नियात्रा: यात्रा जापानको
चिम्खोले काईला – बेलायत।
जापान पूर्वी एशियामा अवस्थित एक विकसित द्वीपराष्ट्र हो, जसको क्षेत्रफल करिब ३७७,९७५ वर्ग किलोमिटर छ। जापानको जनसंख्या लगभग १२५ लाख (१२.५ करोड) भन्दा अलिकति कम छ। देशको आर्थिक वृद्धिदर अहिले केही सुस्त छ र जनसंख्या वृद्धावस्थातर्फ अग्रसर हुँदैछ। जापानको अर्थतन्त्रमा सेवाक्षेत्र जस्तै वित्त, व्यापार, पर्यटन, स्वास्थ्य सेवा, सूचना प्रविधि र सञ्चार मुख्य पेशा हुन्। यसका अतिरिक्त, उच्च प्रविधियुक्त उद्योग र विनिर्माण क्षेत्र विशेष गरी मोटरगाडी, उपभोक्ता इलेक्ट्रोनिक्स, मेशिनरी र रसायन उद्योगले पनि अर्थतन्त्रमा ठूलो योगदान पुर्याएका छन्। कृषि र मत्स्यपालन सानो भए पनि स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। जापानको आम्दानीका प्रमुख स्रोतमा उच्च मूल्यका निर्यात (जस्तै अटोमोबाइल र प्राविधिक उपकरण), विदेशी व्यापारबाट हुने राजस्व, सेवा व्यवसाय (बैंकिङ्, बीमा, सूचना प्रविधि), अनुसन्धानमा आधारित उत्पादन, पर्यटन र विदेशी लगानी समावेश छन्।
संसारका धेरै देशहरूको भ्रमण गरिसके पनि जापान जाने अवसर भने अहिलेसम्म जुरेको थिएन। जीवनको ६४औँ वसन्त पार गर्ने क्रममा बल्ल जापान भ्रमण गर्ने मौका मिलेको छ। श्रीमती जमुना र छोरीहरू प्रिया र प्रियंकाको हङकङको परिचयपत्र (आईडी) नवीकरण गर्नुपर्ने भएकाले उनीहरू त्यसका लागि हङकङ जाने तयारीमा छन्। तर, हङकङमा उक्त प्रक्रिया पूरा गर्न झन्डै दुई हप्ता वस्नुपर्ने भएपछि त्यो समय र खर्च दुबै केही अनावश्यक हुने ठानेर सानो छोरी प्रियंकाले त्यस अवधिको सदुपयोग स्वरूप जापान भ्रमण गर्न सुझाव दिइन् र मलाई पनि सँगै जापान जान आग्रह गरिन्। त्यसैले म पनि उनीहरूसँगै हङकङ हुँदै जापान जाने योजना बनेको छ। हङकङको परिचयपत्र तथा आईडी नवीकरण गर्नुको लागी मेरो अभिन्न मित्र तथा मगर संघ हंगकंगका पुर्वअध्यक्ष नेत्र पहराई सरसंग समय मिलाएको छु।
श्रीमती जमुनाले हामी चार जनाका लागि हङकङ र जापान दुवै गन्तव्यका विमान टिकट अनलाइनमार्फत बुक गरेकी छिन्। हामी सबै हङकङ उडानका लागि तयार छौं। ठूली छोरी प्रिया भने उत्तरी आयरल्याण्डको बेल्फास्टबाट सिधै लन्डनको हिथ्रो विमानस्थलमा आइपुग्ने भएकी छिन्। म, जमुना र डा. प्रियंका उनलाई त्यहीँ भेट्नेछौं। परिवारका अन्य सदस्य डा. गोपाल बाबु उत्तरी आयरल्याण्डकै बेल्फास्टमा रहने भएका छन् भने मेगोमी छोरी र लिंकन छोरा बेलायतको न्यूबरीमा रहने भएका छन्।
यसै क्रममा हामीले हिथ्रो विमानस्थलमा प्रिया छोरीलाई भेटेका छौं। उनी बेल्फास्ट विमानस्थलबाट हिथ्रो ओर्लिएर हामीसँग मिलन भएकी हुन्। हामीले लगेज पठाएर सुरक्षा जाँचतर्फ लाग्यौं। सुरक्षा क्षेत्रमा विदेश यात्रामा निस्कने र बेलायत भ्रमण सकेर फर्कन लागेकाहरूको ठूलो भीड छ। यो क्षेत्र सधैं भीडभाड र हतारयुक्त रहन्छ। यात्रुहरूलाई व्यक्तिगत कपडा र सामग्रीहरू फुकालेर सुरक्षा ट्रेमा राख्नुपर्छ, जाँचपछि फेरि ती सामानहरू झोलामा राख्दै घडी, पेटी, गरगहना आदि पहिरिनुपर्ने भएकाले केही हतारोको अनुभव हुन्छ।
