सोल ५ जनवरी २०२४ । दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट गरिएको भनी दावी गरेको एकीकरण (मर्जर) को माध्यमबाट ‘शेयरधारक’हरूलाई हानि पुर्याउने मनसायलाई मान्यता नदिएको ठहर गरेको छ । योनहाप समाचार एजेन्सीका अनुसार अदालतको फैसलामा ‘लीको नियन्त्रणलाई बलियो बनाउनु र उनको उत्तराधिकार सुनिश्चित गर्नु मर्जरको एकमात्र उद्देश्य नभएको’ ठहर गरिएको छ ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको फैसलाले सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपबाट लीलाई सफाइ दिएको हो । आलोचकहरूले सन् २०१५ को अधिग्रहणले जानीजानी निर्माण फर्मको शेयर मूल्यलाई कम मूल्याङ्कन गरेको यसको शेयरधारकहरूलाई अनुचित रूपमा प्रभावित पारेको दावी गरेका थिए ।






