पेशा भनेको कृषि नै हो । आफ्नो आदिम कालदेखिको मौलिक पेशा भेडापालन हो । पुरुषहरु भेडा पालन गर्ने र महिलाहरु ऊन कात्ने र राडीपाखी बुन्ने मुख्य पेशा हो । पुरुषहरु मालिङगो निगालोको चोयाबाट डोको, डालो र डेली बनाउनु पनि उनीहरुको पेशा हो । पूर्विय जनजिब्रोमा झुन्डिएको राडी पाखी, घुमराडी र लुकुनी गुरुङ समुदाय कै पेशाबाट उत्पति भएको हो । यही पेशा व्यवसायलाई अपनाउदै आउने क्रममा ताप्लेजुङ जिल्लाको प्रसिद्ध पाथीभरा देवीको उत्पत्ति स्थान पनि यही समुदायले पत्ता लगाएको उल्लेख छ । मन्दिरको उद्यपी माथि नै उल्लेख भए अनुसार चरीचरणको अभाव, युवाहरुको विदेश पलायन आदिका कारणले पुख्यौँली पेशा संकटमा पर्दै गइरहेको छ ।
पहिरन
यो जातिको आफ्नो मौलिक पहिरन छ । प्राय गरी बाक्लो गुरुङ बस्तीमा ऐले पनि आफ्नो मौलिक पहिरन लगाउने गर्दछन । तर पूर्वतिरका गुरुङले भने शुभ अशुभ कार्यमा मात्रै लगाउने गरेको पाइन्छ ।
धर्म
गुरुङहरुको आफ्नो मौलिक धर्म बोन धर्मलाई मान्दछन् । आफ्ना कुल पुरोहित पोज्यू र घ्याब्रीद्धारा आफ्ना संस्कारहरु गर्ने गर्दछ । आपूmहरुलाई चार जाते भनी अब्बल दर्जाका ठान्ने लामा, लामीछाने, घले र घोतानेहरु बाहेकका १६ जाते भनी गनिएका घ्याब्रे, पैँजो, रिला, कोके र तेलैजा आदि गुरुङहरुले चाहि बरु आफ्नो परम्परागत मौलिक विधि पुरोहित पोज्यू र झाक्री घ्याब्री लगाउथ्यो रे । तर २०४६ सालपछि पूर्वका गुरुङ समुदायमा बौद्ध धर्मलाई आफ्नो मौलिक धर्म बनाउदै मान्दै आएको छ । यद्यपी त्यस अघि गुरुङहरुले सिमेभुमे (साल्दो–नाल्दो) मातृपितृ, नदीनाला, प्रकृतिलाई पुज्ने गर्दथे ।

आफ्नो कुल पितृहरुलाई बैशाख पूर्णिमा र मंसिर पूर्णिमाको समय पारी आफ्ना परिवारजनले मात्र घर सिरान तलामा बोका र कुखुरा बली दिने चलन थियो । त्यसपछि बली दिएको पशु वा कुखुराको कलेजो हेरी आफ्नो परिवारजनको राम्रो र नराम्रो पक्ष छुट्याउने चलन थियो । २०४६ साल पछि यो क्षेत्रका गुरुङहरुले लामा पुरोहित लगाइ बायु पूजा गर्न हटाएको छ । लामा गुरुहरुले आफ्नो विधि गरी झिंसा उडाएपछि अहिले गुरुङहरुले वायु पूजा गर्दैनन् । हाल आएर जन्मदेखि मृत्युसम्मको संस्कारहरु लामाद्धारा गर्ने र गुम्बाहरुमा खास खास दिन भेला भइ पूजा गर्ने, हरेक वर्ष पौष १५ मा ल्होसार पर्व धुमधामका साथ मनाउने गर्दछ । पूर्वतिरका गुरुङहरुमा चार, बाह्र र सोह्र जातका भनेर कही कतै पनि कुरा उठ्ने गरेको पाइदैन ।

