पोखरा २५ मे २०२४ । गायक विनोद बानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायतका लागि प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुति राख्न उनी बेलायत आउन लागेका हुन् ।
पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक बानियाँ पहिलोपटक बेलायत भ्रमणमा निस्कन लागेकोमा उत्साहित छन् । त्यहाँ हुने कार्यक्रममा आफ्ना चर्चित गीतहरू सुनाउदै माहोल रमणीय बनाउने उनको तयारी छ । ‘गोर्खा कप आफ्टर पार्टी’ उनी सहभागी बन्ने कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लण्डनमा यो कार्यक्रम हुनेछ । जहाँ बानियाँसँगै सुगम पोखरेलको प्रस्तुति समेत रहनेछ । कार्यक्रमको आयोजकमा डि एण्ड जि इन्टरटेनमेन्ट, केप्लर इन्टरटेनमेन्ट, सिग्नेचर, गेरे गुरुङ, दिपेश राई, मनोज गुरुङ छन् ।
जुन १ तारिख अल्टरसट लण्डनमा ‘मेलोडी विथ विनोद बानियाँ’ कार्यक्रम हुनेछ । सहारा यूकेको सपोर्टमा हुने कार्यक्रम भव्य बनाउन दीपक खड्का, मीन गुरुङ, तुलाराम गुरूङले मिहेनत गर्दैछन् । कार्यक्रम बेलुका ७ बजेबाट बिहान १ बजेसम्म चल्नेछ । दुवै कार्यक्रममा सहभागी भएर रमाउन लण्डनमा रहेका नेपालीलाई उनले आग्रह गरेका छन् ।
यसैबीच गायक वानियाँलाई पोखराको सहारा क्ल्बले एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेको छ । उनी खेल गीतमार्फत समेत चर्चामा छन् । उनले आवाज भरेको पहिलो खेल गीत सहारा क्लबको रहेको थियो । जुन गीतले सहारा क्लबलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्यो । क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले क्लब र बानियाँको सहकार्य लगायतको विषयमा बोलेका थिए । बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष केशवराज बराल सहित पूर्वअध्यक्षहरू र वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य सहभागी बने ।
२०५७ सालमा ‘माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारिकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका बानियाँको पहिलो एलबम थियो ‘मान्छे’ । त्यसपछि ‘डाउट’ र ‘प्रोफाइल’ एलबम बजारमा आए । बानियाँले नेपाली फिल्म ‘दयारानी’ मा गाएको गीत समेत चर्चामा छ ।






