काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।
“फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,” राष्ट्रपति पौडेलले भने ।
यसैबीच प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण यही चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले नयाँ जनादेशअनुरुप राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिसँग बिहीबार छलफलपछि सांसदहरुको शपथको मिति तय गरेको हो ।
सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे सांसदहरुको शपथ हुने बताए । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट ६ पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । यस पटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति, राप्रपाबाट संसद्मा प्रतिनिधित्व हुँदैछन् । सँगै एक स्वतन्त्र सांसद पनि रहने छन् ।