सुरक्षा जाँच सकेर हामी ड्युटी-फ्री पसलतर्फ लाग्यौं। मैले प्रियंका छोरीलाई पनि साथमा लगेँ, किनकि एक जनाले दुई बोतलभन्दा बढी मदिरा खरिद गर्न नपाइने नियम थियो। मैले हङकङका साथीहरूको लागि चार बोतल ‘जोनि वाल्कर’ ह्विस्की किनें। खरिद सकेपछि हामी चाइना एयरलाइन्सको गेटनजिकै बसेर विश्राम लियौं। अहिले बेलायतमा मे महिना चलिरहेको छ। मौसम सुहावना र आकाश खुलेको छ। हिथ्रो विमानस्थलको आकाशमा जहाजहरू लस्करै ओर्लनका लागि आफ्नो पालो कुरिरहेका देखिन्छन्। यहाँ करिब प्रत्येक दुई मिनेटमा एउटा विमान अवतरण हुन्छ, जसले यो विमानस्थललाई संसारकै व्यस्ततम मध्ये एक बनाएको छ।
यतिबेला चाइना एयरलाइन्सले विमानमा यात्रुहरूको नाम आ–आफ्नो सिट अनुसार पुकारिरहेको छ। हाम्रो नाम उच्चारण भएपछि हामीले पनि आफ्नो सिट खोजी गरी बसेका छौं। यसपटकको हङकङ भ्रमणका लागि भने हामीभित्र त्यस्तो विशेष उत्सुकता जागेको छैन, किनभने हामी पहिले नै धेरैपटक हङकङ भ्रमण गरिसकेका छौं। यदि मेरो व्यक्तिगत अनुभवको कुरा गर्ने हो भने, म करिब १५ वर्षसम्म हङकङमा रोजगारीमा कार्यरत थिएँ। त्यसैले पनि हङकङप्रति कुनै नयाँपन त छैन, तर मनमा भने अर्को किसिमको उत्साह छ। कतिखेर हङकङ पुगेर अम्बा, ‘फिश बल’ र ‘चोइ सम’ मनपरी खान पाउँछु भन्ने आतुरता जागिरहेको छ।
हाम्रो विमान अहिले शाङ्घाइका लागि उडान भरेको छ। यो उडान करिब सात घण्टाको हुनेछ। शाङ्घाइको उडानमा खानाको व्यवस्था छ कि छैन भन्नेबारे श्रीमती जमुनालाई निश्चित थाहा थिएन, किनभने टिकट त उनले नै काटेकी थिइन् तर खाना बुकिङ गरिएको हो कि होइन भन्ने कुरा उनलाई स्पष्ट थिएन। तर, पछि थाहा भयो, विमानमा खाना रहेछ। खाना खाएपछि म निदाएँ, र जब आँखा खुल्यो, हामी शाङ्घाइ अवतरण गर्नै लागेका थियौं।
हामी शाङ्घाइमा करिब तीन घण्टा ट्रान्जिट गरेपछि हङकङका लागि उडान आरम्भ भएको छ। यो उडानमा पनि अधिकांश यात्रु चिनियाँ (Chinese) नै छन्। बेलायतबाट शाङ्घाइ आउने उडानमा पनि चिनियाँ यात्रुहरू नै बढी थिए। जहाजका परिचारिकाहरूले हामीलाई समेत चिनियाँ भाषामै सम्बोधन गर्छन्, किनभने हाम्रो रूपरङ उनीहरू जस्तै देखिन्छ।
उडानको समय करिब चार घण्टाको छ। हामी हङकङको अन्तर्राष्ट्रिय विमानस्थल—लान्टाउ टापुमा अवस्थित—मा अवतरण गर्न लागिरहेका छौं। यसबेला हङकङमा रातको करिब एघार बजेको छ। विमानको झ्यालबाट हेर्दा आकाश छुने गगनचुम्बी भवनहरू, रंगीबिरंगी उज्यालो बत्तीहरू र तिनको झिलिमिली दृश्य मनमोहक देखिन्छ। त्यही क्षण मलाई वास्तवमै हङकङ आइपुगेको अनुभूति भयो। बेलायतमा यस्ता चम्किला बत्ती र उचालिएका भवनहरू प्रायः देखिँदैनन्। केही क्षणमै हाम्रो विमान बिस्तारै रनवेमा अवतरण भयो।
विमानबाट उत्रिएपछि हामी लामो करिडोर हुँदै ब्यागेज सङ्कलन (Baggage Collection) स्थानतिर लाग्यौं। यसबेला रातिको बाह्र बज्नै लागेको थियो। ब्यागेज प्राप्त गरेपछि हामी यौमाटाई जाने बस टर्मिनलतर्फ अघि बढ्यौं। हङकङको मौसम निकै गर्मी छ—ब्याकप्याक बोकेर, ह्यान्ड लगेज तानेर र बस पार्कसम्म हिँड्दा पसिनाले लथपथ भएका थियौं। केहीबेरमा यौमाटाई जाने बस आइपुग्यो र यात्रुहरू चढ्न थाले।
