नृत्यमा चिसापानी, कवितामा श्रीराम र चित्रकलामा रेबिका प्रथम
हुम तमु
पोखरा । स्टार्स स्टुडियो प्रालि.ले आफ्नो दोश्रो वार्षिकोत्सव विविध प्रतियोगिता गरी मनाएको छ। तीस वर्ष माथिका सामुहिक नृत्य प्रतियोगिता, चित्रकलामा नृत्य शीर्षकमा चित्रकला प्रतियोगिता र कविता प्रतियोगिता गरी स्टार्स उत्सव २०७५ भव्यताका साथ आइतवार सम्पन्न गरेको हो।
पोखरा सभागृहमा आयोजित स्टार्स उत्सव २०७५ अन्र्तगत तीस वर्ष माथिका सामुहिक नृत्य प्रतियोगितामा कौडा प्रस्तुत गरेको पोखरा १३ स्थित चिसापानी टोल विकास संस्था प्रथम हुदै ३० हजार रुपैयासहित पुरस्कृत भयो। ११ समुह प्रतिस्पर्धी रहेको प्रतियोगितामा बालाबोट गीतमा नृत्य प्रस्तुत गरेको पैयुँखोला तमु समाज दोश्रो हुदै २० हजार, सिङ्गदी गाँउ चिनारी गीतमा नृत्य प्रस्तुत गरेको क्रबा आजी सिङ तमु समाज तृतिय हुदै १० हजार नगदसहित पुरस्कृत बन्यो भने सोरठी प्रस्तुत गरेको दुधपोखरी तमु समाज र पुरानो गीत लाइभ गायनमा नृत्य प्रस्तुत गरेको सिलाङ गुरुङ समाज सान्त्वना हुदै जनही पाँच÷पाँच हजार रुपैयासहितको पुरस्कारबाट चित्त बुझाउनु पर्यो।

प्रतियोगिताको निर्णायकहरुमा वरिष्ट नृत्य निर्देशकहरु दानबहादुर तमु, धोज तमु र चन्द्रा थापा रहनुभएको थियो भने निर्णायकहरुको निर्णयको घोषणा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक मेनकाजी तमुले गर्नुभएको थियो।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र स्टार्स स्टुडियोका प्रवन्ध निर्देशक जसु तमुले पुरस्कृत गरेका थिए ।
स्टार्स उत्सव अन्र्तगत शनिवार पोखरामा सम्पन्न चित्रकलामा नृत्य शीर्षकमा अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगिताका प्रथम हुन सफल गण्डकी बोर्डिङकी रेविका सुवेदी, दोश्रो स्थान हासिल सिर्जना बोडिङका संगम पौडेल, तेश्रो बन्दै बाल प्रभात माविका शुभम मगर, चौथो घोषित न्यु मिलिनियमकी नमिता गुरुङ र पाँचौ स्थानमा चित्त बुझाएका कास्की मोर्डनाइज्ड एकेडेमीका योगेश सुनार क्रमशः ७ हजार, ५ हजार, ३ हजार, एक हजार पाँच सय, एक हजार पाँचसय रुपैया सहित प्रमुख अतिथि कर्म तमुबाट पुरस्कृत बने।
यस्तै गरी बोर्षिकोत्सव अन्र्तगत शनिवार नै आयोजित कविता प्रतियोगितामा सँस्कृति शीर्षकको कविता प्रस्तुत गर्नुभएका कास्की गोर्जेका श्रीराम अधिकारी गोर्जे प्रथम हुदै १० हजार, रुपन्देशीका बन्धुदेश दोश्रो हुदै ७ हजार, जोना मगर तेश्रो हुदै ५ हजार, चौथो हुनुभएकी समिक्षा ठकुरी १ हजार ५ सय र पाँचौ बन्नुभएकी सञ्जना सुवेदी १ हजार ५ सय रुपैयासहित प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।
