बेलायतमा महाकवि देवकोटा जयन्ती भव्यरूपमा मनाइयो

SHARE:

– कोमल मल्ल
लन्डन २४ अक्टुबर २०२५ । बेलायतमा रहेका नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले ११६औं महाकवि देवकोटा जयन्ती प्रवचन, गीतसङ्गीत प्रस्तुति,स्वागत सम्मान र कविता वाचन आदि कार्यक्रम गरी भव्यरूपमा मनाएको छ ।

वयस्ट लन्डन एकटनस्थित एबीआई कलेजमा १९ अक्टुबरमा आयोजित समारोहमा प्रमुख अथितिको आसनबाट समारोहलाई सम्वोधन गर्दै परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा.राघवप्रसाद धिताल ‘ओबिई’ले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन् जसले भाषा साहित्यको शिखर उच्च मात्र पारेनन् शिक्षामन्त्री समेत भएर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएको स्मरण गरे । साथै महाकविलाई आफूले प्रत्यक्ष भेट गर्न पाएको इतिहास क्षणलाई स्मरण गर्दै नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्‍याउने काम महाकविले गरे जुन हाम्रा लागि गर्वको इतिहास भएको उनको भनाइ थियो । डा.धितालले बेलायतमा नेपाली भाषा, साहित्य, कलाजस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न नेपाली साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय रहेको समेत बताए ।

समारोहमा नेपालबाट आएका विशिष्ट अतिथि पुष्पप्रसाद लुइँटेलले बेलायतमा नेपाली साहित्य विकास परिषद् यूकेले लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिहरू गरेर नेपाली भाषा, साहित्यको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको देख्न पाउँदा र आफूसमेत सम्मानित हुँदा परिषद्को यात्रा सधैं सबल र सफल रहने विश्वास व्यक्त गरे । साहित्य तथा सङ्गीत र प्रवचनको मिश्रण रहेको आजको देवकोटा जन्मजयन्ती कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा पुर्‍याउने उनको विश्वास थियो ।

समारोहमा मन्तव्यका क्रममा यती नेपाली एशोसियसनका अध्यक्ष टंक भट्टराईले भावुक हुँदै बुबाले आमालाई आफू ५ वर्षको छँदा मुनामदनको कथा सुनाएको सम्झँदै महाकवि देवकोटाको अनुकरणीय कृतिहरुका कारणले नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशहरूमाझ गनिने गरेको बताए ।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् यूकेले स्थापनाकाल सन् १९९५देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरू अगाडि बढाउँदै आएको चर्चा गरे । बेलायतमा नेपाली भाषा साहित्यको विकासका लागि झण्डै तीन दशकअघि नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना गरेर यहाँ रहेका सर्जकहरूलाई सिर्जनशील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको बताए । साथै अध्यक्ष मल्लले महाकविको असीमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरेर उभिन सकेको चर्चा गरे ।

यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा, साहित्यको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गरे । वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको बताए ।

कार्यक्रम सञ्चालक परिषद्का महासचिव साहित्यकार डा. सुधा श्रेष्ठले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको चर्चा गरिन् ।

राष्ट्रिय गान, महाकविको तस्बिरमा माल्यार्पणबाट आरम्भ गरिएको समारोहमा जेन-जी आन्दोलनमा ज्यान गुमाउने ज्ञातअज्ञात सहिदलगायत साहित्य चौतारीका संस्थापक साहित्यकार कवि वासुदेव शर्माको चीरशान्तिको लागि १ मिनेट मौनधारण गरिएको थियो ।

समारोहको दोस्रो चरणमा मालश्री मंगलधुनमा परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल, डा राघव धिताल, कवि ध्रुव केसी,खगेन्द्र नेपाली, हरिसिंह थापाले नेपालबट आएका साहित्यकार पुष्पप्रसाद लुइँटेल तथा नवनिर्वाचित यती नेपाली एसोसिएसनका अध्यक्ष टंक भट्टराईलाई ब्याज, खादा ,टोपी र परिषद्‍को लोगो लगाई स्वागत, सम्मान र साहित्यकार पुष्पप्रसाद लुइँटेललाई विशिष्ट सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन तथा महाकविका रचनाहरूमा धुन र द्यौसीभैली गीतहरु परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का सहअध्यक्ष बसन्त रायक्षत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानबाट प्रस्तुत गरिएका थिए ।

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको समारोहमा कविता वाचन गर्ने कविहरूमा बसन्त रायक्षत्री,हरि सिंह थापा, ध्रुव केसी, खगेन्द्र नेपाली, मदन थापा, मनोज अन्जान, कृष्ण बजगाई, रेशम अर्याल, डा.सुधा श्रेष्ठ, शुषमा भट्टराई, कोमल मल्लले वाचन र वासु सापकोटा,गंगा लिगल, घनबहादुर थापा, सुरेसजङ्ग शाहका कविताहरु वाचनार्थ प्राप्त भएको थियो ।

सहभागिता र सहयोगका लागि आभार प्रकट गर्दै समारोहका सभापति अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल ओबीई, डा.जनककुमारी धिताल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी,सल्लाहकार एबीआई कलेजका प्रोप्राइट कृष्ण भट्ट,सल्लाहकार खगेन्द्र नेपाली, दौलत राई, हरिसिंह थापा,ओमेन एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठ, शुषमा भट्टराई, बसन्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान,पूर्वकार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, पूर्वकार्यकारिणी सदस्य कोहिनूर मल्ल, सितू खरेलमा धन्यवाद ज्ञापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!