बसमा चढेपछि ‘अक्टोपस कार्ड’ (Octopus Card) प्रयोग गरेर भाडा तिर्ने व्यवस्था रहेछ। तर मेरोसँग उक्त कार्ड नभएकाले मैले हङकङ डलर क्यासमा तिर्ने प्रयास गरेँ। तर बसका चालक रिसाए — उनले क्यास लिने अनुमति नभएको कुरा सांकेतिक रूपमा प्रष्ट गरे। बसभित्र सिसीटीभी (CCTV) को निगरानी रहेकाले नियम तोड्न सक्दैनथे। म केहीबेर साइडमा लागेर बसेँ, ताकि मेरो कारण अरू यात्रुहरूलाई असहज नहोस्। अन्ततः सबै यात्रुहरू चढेपछि मैले सय हङकङ डलरको नोट चालकको अगाडिको विन्डस्क्रिन (windscreen) नजिक बिस्तारै राखिदिएँ। त्यसपछि चालक शान्त भए र बस अगाडि बढ्यो। वास्तवमा यस्तो कार्य नियमविपरीत (अवैधानिक) थियो, तर मेरोसँग ‘अक्टोपस कार्ड’ नभएको र उसलाई पनि सायद बियर पिउने पैसाको आवश्यकता भएकोले त्यो परिस्थिति हामी दुवैका लागि बाध्यता नै बन्यो।
बसले हामीलाई मङ्कोक (Mong Kok) को बस स्टपमा झार्यो। त्यहाँबाट आरगाइल स्ट्रीट (Argyle Street) स्थित हाम्रो एअरबीएनबी (Airbnb) पुग्न करिब एक किलोमिटर पैदल हिँड्नुपर्थ्यो। हामीले ट्याक्सी रोक्ने प्रयास गर्यौं, तर चालकले छोटो दूरी भएकाले लैजान अस्वीकार गर्यो। त्यसपछि कान्छी छोरी प्रियंकाले मोबाइलमा स्याटनेभ (SatNav) सेट गरिन्, र म उनलाई दिशानिर्देशन दिँदै पैदलै हिँड्यौं। केही बेरमा हामी एअरबीएनबीमा पुगेका थियौं। लगेज राखेर हतारिँदै फिस बल (Fish Ball) खान मङ्कोकतिर फर्कियौं। यसबेला रातको करिब चार बजेको थियो। स्वादिलो फिस बल खाएर तृप्त पेटका साथ एअरबीएनबी फर्केर विश्राम गर्यौं।
केही समय आराम गरेपछि म्याग्दीका तर हङकङ निवासी भाइहरू राजु पुन, दल शेर्पुजा, भान्जा कर्ण पुन र छोरी मनु पुनलाई भेट्ने योजना बनायौं। उनीहरू मङ्कोकमै बस्दछन्। हामी उनीहरूको भेटमा निस्कियौं र बाटैमा भेट भयो। त्यसपछि राजु भाइको पसलमा गयौं, जहाँ धेरै साथीभाइहरूसँग भेटघाट भयो। केही समय रमाइलो संवाद र कुराकानीपछि मनोज सूर्यवंशी सरसँग भोलिपल्ट वानचाइ (Wan Chai) स्थित इमिग्रेशन टावरमा भेटेर आईडी नवीकरण गर्ने सल्लाह भयो। त्यसपछि हामी एअरबीएनबी फर्केर विश्राम गर्यौं। वास्तबमा मैले नेत्र पहराई सरसंग समय मिलाएको थिए तर उहाँ नेपाल जानुभएको कारणले मनोजजीसंग भेटहुने करा भएको छ।
भोलिपल्ट बिहान हामी मनोजजीसँग वानचाइको इमिग्रेशन टावरमा भेट्यौं। मेरो पुरानो आईडीको अवधि सकिएको रहेछ, त्यसैले सो आईडी नवीकरण सम्भव भएन। इमिग्रेशन अधिकृतले नयाँ आवेदन (Fresh Application) दिई मात्र नयाँ आईडी प्राप्त गर्न सकिने सल्लाह दिनुभयो। त्यसपछि हामीले नयाँ आवेदन दर्ता गर्यौं र अब जापान भ्रमणको तयारीमा लाग्यौं।
हामी हङकङबाट जापानको ओसाका जान लागेका छौं। ओसाका हङकङदेखि धेरै टाढा छैन, उडान करिब चार घण्टाको मात्र छ। जापान भ्रमणका लागि विमान टिकटदेखि लिएर सम्पूर्ण यात्रा कार्यक्रम (आइटिनरी) व्यवस्थापनको जिम्मेवारी कान्छी छोरी प्रियंकाले लिएकी थिइन्। उनले यात्रा योजना यसरी बनाएकी छिन् — पहिले ओसाका र क्योटो शहरहरूको भ्रमण गर्ने, त्यसपछि बुलेट रेलमार्फत टोकियो पुग्ने; टोकियोमा शहर अवलोकनसँगै माउन्ट फुजीको दृश्यावलोकन गर्ने, त्यसपछि हाकोने घुम्ने, र अन्ततः हाकोनेबाट टोकियो फर्की नारिता विमानस्थल हुँदै पुनः हङकङ फर्किने। हामी अहिले उनको योजनाअनुसारै यात्रा गरिरहेका छौं।
हामी मङ्कोकबाट बस चढी लान्टाउ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छौं। विमानस्थलमा पुन मगर संघ हङकङका अध्यक्ष गोमा पुन र उनकी बहिनीहरूसँग आकस्मिक भेट भयो। उनीहरू त्यहाँ रोजगारीमा संलग्न रहेछन्। छोटो तर आत्मीय भेटघाट र हार्दिक संवादपछि हाम्रो ओसाका जाने उडानको समय भयो। करिब चार घण्टाको सुखद यात्रापछि हामी बिना कुनै कठिनाइ ओसाका विमानस्थल अवतरण गरेका छौं।
