एटा संवाददाता
लन्डन । नेपालको अत्यन्तै लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य ब्याण्ड’ ले लन्डनको ब्रक्स्टनस्थित ओ टु एकेडेमी घन्काएको छ ।
लन्डनमा सक्रिय डेब्रो इभेन्टसको आयोजनामा गते १ सेप्टेम्बर साँझ नेपथ्यले सांगीतिक प्रस्तुति दिएको हो । नेपालको लोक संगीतमा छुट्टै पहिचान बनाउन सफल नेपथ्यले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउने क्रममा लन्डनमा प्रस्तुति दिएको हो । सन् १९९० मा दीपक राणा (पाइलट), भिम पुन
(हङकङ) र अमृत गुरुङको सक्रियतामा स्थापना भएको व्याण्डले निरन्तर रुपमा नेपाली समाजमा लोकप्रियता र सामाजिक मान्यता प्राप्त गर्दै आएको छ । यसले आफ्नो २५ बर्षको यात्रामा छुट्टै आयाम ल्याई दर्शक तथा श्रोताहरुलाई मनोरञ्जन संगसंगै सामाजिक जिम्मेवारीको थप बोध गराउन सफल भएको छ ।
संस्थापकसमेत रहेका अमृत गुरुङ अहिले एक अभिभावक, नेतृत्व र गायकको रुपमा रहेका छन् । उनैले गत शनिबार बेलुकी लन्डनमा आफ्नो उत्कृष्ट प्रस्तुती दिएका हुन् । नेपालको लोकभाकालाई पप र रगमा ढालेर श्रोता तथा दर्शकहरुलाई विगत २५ वर्षदेखि मनोरन्जन दिँदै आएका गायक अमृत गुरुङले ओ टु एकेडेमीलाई फेरी नेपाली संगीतमय बनाएका थिए ।
नेपालका ७७ जिल्ला जिल्लामा ७० भन्दा बढी जिल्लामा आफ्नो प्रस्तुति दिइसकेका गुरुङले सो साँझ आफ्ना अत्यन्त चर्चित विभिन्न गीतहरु गाएका थिए । पहिलो पटक पाँच वर्षअघि वेम्ली एरेनामा प्रस्तुत् दिइसकेका नेपथ्यले यसअघि दोस्रोपटक पनि ओ टु एकेडेमीमानै प्रस्तुति दिएका थिए । नेपालको पाखा पखेरा र डाँडाकाँकामा लेक र बेंसीमा गुन्जने भाकाका गीतहरु गाउँदा दर्शकहरुले नेपाली झन्डा हल्लाउँदै संगसंगै गाएका थिए ।
मिस नेपाल अर्थ २०१० साहना बज्राचार्यले उद्घोषण गरेको कार्यक्रममा नेपथ्यको भर्खरै तयार भएको ‘शिरफूल शिरैमा’ होस्, केही समय अगाडिको गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आँगनै भरि’, बोलका चर्चित गीतहरु गाएका थिए ।
दुईघण्टा लामो प्रस्तुतिको क्रममा गायक गुरुङले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाक्रम दर्शकहरुलाई सुनाउँदै नेपाली–नेपाली बीचको एकताको आवश्यकता पनि जोड दिएका थिए ।
बेलायतमा रहेका नेपाली संगीतप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सुरज थापाले किबोर्डमा, ध्रुव लामाले ड्रमसेटमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा गायक अमृत गुरुङलाई साथ दिएका थिए ।






