महेन्द्र आले – लण्डन
तनहुँ समाज युकेको गत ५ अप्रिल २०२६ आइतबार बसेको कार्यसमितिको बैठकले आफ्नो १९औं वार्षिक भेटघाट तथा बीबीक्यू (BBQ) कार्यक्रम भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ। यस वर्षको कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महत, प्रख्यात महिला फुटबल खेलाडी अस्मिता आले र सुटिङतर्फ ‘किङ्स मेडल’ विजेता कर्पोरल निश्चल थापालाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरिने भएको छ।
‘पानको पात’, ‘बाँझो खेतमा’ देखि ‘बन्दीपुरैमा’ जस्ता दर्जनौं कालजयी गीतका सर्जक वरिष्ठ गायक प्रेम राजा महतले कार्यक्रममा सांगीतिक प्रस्तुति मार्फत सहभागीहरूलाई मनोरञ्जन दिलाउनुहुनेछ। साथै, समाजका ‘कौराहा गुरु’ मोहन वीर थापा र उहाँको टोलीले लाइभ कौराहा नृत्य प्रस्तुत गर्नेछ।
सांस्कृतिक कार्यक्रमलाई थप आकर्षक बनाउन स्थानीय कलाकारहरू मनसुदन थापा, पवन राना, प्रकाश थापा, नायिका तथा मोडल सविता (नाना) राना, चारघरे चेली समूह, जुनु थापा, यासिका थापा, माया मगर, सुरक्षा मगर, प्रतिमा आले, अर्चिता गौतम, सम्प्रदा राई र रोनीशा आलेको बेजोड प्रस्तुति रहनेछ।
मनोरञ्जनका साथै कार्यक्रममा सुनचाँदी र अन्य आकर्षक पुरस्कारहरू सहितको ‘राफल ड्र’ (भाग्यशाली चिट्ठा) को समेत व्यवस्था गरिएको छ। सो अवसरमा स्वादिष्ट नेपाली परिकारहरूको स्वाद लिन पाइनेछ। समाजले यसै मञ्चबाट उच्च शिक्षा हासिल गरेका छात्रछात्राहरू र विभिन्न संघसंस्था तथा सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम समेत राखेको छ।
समाजका अध्यक्ष सन्त बहादुर गुरुङले १९औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउनका लागि बेलायतवासी सम्पूर्ण तनहुँ जिल्लावासी तथा नेपाली समुदायलाई हार्दिक अनुरोध गर्नुभएको छ।






