लन्डन । कुश्मा नगरपालिकाले गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ ।
नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको बृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न आचार्यलाई आधिकारिकता प्रदान गरिएको पनि जनाएका छन् ।
पर्वतको धाइरिङमा जन्मिएका आचार्यले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थुप्रै सहयोग गर्दै आएका छन् । ‘यो मेरा लागि एउटा सम्मान र आत्मीयताको विषय पनि हो । मेरो जन्मभूमिलगायत कुश्मा नगरपालिकाको विकासका लागि मैले सक्दो काम गर्नेछु,’ आचार्यले भने ।






