रोशन मेवाहाङ्ग
लन्डन । मन मस्तिष्क सिर्जनशील भएपछि कला, साहित्य र संगीत सिर्जनाका लागि कुनै सीमा हुँदैन । र त, मन उडेर जहाँ पुगे पनि आफ्नो माटोको सुगन्ध र जीवनको यथार्थतालाई कलामा विभिन्न तरिकाले पोखिरहेका, पोतिरहेका हुन्छन् । लामो समयदेखि गृहयुद्धमा फसेको अफगानिस्तानजस्तो देशमा रहेर पनि हजारौं परदेशी जिन्दगीको भोगाइहरुलाई आफ्नै देशको सुगन्ध आउने लोकभाकामार्फत गायक जीवन पुनले यसरी पोखेका छन् ।
‘रैछ संसार पैसामा बिकनी
चोखो माया रैनछ टिकनी
जुनको सामु तारा हरायो
मनले नजिक भए नि मायालु
धनले हाम्लाई टाढा गरायो ।’
दाङमा जन्मिएका गायक जीवन पुन सानैदेखि गीत, संगीतमा रुचि भएर पनि विभिन्न कारण हजारांै युवासरह आफू पनि विदेशतिर हिँड्न विवस भए, केही समय परदेश बसाई पछि उनले आफ्नो चाहनालाई दुनियाँसामु ल्याएरै छोडे ।
गायक जीवनको सार्वजनिक गीत ‘धनले टाढा’ लोकगीत नेपाली गीत, संगीतमा डेब्यु गीत हो । जसमा चर्चित गायिका देवी घर्ती मगरले स्वरमा, शब्द, संगीत सिर्जनामा सन्दीप भुसालले साथ दिएका छन् ।
भावना म्युजिक सोलुसनको प्रस्तुति रहेको सो गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन् भने अमर शाक्यको सम्पादन र राजेश घिमिरेले भिडियो खिचेका हुन् ।
म्युजिक नेपालले केही दिनअघि सामाजिक सञ्जाल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको बताए । गीतको म्युजिक भिडियोमा अहिलेका जल्दाबल्दा मोडलहरु बिमल अधिकारी र सरिका केसीले फिचरिङ्ग गरेका छन् ।
छोटो बिदामा घर गएको बेला सोचेजस्तो काम गर्न नसकिने भएकोले पनि आफूहरुका लागि धेरै गाह्रो विषय रहेको उनले जानकारी गराए । अफगानिस्तानजस्तो देशमा संगीत सिक्ने त टाढाको कुरा संगीत सुन्न पनि सकिँदैन किनकि मजदुरका लागि इन्टरनेट सुविधा, मोबाइलजस्ता कुराहरु पूर्ण रुपमा निषेध गरिएको गायक पुनले दुखेसो पोखे ।