ओसाका, जापानको होन्शु टापुको कान्साइ क्षेत्रमा अवस्थित एक प्रमुख महानगर तथा आर्थिक केन्द्र हो। यसको क्षेत्रफल करिब २२५ वर्ग किलोमिटर छ भने जनसंख्या करिब २७ लाख (२.७ मिलियन) भन्दा बढी रहेको छ, जसले यसलाई टोकियो र योकोहामापछि जापानको तेस्रो सबैभन्दा ठूलो शहर बनाएको छ। ऐतिहासिक रूपमा ओसाका जापानको व्यापारिक मुटुका रूपमा परिचित छ। यहाँका प्रमुख पेशा तथा रोजगारीका क्षेत्रहरूमा व्यापार, उद्योग, सूचना प्रविधि, सेवा र पर्यटन पर्दछन्। शहरमा ठूला बहुराष्ट्रिय कम्पनीहरूको मुख्यालयहरू रहेका छन्, साथै साना–ठूला व्यवसाय, वित्तीय संस्था र खुद्रा बजारहरू पनि फस्टाएका छन्।
ओसाकाको आम्दानीका प्रमुख स्रोतमा उद्योग र उत्पादन क्षेत्र (विशेष गरी मेशिनरी, इलेक्ट्रोनिक्स, रसायन, खाद्य प्रशोधन), सेवा र व्यापार, बन्दरगाहमार्फत हुने आयात–निर्यात र पर्यटन पर्दछन्। यहाँको ओसाका बन्दरगाह जापानकै प्रमुख अन्तर्राष्ट्रिय बन्दरगाहहरूमध्ये एक हो, जसले देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ।
हामी यतिखेर ओसाका विमानस्थलमा अवतरण गरेका छौँ। जापानको यो भ्रमण हाम्रो परिवारको पहिलो विदेशी यात्रा हो। मनमा अत्यन्त उत्साह र कौतूहल जागेको छ। पर्यटक भएकाले हामी अहिले अध्यागमन विभागको फारम भरिरहेका छौँ। त्यहीँ वरिपरि केही नेपाली विद्यार्थीहरू पनि फारम भर्दै थिए। उनीहरू “फारम कसरी भर्ने हो?” भन्दै आपसमा नेपाली भाषामा कुरा गरिरहेका थिए। तर, हाम्रो परिवारलाई भने उनीहरूले नेपाली भनेर चिनेका छैनन्, किनकि हाम्रो मुहार चिनीया वा जापानीज जस्तै देखिन्छ।
फारम भरेर अध्यागमन पार गरेपछि हामी रेलको टर्मिनलतर्फ निस्कियौँ। कान्छी छोरी प्रियंकाले ओसाका शहर घुम्ने र रेलमार्ग हुँदै केयोतो पुग्ने योजना बनाएकी थिइन्। त्यसैले हामी उनकै योजनाअनुसार अघि बढिरहेका छौँ। जापानका रेल्वे स्टेशनहरूमा लगेज तथा अन्य सामान राख्ने लकरहरू रहेछन्। शहर घुम्न सजिलो होस् भनेर हामीले हाम्रो लगेज, ह्याण्डक्यारी र ब्याकप्याक सबै लकरमा राख्यौँ र त्यसपछि ओसाका सहर अवलोकनका लागि निस्कियौँ। ओसाका सहर अत्यन्तै शान्त, सुन्दर, विशाल, सफा–सुग्घर र व्यवस्थित लाग्यो। यहाँ बसको लेन, कारको लेन, साइकलको लेन र पैदल यात्रीका लागि छुट्टै बाटो रहेछन्।जापानीहरू स्वस्थ जीवनशैलीका लागि साइकल प्रयोग गर्ने र धेरै हिँड्ने बानी राख्दारहेछन्। तिनीहरू बोल्नु अघि शिर निहुराएर शिष्टाचार प्रदर्शन गर्ने परम्परा पनि अत्यन्त रमाइलो लाग्यो।
हङकङको तातो मौसम, भीड, ठेलमठेल र कोलाहलपछिको यो जापानको शान्त र सुन्दर वातावरणले मन अत्यन्तै प्रसन्न बनायो। ओसाका शहर घुम्ने क्रममा म एक पटक शौचालयभित्र पसेँ। त्यहाँ देखेको दृश्य साँच्चै आश्चर्यजनक थियो। शौचालयमा कारको ड्यासबोर्डभन्दा पनि बढी डिजिटल बटनहरू रहेका थिए। हरेक बटनको छुट्टै कार्य रहेछ। चिसो मौसममा बेसप्लेट तताउने बटन थिच्दा सीट तताइने रहेछ। दिसा गरेपछि अर्को बटन थिच्दा तातो पानीको फोहरा निस्केर सफा पारिदिने रहेछ। त्यसपछि अर्को बटन थिच्दा तातो वाफले सुकाइदिने रहेछ। यसरी, शौचालयका सम्पूर्ण कामहरू बटन थिचेर सहजै गर्न सकिने रहेछ। सबै प्रक्रिया सकेर म मुसुमुसु हाँस्दै बाहिर निस्केँ। मैले संसारका धेरै विकसित देशहरूको भ्रमण गरेको भए पनि यस्तो अत्याधुनिक शौचालय मैले पहिले कहिल्यै देखेको थिइनँ।