स्टार्स उत्सव २०७५ कार्यक्रममा लामो समय देखि नेपाली लोक सँस्कृति जगेर्ना र कलाकारिता क्षेत्रमा विशेष योगदान पुर्एको भन्दै बरिष्ठ नृत्य निर्देशक, सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष, तमु धिं नेपालका केन्द्रीय सदस्य तथा साँस्कृतिक संयोजक मेनकाजी तमुलाई तिलमाया गुरुङ स्मृति कला सम्मान पुरस्कारबाट पुरस्कृत गरिएको थियो। नगद १० हजार, सम्मानपत्र, दोसल्लासहितको उक्त पुरस्कारबाट प्रमुख अतिथि कर्म तमु र जसु तमुले मेनकाजी तमुलाई सम्मान गरिएको हो। उक्त पुरस्कार स्टार्स स्टुडियोकी प्रवन्ध निर्देशक जसु तमुले आफ्नी आमाको स्मृतिमा स्थापना गरेका हुन् ।
स्टार्स उत्सव २०७५ को दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको प्रमुख अतिथि कर्म तमुले आफ्नो मौलिक पहिचान तथा सँस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुहुदै घलेक विर्सदै जाने अनि पञ्जाबी ड्रेसमा रमाउन नसुहाउने बताउनुभयो।आयतित सँस्कृतिको ग्रहण र मौलिकताको अपमानले मौलिक सँस्कृति धरापमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुदै नृत्य, चित्रकला, कविता साहित्यले मौलिक सँस्कृति हस्तान्तरणमा सघाउने दावी गर्नुभयो।नृत्य मार्फत सामाजिक जागरण, रुपान्तरण, सँस्कृति संरक्षण र समृद्ध समाज निर्माणमा जुट्दै जसुले स्टार्स स्टुडियो सञ्चालन गरेकोमा प्रगतिको कामना गर्नुभयो। उहाँले थप्नुभयो, मैले कला र खेलकुदबाट सय भन्दा बढी मेडल प्राप्त गरेको छु तर अहिलेको छोरा छोरीले त्यसको महत्व नबुझ्दा चित्त दुख्छ भन्दै उहाँले सँस्कृति विर्सिदै गएकाले नेपाल र नेपाली समाज समृद्ध बन्न नसकेको बताए ।
सम्मानित मेनकाजी तमुले आफुले राजाबाट गोर्खा दक्षिण बाहु, मन्त्रीहरु राष्ट्रिय, क्षेत्रीय लगायत दुवै सम्मान पाउदा भन्दा पनि आमाको स्मृतिमा प्राप्त सम्मान अत्यन्तै गर्विलो लागेको बताउनुभयो। उहाले भन्नुभयो, कलालाई नबुझ्दा घृणा अपमान गरिन्थ्यो तर कलाकै कारण आफु विश्वका धेरै मुलुक घुम्ने र सबैले सम्मान गर्ने ठाँउमा छु। लाहुरेको रहर बोकेर पोखरा झरेका आफु कलाकार नबनेको भए भेडा गोठ मै हुन्थ्यो होला मेनकाजी तमुको भनाई थियो। कला र सँस्कृति अमुल्य निधी भएकाले सम्मानको क्षेत्र बन्दै गइरहेको बताए ।
स्टार्स स्टुडियोकी प्रवन्ध निर्देशक जसु तमुको अध्यक्षता र रोशनी तमुको संचालनमा भएको कार्यक्रममा बाल गायक बिनय तमु, गायक गायिका मनोहर राना र कृष्टि तमुले गीत प्रस्तुतीसँगै एउटा खुट्टा गुमाएकी अञ्जना तमुको नृत्यसहित स्टार्स स्टुडियोको प्रशिक्षार्थी कलाकारहरुको नृत्यले कार्यक्रम थप रौनक बनाएको थियो।
पोखरा न्युरोडस्थित स्टार्स स्टुडियो प्रालिको दोश्रो वार्षिकोत्सव बृहत दर्शकको विचमा स्टार्स उत्सव २०७५ मा भएको थियो।स्टार्स स्टुडियोले नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण नृत्य, चित्रकला, साहित्यबाट पनि गर्न सकिन्छ भन्ने सन्देश उत्सव मार्फत स्टार्स स्टुडियोले दिन खोजेको थियो।