ल्होसारको अघिल्लो दिन पौष १४ गते बेलुका आफ्नो घरको स्वस्ति शान्तिको लागि दोख–दोखालो मनसाउने (छयेकु–हयेकु) चलन छ । कोदो पिठोको ल्हो बनाइ राती मनसाउने गर्दछ । लामाहरुले पुरुषहरुलाई ९ सरा ८ गाठो र महिलाहरुलाई ७ सरा ६ गाठो पारी बेसार मोलेर र रख्खे माला लगाई दिने चलन छ ।

गुरुङ समुदायमा ९ र ७ अंकको विशेष महत्व छ । माथि नै उल्लेख गरे अनुसार यो समुदाय हालको मंगोलियादेखि चिन हुदै नेपाल प्रवेश गरेको ऐतिहासिक तथ्यहरुले पुष्टी गर्छ । त्यस कारण मंगोलियन भाषामा ९ अंकलाई ‘गो’ र मालिक भन्ने जनाउन ‘रोङ’ भन्छन् । महिला र पुरुष बीच श्रम विभाजन, जिम्मेवारी बाडफाड गर्न पितृ मातृ, बंश, कुल घरानालाई पनि बाँडफाड गरेका थिए ।

पुरुषहरुलाई ९ पितृ, ९ बंश, ९ कुलघराना र महिलाहरुलाई ७ मातृ गरी बाडफाड गरेको हुनाले त्यसैको प्रतिक स्वरुप ९ सरा ८ गाठो र ७ सरा ६ गाठो लगाउने चलन छ । त्यही ९ अंकको मालिकलाई ‘गोरोङ’ शव्द प्रयोग गर्ने क्रममा नै अपभ्रंस भई गुरुङ रहन गएको विद्धानहरुको मत छ । यो जातिलाई आदिम वा शास्त्रिय भाषा जसलाई पुरोहित पज्यू, क्ल्हेप्रीहरुले ‘चोँक्यूई’ भनिन्छ । जस अनुसार ‘तु’ भनेको माथि र ‘मु’ भनेको तल भन्ने बुझाउदछ । आफ्नो समुदायको उद्विकास संगसंगै उच्च पहाडी उर्वर क्षेत्रको खोजी गर्दै माथि डाँफे चरण र र तल माछा चरणसम्म आफ्नो मौलिक पेशा भेडा पालन र कृषिलाई माथिदेखि तलसम्म भन्ने ‘तुमु’ शव्द नै पछि गएर तमू भनिन थालिएको हो भन्ने जानीफकारहरुको भनाइ रहेको छ ।
बिवाह
यो समुदायको मामा चेला र पूmपु चेला बीच बिवाह गर्ने परम्परागत चलन रहे पनि हाल आएर त्यस्तो प्रथालाई क्रमश हटाउदै लगेको छ । यस अघि मामा वा पूmपुका छोरा वा छोरी बीचमा एक आपसमा सोधनी नभइ अन्यत्र बिवाह गरी गएमा दण्ड जरिवाना गर्ने गराउने चलन थियो । अहिले उक्त प्रथा हटाउदै लगिएको छ । बिवाहको लागि कुटुम्ब हुने भए केटा केटी कुरा मिले चोरी बिवाह गर्ने र केटा पक्ष र केटीको अभिभावकको सम्झदारीमा तिथिमिति तोकी औपचारिक बिवाह गरीदिने चलन छ ।