ओसाका शहरको अवलोकन समाप्त भएपछि हामी रेलमार्ग हुँदै केयोतो सहरतर्फ प्रस्थान गरिरहेका छौँ। जापानको अनुशासित, सफा र सभ्य वातावरणले हाम्रो मनमा गहिरो छाप पारेको छ। “केयोतो” शब्दको अर्थ हो “राजधानीको सहर” केयोतोका मुख्य आकर्षणहरू: कियोमिजु–देहरा पहाडको ढिस्कामा बनेको प्रसिद्ध बौद्ध मन्दिर। किंकाकु जी “सुनको मन्दिर” भनेर चिनिने अत्यन्त सुन्दर र प्रसिद्ध स्थल। गिंकाकु जी “चाँदीको मन्दिर” भनिने ऐतिहासिक मन्दिर। फुसिमी इनारी श्राइन (मन्दिर) हजारौं रातो तोरि गेटहरूसँगको प्रसिद्ध तीर्थ। राशियामा बाँस वन विश्वकै मनमोहक बाँस वनमध्ये एक हो । केयोतोको संस्कृति र परम्परा: केयोतो जापानको टी-सेरेमनी (चिया संस्कार), किमोनो पहिरन, र गेइशा संस्कृतिको केन्द्र हो। यहाँका परम्परागत घरहरू (माचिया), बगैँचा डिजाइन र कला हस्तकला आज पनि संरक्षणमा छन्। प्रत्येक ऋतुमा विभिन्न उत्सवहरू (मात्सुरी) आयोजना हुन्छन्। विशेष गरी गिओन मात्सुरी सबैभन्दा प्रसिद्ध हो।
आजको केयोतो आधुनिक विकास भएपनि सहरले आफ्नो पुरानो सौन्दर्य र सांस्कृतिक पहिचान जोगाइरहेको छ। यहाँका विश्वविद्यालयहरू, जस्तै केयोतो बिश्वबिद्यालय जापानका उत्कृष्ट शैक्षिक संस्थामध्ये एक हुन्। पर्यटन, परम्परागत हस्तकला, र प्रविधि उद्योग (विशेष गरी इलेक्ट्रोनिक्स र अनुसन्धान) यहाँका मुख्य क्षेत्र हुन्। दोस्रो विश्वयुद्धमा केयोतोमा बम नफालेको कारण, यसको पुरानो सांस्कृतिक सम्पदा अझै सुरक्षित छ। केयोतो शहरमा दुइरात रहने भएका छौं। केयोतो शहरमा रहदा राशियामा बाँस वन तथा बाम्बो फोरेस्ट, कियोमिजु–देहरा, पहाडको ढिस्कामा बनेको प्रसिद्ध बौद्ध मन्दिर, किंकाकु जी “सुनको मन्दिर” भनेर चिनिने अत्यन्त सुन्दर र प्रसिद्ध स्थल, गिंकाकु जी “चाँदीको मन्दिर” भनिने ऐतिहासिक मन्दिर र फुसिमी इनारी श्राइन (मन्दिर) प्रसिद्ध तीर्थस्थलको भ्रमण सकेर बुलेट रेल (सिन्कसिन) द्वारा टोकियो शहरमा आएका छौं।
रेल स्टेशनबाट हाम्रो एयरबीएनबी झण्डै बीस मिनेट पैदल दूरीमा छ। हामी सबैले पैदल जाने निर्णय गरेका छौँ र हिँडिरहेका छौँ। एयरबीएनबी पुगेपछि लगेज राखेर बेलुकीको खाना खान नजिकैको रेस्टुरेन्टमा गएका छौँ। रेस्टुरेन्टमा खानेकुरा अर्डर गर्न डिजिटल प्रणाली रहेछ। छोरीहरू प्रिया र प्रियंकाले सबैको खाना अर्डर गरिन्। हामी खाना पर्खँदै बसेका थियौँ। त्यही बेला रेस्टुरेन्टकी एक महिला आफ्नो सहकर्मी संग कुरा गर्दै थिइन्। उनले कुरा गर्ने क्रममा नेपाली भाषामा “अँ” भन्ने शब्द प्रयोग गरिन्, जसले मेरो ध्यान खिच्यो। उनी हेर्दा आर्यन मुलकी जस्ता देखिन्थिन्, तर उनले हामीलाई नेपाली हुन् भनेर चिनेकी थिइनन्, किनकि हामी बेलायतबाट आएका मंगोल मुलका जस्ता देखिन्थ्यौँ। खाना तयार भयो। ती महिलाले जापानी भाषामा “खाना आयो” भनी भनिन्। मैले नेपालीमा सोधेँ, “के तपाईं नेपाली हुनुहुन्छ?” उनले अचम्म मानिन्, छक्क परिन्। उनले हामीलाई जापानी ठानेकी रहिछिन्। कुरा गर्दा थाहा भयो, उनको घर धादिङ रहेछ। हामीले उनलाई र त्यहाँ कार्यरत अर्को नेपाली पुरुष स्टाफलाई भेट्यौँ र केही बेर हल्का कुराकानी गरी निस्कियौँ।
