सनिवार २० डिसेम्वर २०२५ – बेलायत। ग्रेटर रसमर नेपाली कम्यूनिटी (जिआरएनसी) युकेको वार्षिक साधारण सभा बेलायतको अल्डरसटस्थित वेस्ट एण्ड सेन्टरको थेटरमा सम्पन्न भएको छ।
वार्षिक साधारण सभा जिआरएनसीका अध्यक्ष लिला सेलिङ मावो, पुर्व अध्यक्षहरु रामचन्द्र गुरुङ (सुर्य), ओम थापा काउचा, रोहित गुरुङ र लिड ट्रष्टी क्याप्टेन ग्यारी घलेले संयुक्त रुपमा दिप प्रज्वलन गरेर शुरु गरेका छन्।
उक्त वार्षिक साधारण सभाको पहिलो चरणमा निर्वाचित भएका तर स्वागत गर्न अवसर नमिलेका ट्रष्टीहरु, सल्लाहकारहरु र कार्यसमितिका सदस्यहरुलगायत समाजको बिभिन्न क्षेत्रमा योगदान दिएका र सम्मानित भएका व्यक्तिहरुलाई अध्यक्ष मावोले खडा लगाएर स्वागत तथा सम्मान गरेका छन्।
वार्षिक साधारण सभाको दोस्रो चरणमा संस्थाको महासचिब ले. सुनिल रानाले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका छन् भने कोषाध्यक्ष मिलन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
त्यस्तै जिआरएनसीले सम्पन्न गरेको विभन्न योजनाहरुको वारेमा उपाध्यक्ष डा. विशाल गुरुङ, महासचिब ले. सुनिल राना, योजना अधिकृत सुशिला मगर, सिमा श्रेष्ठलगायत योजनामा आवद्ध सदस्यहरुले आ-आफ्नो योजनाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त सम्पूर्ण प्रतिवेदनहरु उपर ब्यापक छलफल गरेर सर्वसम्मतले पारित गरिएको छ।
वार्षिक साधारण सभामा संस्थालाई च्यारिटी कमिसनमा दर्ता गर्ने वारेमा, विधान संसोधनको वारेमा र हाउजिङ प्रोजेक्टको वारेमा ब्यापक छलफल भएको छ।
जिआरएनसीका अध्यक्ष लिला सेलिङ मावोले अध्यक्षता गरेको वार्षिक साधारण सभालाई उपाध्यक्ष अनिता राईले स्वागत मन्तब्य दिएका छन् भने महासचिब ले. सुनिल रानाले संचालन गरेका छन्।
अन्त्यमा अध्यक्ष मावोले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै पांचथरको एक चेली जिआरएनसी जस्तो गरिमामय संस्थाको अध्यक्ष हुन पाएको र नेपालको ७७ वटै जिल्लाको नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुसंग सामाजिक काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेकी छिन्।







