जमुना पुन – बेलायत शनिबार, १० जनवरी २०२६
फार्नबोरो, बेलायत। मगर समुदायको मौलिक एवं राष्ट्रिय पर्व माघे संक्रान्ति बेलायतमा भव्यताका साथ मनाइएको छ। मगर संघ युके, युनाइटेड हाम्सयर, सरे, बाक्सयर (युएचएसबी) शाखाको आयोजनामा शनिबार फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा एक विशेष कार्यक्रम गरी यो पर्व मनाइएको हो।
कार्यक्रमको औपचारिक सुरुवात मगर संस्कार र संस्कृति अनुसार गरिएको थियो। जसमा ओम थापा काउचा मगरको नेतृत्वमा पितृ पूजा गरिएको थियो, जसले मगर समुदायको पुर्खाप्रतिको सम्मान र परम्परालाई झल्काएको थियो।
सांस्कृतिक प्रस्तुति र मनोरञ्जन माघे संक्रान्तिलाई विशेष बनाउन नेपालबाट आएकी चर्चित मोडल तथा गायिका निरा थापा मगर र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल युके शाखाका अध्यक्ष एवं लोक दोहोरी गायक मंसुधन थापा मगरले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिमा उपस्थित दर्शकहरू झुमेका थिए भने कार्यक्रमस्थल निकै उत्साहपूर्ण बनेको थियो।
त्यस्तै, स्थानीय मगर कलाकारहरूले मगर संस्कृतिमा आधारित सोरठी, कौराह, र घाटु जस्ता विभिन्न विधाका आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेर कार्यक्रमलाई थप रौनक थपेका थिए।
विविध गतिविधि र अतिथिहरू कार्यक्रमको अवसरमा मगर संघ युके युएचएसबी शाखाका महिला समितिद्वारा ‘राफल ड्र’ आयोजना गरिएको थियो। उक्त राफल ड्रको प्रायोजन लामा ज्वलर्सले गरेको थियो।
मगर संघ युके युएचएसबी शाखाका अध्यक्ष बिर बहादुर बलालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशेष अतिथिको रूपमा एनआरएन (NRN) युकेका अध्यक्ष प्रेम गाह उपाध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल), ग्रेटर रसमर नेपाली कम्युनिटीका उपाध्यक्ष जित प्रसाद मयाङवो, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना र बिएफबिएस गोर्खा रेडियो युकेका स्टेसन म्यानेजर योग राज राईलाई आमन्त्रण गरिएको थियो।
औपचारिक सत्र र उपस्थिति संस्थाका उपाध्यक्ष गणेश बुराथोकी मगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव धन दर्लामी मगरले गर्नुभएको थियो।
माघे संक्रान्तिको यो विशेष उत्सवमा मगर संघ युकेका पूर्व अध्यक्षहरू, ट्रष्टीहरू, सल्लाहकारहरू, विभिन्न शाखा समितिका अध्यक्षहरूका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र ठुलो संख्यामा स्थानीय मगर समुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले सेलरोटी, तरुल र अन्य परम्परागत परिकारहरू खाँदै आपसमा शुभकामना आदानप्रदान गरेर पर्व मनाएका थिए।