आज हामी टोकियो शहरको असाकुसा क्षेत्रमा अवस्थित सेनसो-जी बौद्ध मन्दिर, हाचिको नामक कुकुरको मूर्ति र फुजी पर्वतको दृश्यावलोकन गर्ने योजनामा छौँ। हामी अहिले असाकुसामा रहेको सेनसो-जी मन्दिरमा आइपुगेका छौँ। यो मन्दिर सन् ६४५ मा स्थापना भएको टोकियोको सबैभन्दा पुरानो र प्रसिद्ध बौद्ध मन्दिर रहेछ। मन्दिर घना वनबीच विशाल क्षेत्र ओगटेर बनेको छ। यसको सुन्दर वास्तुकला, शान्त वातावरण, भक्तजन र पर्यटकहरूको उपस्थितिले यस स्थानलाई एक विशाल तीर्थस्थलको अनुभूति दिलाउँछ। मलाई अहिले मन्दिरको प्राङ्गणबाट निस्कन मन छैन, तर हाम्रो अरू योजना भएकाले हामी टोकियो शहर घुम्न निस्किएका छौँ।
मलाई समय कटाउनका लागि बजार घुम्न खासै मन पर्दैन, म प्रायः केहि खरिद गर्नकै लागि मात्र बजार जान्छु। आज भने श्रीमती जमुना र छोरीहरू प्रिया–प्रियंकाको “पुच्छर” बनेर पछिपछि हिँडिरहेको छु। टोकियो शहर अरू विकसित देशका सहरहरूजस्तै व्यवस्थित छ। तर जापानमा पैदल यात्रु र साइकलका लागि छुट्टाछुट्टै बाटो देख्दा अचम्म र सराहना दुवै लाग्छ। जापानीहरूले यी सुविधाहरू स्वस्थ जीवनशैलीका रूपमा राम्रोसँग उपयोग गरेका छन्।
टोकियो घुमिसकेपछि हामी हाचिको नामक कुकुरको मूर्तिनजिक आइपुग्यौँ। हाचिको अकीता जातिको कुकुर रहेछ। शिबुया स्टेशननजिक अवस्थित यो मूर्तिको एउटा प्रसिद्ध कथा छ। हाचिकोका मालिक हिडेसाबुरो ऊएनो प्रत्येक दिन ट्रेनमार्गे घर फर्किन्थे। हाचिको पनि हरेक दिन सोही समयमा स्टेशनमा मालिकको प्रतीक्षामा पुग्थ्यो। तर, एक दिन मालिकको निधन भयो। त्यसपछि पनि हाचिको झन्डै नौ वर्षसम्म हरेक दिन त्यही ठाउँमा मालिक फर्कने आशामा बसिरह्यो। उनको मृत्यु पश्चात सन् १९३४ मा शिबुया स्टेशन बाहिर उनको स्मृतिमा धातुको मूर्ति निर्माण गरिएको रहेछ। त्यो मूर्ति र कथा देख्दा म अत्यन्त भावुक भएँ। मलाई आफ्नै बाल्यकाल सम्झियो—गोठमा खेल्ने हाम्रो प्रिय कुकुरसँग बिताएका दिनहरू स्मरण भए।
आज हामी बसमार्गे फुजी पर्वत (Mount Fuji) भ्रमणका लागि निस्किएका छौँ। टोकियोबाट फुजी पर्वत करिब १२० किलोमिटर टाढा अवस्थित छ, जहाँ पुग्न बसद्वारा झण्डै तीन घण्टा लाग्दो रहेछ। फुजी पर्वत जापानको सबैभन्दा अग्लो हिमाल हो, यसको उचाइ ३,७७६ मिटर छ। यो शिजुओका र यामानाशी प्रान्तको सिमानामा अवस्थित छ। जापानीहरूका लागि यो पर्वत आध्यात्मिक प्रतीक तथा कला-साहित्यको प्रेरणाको स्रोत हो।
बसमा यात्रारत सबै पर्यटकहरू फुजी देख्ने अपेक्षामा छन्। केही समयपछि आकाश खुल्छ र फुजी हिमालको सेताम्मे टुप्पो देखिन थाल्छ। बसभित्र “वा!” भन्दै सबैले मोबाइलमा त्यो दृश्य कैद गर्न थालेका छन्। बसले हामीलाई कावागुचि ताल नजिकै रोकेको छ। त्यहाँबाट फुजी पर्वत नजिकै र अत्यन्त स्पष्ट देखिन्छ। मे महिनाको हरियो मौसममा पनि फुजीको टुप्पोमा सेतो हिउँ छरिएको छ। वरिपरि आरुका फूलहरू फुलिरहेका छन्। आरुका फूल, ताल र हिमालको संयोजन मनमोहक लागिरहेको छ।
हामी सबै यो दृश्य र वातावरणले मन्त्रमुग्ध भएका छौँ। केही समयको विश्रामपछि बस पुनः अगाडि बढ्छ र फुजी सेनगन श्राइन मन्दिरमा पुग्छ। हाम्रो गाइडले मन्दिर भ्रमणका लागि केही समय दिनुभयो। मन्दिर अलि उचाइमा रहेकाले सिँढी चढ्दै पुग्नुपर्छ। प्रवेशद्वार ठूला काठका तोरि–गेटले सजाइएको छ। जापानका अधिकांश मन्दिर र श्राइनहरू यस्तै गरी उचाइमा, जंगलबीच, पैदल यात्रा गर्नुपर्ने स्थानमा छन्।