चोरी बिवाह गरी लगेमा केटा पक्षका अभिभावक चोरी गरी लगेको बाटोको म्याद सहित ७ दिन भित्रमा केटीको घरमा सय वटा सेल रोटी, एक वटा खसी, केही दस्तुर र १ पाथी रक्सी सहित बुझाउनु जानु पर्दछ । केटीको आमा बावु खुशी भए आफ्ना नातागोता, इष्टमित्रलाई बोलाएर हाम्रो छोरीको प्रसाद भन्दै बाडीखाने चलन छ । मागी बिवाहको लागि केटा पक्ष र केटी पक्षको नातागोता, मामा मावली खुट्याइ मगनी गर्न केटीको घरमा २ पोङ रक्सी राखी मगनी गर्ने चलन छ । केटा र केटी पक्ष मिले केटी पक्षलाई बैना स्वरुप सुन चाँदी पैसा दिइ बिवाहको तिथिमिति तोक्ने चलन छ । बिवाहको दिन केटा पक्षबाट जन्ती लिई नौमति बाजा सहित गुरुङहरुको पहिचान भाला, बर्सा र कम्बरमा खुकुरी बाधी ठाटिएर केटीको घरमा जान्छन । साथमा ३ वटा आङमिलेको खसी, केटी पक्षको माग अनुसारको सेल रोटी र सगुन स्वरुप रक्सी बुझाउनु पर्दछ । बिवाहको दिन लामाहरुद्धारा जग्गे बनाइ विधि पूर्वक अन्माउने चलन छ । यता केटा पक्षको घरमा पनि आफ्नो गच्छे अनुसार सजीसजाऊ गरी लामाहरु लगाई बेहुली भित्रयाउने चलन छ । बिवाह भएपछि बेहुला बेहुली पहिलो टिका लगाउन रोटी, रक्सी र १ वटा खसी लिई माइत र ससुराल जाने गर्दछ ।
जनसंख्या
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार महिला २ लाख ८३ हजार ७ सय ८० र पुरुष २ लाख ३८ हजार ८ सय ६१ गरी जम्मा ५ लाख २२ हजार ६ सय ४१ जना नेपालमा गुरुङ जातिको जनसंख्या रहेका छन् ।
आर्थिक तथा शिक्षा
यस क्षेत्रका गुरुङ जातिहरुको परम्परागत पेशा कृषि र भेडा पालन भएता पनि हाल आएर अन्य व्यवसायमा अगाडि बढेका देखिन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनादेखि लिएर भारत तथा सिंगापुर र यू.केतिर रोजगारीको लागि जाने, व्यापार गर्ने र अन्य रोजगारीका लागि विदेश जाने क्रममा रहेकाछन् यस क्षेत्रका गुरुङहरु । जसका कारण आर्थिक उपार्जन गर्ने गर्दछन् । विगतको भन्दा शिक्षा क्षेत्रमा पनि यस क्षेत्रका गुरुङहरु निक्कै अगाडि देखिन्छ ऐले ।
मृत्यु सस्कार
गुरुङ जातिहरुको अन्तिम सस्कार लामा विधिद्धारा गरिन्छ । मृत्यू भएको चार दिनपछि दाजु भाई नुनतेलबाट चोखिन्छ । मृत्यू भएपछि लामा विधिले साइत हेराइ जंगल लाने चलन छ । मृतकलाई प्राय डाँडामा लगेर सार्वजनिक घाटमा लगेर जलाउने गर्दछ । मृतक परिवारले १३ दिनसम्म नुनतेल बार्ने चलन छ । १३ औ दिनको अन्तिममा मामा मावली,आफन्त जनहरुलाई बोलाएर भोज ख्वाउने गर्दछ । अन्तिम दिन मामा मावलीहरुबाट भान्जा भान्जीहरुलाई सेतो टिका, टोटला र खादा लगाई पञ्च भलादमीलाई आगनमा राखी मृतकका गणगोत्र पुकारी मावली पक्षले मृतकका आफन्तहरुलाई सगुन पानी ख्वाएर जुँठो फुकाउने चलन छ । मृत्यू भएको ४९ औ दिनमा फेरी मृतकका आफन्तहरु भेला भइ बत्ती बाल्ने र त्यसै गरी वर्ष दिनमा पनि भेला भई लामा पढाएर मृतकको नाममा बत्ती बाल्ने गर्दछ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६ लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक मगर जातिको बारेमा लेख प्रकाशन गरिनेछ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!