यस्तो बाटोहरू मलाई निकै अर्थपूर्ण लाग्छन् किनकि उकालो यात्रा शारीरिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ, जंगलबीचको शान्त वातावरणले मनलाई शान्त बनाउँछ, र यस्तो स्थानमा पुग्दा भगवानसँग नजिकिएको अनुभूति हुन्छ। फुजी पर्वतको सुन्दर दृश्यावलोकन गर्दै हामी साँझतिर पुनः एयरबीएनबी फर्किएका छौँ। भोलि हामी बसको यात्राद्वारा हाकोने जाने भएका छौं।
जापानको हाकोने क्षेत्र त्यहाँका सक्रिय ज्वालामुखी र प्राकृतिक तातो पानीका मुहानहरूका लागि विश्वप्रसिद्ध छ। यो स्थान टोकियोबाट करिब ८० किलोमिटर दक्षिण–पश्चिममा, कानागावा प्रान्तभित्र अवस्थित छ। हाकोने वास्तवमा फुजी-हाकोने-इजु राष्ट्रिय निकुञ्ज भित्र पर्ने एउटा पहाडी क्षेत्र हो।
हाकोनेको ज्वालामुखी कल्डेरा प्रकारको ज्वालामुखी हो। यो करिब १,४३८ मिटर भूभागमा अवस्थित छ। यो ज्वालामुखीकोअन्तिम गतिविधि सन् २०१५ मा सानो स्तरको विस्फोट भएको थियो। अहिलेको स्थिति हल्का सक्रिय अवस्थामा रहेको छ। नियमित भाप र सल्फर ग्यास निस्कने गर्छ।
हाकोने ज्वालामुखी करिब ४,००,००० वर्ष अघि निर्माण भएको मानिन्छ। ठूलो विस्फोटका कारण यो क्षेत्रमा एक विशाल कल्डेरा बनेको हो, जसको बीचमा अहिले सुन्दर आशी ताल फैलिएको छ। यो ताल र आसपासको क्षेत्रबाट फुजी पर्वतको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। हाकोने ज्वालामुखीको सबैभन्दा चर्चित भाग ओवाकुदानी उपत्यका हो, जहाँ अहिले पनि भूमिबाट सल्फरयुक्त धुवा र तातो पानी निस्किरहेछ। यहाँको विशेष आकर्षण “कालो अन्डा हो। सल्फरयुक्त पानीमा उमाल्दा अन्डाको बोक्रा कालो हुन्छ, र स्थानीय विश्वासअनुसार यस्तो अन्डा खानाले आयु सात वर्षले बढ्छ। हाकोने ज्वालामुखी क्षेत्र प्राकृतिक तातो पानीका मुहान, सुन्दर तालहरू, हरियाली पहाड र कला सङ्ग्रहालयहरूको लागि पर्यटकहरूको मनपर्ने गन्तव्य हो। यहाँबाट केबलकार, रोपवे र बोटमार्फत यात्रुहरूले ज्वालामुखी क्षेत्र र आशी तालको सौन्दर्य नजिकैबाट अवलोकन गर्न सक्छन्।
हाम्रो परिवार करिब दुई घण्टाको बसयात्रा गरेर हाकोने आइपुगेको छ। हाकोनेको होटेल र खानपिनसम्बन्धी सम्पूर्ण खर्च कान्छी छोरी डा. प्रियंका पुन ले बेहोरेकी छन्। उहाँले हामी सबैलाई यो यात्रामा विशेष ट्रिट दिएकी हुनुहुन्छ।हाम्रो बसोबास रहेको होटेल पाँचतारे रहेछ। होटेलका प्रत्येक कोठामा ज्याकुजीको सुविधा रहेछ। होटेलको तल्लो तलामा (बेसमेन्टमा) साउना, स्टिम र तातोपानीयुक्त स्वीमिङ पुल पनि रहेछ। ती सबै सुविधाहरू हामीले अत्यन्त आनन्दपूर्वक उपभोग गरिरहेका छौँ।
यी सबै तातोपानी सुविधाहरू महिला र पुरुषका लागि छुट्टाछुट्टै रूपमा व्यवस्था गरिएको रहेछ। होटेलमा प्रयोग गरिने तातोपानी हाकोनेको ज्वालामुखी क्षेत्रबाट ल्याइएको रहेछ। ज्वालामुखीबाट निस्कने प्राकृतिक तातोपानीलाई प्रशोधन गरी हाकोनेका सबै होटेलहरूमा वितरण गरी उपभोग गरिएको रहेछ। तातोपानीमा स्नान गर्दा शरीर हलुका, मन प्रसन्न र आत्मा शान्त महसुस भएको छ। यो अनुभव साँच्चिकै अविस्मरणीय रह्यो।
तातोपानीमा स्नान गरेपछि म मालिस गर्ने कोठातिर गएँ। त्यहाँ लस्करै मालिस गर्ने मेसिनहरू राखिएका रहेछन्। मालिस मेसिनले मेरो ढाड र गर्दनको राम्रोसँग मालिस गर्यो। त्यसपछि मैले जापानी पोशाक (युकाता) लगाएँ र डिनर गर्न गएँ। डिनर गर्ने स्थान तालतर्फ फर्किएको रहेछ। तालको दृश्य हेर्दै, बरन्डामा बस्दा शान्त र सन्तुष्ट महसुस भयो। स्वादिष्ट भोजनको आनन्द लिएर म आफ्नो कोठातिर फर्किएँ र बेडमा आरामपूर्वक सुतेँ।
बिहान उठेपछि हामीले नाश्ता गर्यौँ। नाश्ता सकेर म र जमुना हाकोनेको ज्वालामुखी क्षेत्र हेर्न केबलकार तिर लाग्यौँ। केबलकारबाट हेर्दा तलको ताल, वरिपरिका पहाडहरू र टाढा फुजी हिमालको मनोरम दृश्य अत्यन्त मोहक देखिन्छ। केबलकारको यात्रापछि हामी हाकोनेको ज्वालामुखी स्थानमा पुगेका छौँ। त्यहाँ ज्वालामुखी विस्फोटक क्षेत्रबाट वाफहरू निरन्तर निस्किरहेका छ। सोही स्थानबाट निस्कने तातोपानीलाई प्रशोधन गरेर हाकोनेका होटेलहरू र निजी घरहरूमा वितरण गरिँदो रहेछ। ज्वालामुखी सक्रिय रहेको कारणले पर्यटकहरूलाई त्यहाँ नजिक जान निषेध गरिएको रहेछ। त्यसैले हामीले निश्चित दूरी र केबलकारबाटै त्यो दृश्य अवलोकन गर्यौँ र पुनः होटेल फर्कियौँ।
यतिखेर हामी हाकोनेबाट बसमार्ग टोकियो फर्किएका छौँ। टोकियोमा एक रात बसोबास गरेपछि, बिहानै बसमार्ग नारिता अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका छौँ। बसमा लगेज लोड गरिरहेका केही नेपाली भाइहरू देख्यौँ। सुरुमा उनीहरूले हामीलाई जापानी ठाने, किनकि उनीहरूले हामीलाई जापानी भाषामै बोलाए। मैले मुस्कुराउँदै भनें। “हामी पनि नेपाली नै हौँ, भाइ। ”त्यसपछि हाम्रो बीच आत्मीयता बढ्यो। सानो भेटमै परदेशमा आफ्ना मान्छे भेट्दा मन झन् खुसी भयो। टोकियोबाट नारिता विमानस्थल करिब अस्सी किलोमिटर भन्दा केही टाढा रहेछ, जसमा झण्डै एक घण्टा बढी समय लाग्दो रहेछ। विमानस्थल पुगेपछि ती नेपाली भाइहरूलाई धन्यवाद दिँदै, बिदा हुनुअघि मैले केही बाकि रहेको जापानी येन टिप्स प्रदान गरेँ। उनीहरूको अनुहारमा मुस्कान झल्किएको देख्दा मन हर्षित भयो।
जापान दोस्रो विश्वयुद्धबाट ध्वस्त भएको देश हो। युद्धले यस देशलाई कंगाल र अस्तव्यस्त बनाएको थियो। तर आज जापान विश्वका विकसित राष्ट्रहरूमध्ये अग्रस्थानमा रहेको देश हो। जापान G7 राष्ट्रहरू (विश्वका सात शक्तिशाली अर्थतन्त्रहरू) मध्ये एक हो। जापानीहरू इमानदार, वफादार, कर्तव्यनिष्ठ, अनुशासित र शिष्टाचारयुक्त छन्। यही गुणहरूले जापानलाई पुनः उठ्न, प्रगतिका शिखरमा पुग्न र विश्वका लागि आदर्श बन्न सक्षम बनाएका छन्। जापानले आफ्नो सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्न जानेको देश हो। यहाँका बासका वनहरू, मन्दिर र श्राइनहरू, फुजी हिमाल, तालहरू र प्राकृतिक सम्पदाहरूलाई पर्यटनका प्रमुख गन्तव्य बनाएर आर्थिक समृद्धि हासिल गरिएको छ।
हामी नेपालीहरूले पनि जापानीजहरूबाट इमानदारी, वफादारी, कर्तव्यनिष्ठा, अनुशासन र शिष्टाचार सिक्न आवश्यक छ। हाम्रो देशमा रहेका धार्मिक स्थल, वन–जंगल, झरना, भिरपाखा, हिमाल, नदी–ताल र जैविक सम्पदालाई पर्यटनका आकर्षक गन्तव्य बनाउने सोच विकसित गर्नुपर्छ। अन्त्यमा, हाम्रो देशका नेता, कर्मचारी, सेना, प्रहरी र सम्पूर्ण नेपाली जनताले हाचिको कुकुरजस्तै इमानदार, वफादार, कर्तव्यनिष्ठ, अनुशासित र सच्चा देशभक्त बन्न सके व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको हितमा लागे, नेपालको विकासमा ढिलाइ हुनेछैन।



