गुरुङ भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र बन्न थालेको जम्माजम्मी २५ वर्ष हुँदैछ । वि.सं. २०५२ मा निर्मित ‘पाते’बाट गुरुङ चलचित्र यात्रा थालनी भएको हो । यस रजतकालमा थुप्रै चलचित्र बने । तर, केही चलचित्र प्रदर्शनमा आउन सकेनन् भने केहीले अन्तर्राष्ट्रिस्तरमा समेत चर्चा कमाएको सम्बन्धित जानकारहरु बताउँछन् । चलचित्र निर्माण बाक्लिएपछि स्वाभाविकरुपमा कलाकार वा नायक, नायिकाहरु बढे । कतिपय कलाकार चलचित्रसँगै हराए भने कतिपय नवकलाकार चलचित्र ‘हिट’ सँगै चर्चामा आए । त्यस्तै सौभाग्यशाली नवनायिका हुन्, मञ्जु गुरुङ ।

गुरुङ चलचित्र जगतमै अत्यधिक दर्शक, स्रोताहरुको मनमस्तिष्कमा बस्न सफल सुवास गुरुङ (गणेश) निर्देशित चलचित्र ‘खै ओ म्हिथेबा’ (आयो है ठूलो मान्छे) बाट डेब्यू गरेकी उनी विस्तारै यस क्षेत्रमा छाउन थालेकी छन् । संयोग भनौं वा कथावस्तु चोटिलो भएर मञ्जु अभिनित पहिलो चलचित्र खै म्हिथेबाले अन्तर्राष्ट्रिय अवार्डसमेत जित्न सफल भयो । म्हिथेबाले गतवर्ष कोलोराडो इन्टरनेसनल एक्टिभिजम फिल्म फेस्टिभल अमेरिकामा वेस्ट फेस्टिभल थिम अवार्ड जितेको थियो ।
म्हीथेबा चलचित्रमार्फत नागरिकता नहुँदा नेपालीले भोग्नुपरेको कारुणिक अवस्था देखाउन खोजिएको छ । कथाअनुसार एउटा बालक हुर्किंदै गएर अन्तत: देशको सेवक बन्ने सपनासहित मेहनतका साथ शैक्षिक यात्रालाई पूरा गरी राष्ट्रसेवक बन्न जाँदा नागरिकताको आवश्यकता पर्दछ । रगतको नाता आफ्नै देशमा जन्मिएर पनि नेपाली नागरिकता नपाई राष्ट्रसेवक हुनबाट बन्चित बन्नु परेको कारुणिक अनगिन्ती दु:खपीडालाई आधार बनाउर चलचित्र बनाइएको छ ।
यीनै चलचित्रहरुमा काम गरेर कलाकारितामा जग बसालेकी मञ्जुको जन्मघर गोरखा हो । पढाइको सिलसिलामा काठमाडौं बस्छिन् । शिक्षाशास्त्र विषयमा मोर्गन कलेजमा स्नातक तेस्रो वर्ष पढ्छिन् उनी । पढाईको अलावा आफ्नो समुदायको मौलिक भाषा, संस्कार, संस्कृतिको जगेर्नामुताबिक निर्माण हुने चलचित्रहरुमा समय दिन्छिन् । एभरेस्ट टाइम्सकर्मीसँगको भेटमा उनले आफ्नो कलायात्राबारे भनिन्, ‘दुई वर्ष भयो, आफ्नो कम्युनिटीको कल्चर सेभ गर्छु भनेर लागेको’ चलचित्रमा त लागिन्, त्यसका लागि उनी अग्रजका प्रेरणा र आफूले पनि केही गर्नुपर्छ भन्ने सोचले ।
परिवारकी कान्छी छोरी मञ्जु चलचित्रकर्ममा लाग्न सबैको सपोर्ट मिलिरहेको बताउँछिन् । पर्दामा देखिने र चलचित्र हेरेपछि दर्शकको वाहीवाही पाउने लोभले कतिपय कलाकारितामा लाग्ने गरेकोमा उनलाई त्यस्तो प्रवृत्ति फिटिक्कै चिक्त बुझ्दैन । यसक्षेत्र हचुवाको भरमा, बिनामेहनत र बिनाप्रतिभा अघि बढ्न नसक्ने ठहर गर्दै नवनायिका मञ्जु भन्छिन्, –‘चुनौती छ, स्ट्रगल गरेर अगाडि जानु पर्छ ।’ त्यत्तिमात्र होइन, आदिवासी जनजातिको चलचित्रलाई प्रमोट, आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण, प्रवर्द्धनको लागि यसलाई व्यावसायिक नजरले हेर्न नहुने विचार पनि मञ्जुको छ । भन्छिन्, ‘नेपाली भाषाको व्यावसायिक चलचित्रजस्तो होइन । यस्ता मौलिक चलचित्र निर्देशकले पनि कल्चर सेभको उद्देश्य बनाउनुभएको हुन्छ, हामीले त्यसैगरी सपोर्ट गर्नुपर्छ । आम्दानी हेर्नुहुन्न ।’
बाटुलो मोहडा, गोरो छाला र करिब साढे ५ फिट उचाईकी मञ्जु आफू चलचित्र क्षेत्रमा जबर्जस्ती लागेको भन्दा पनि अफर आएर भन्छिन् । आफ्नो अभिभावक ठान्ने सुवास गुरुङले अवसर दिएकोले अगाडि बढ्न पाएकोमा गर्व गर्छिन् उनी । खै ओ म्हिथेबाको अभिनयको अवसर जुटेपछि तमु भाषा, अभिनय र नृत्यमा खप्पिस मञ्जुले त्यसअघि एक हप्तामात्रै वर्कसप गरेको सुनाउँछिन् । केही चलचित्रमा अभिनय गर्नुअघि कुनै तालीममा सहभागी भएकी थिइनन् उनी । उनले आफ्नो कलाकौशलबारे भनिन्, ‘चलचित्रमा अफर आएपछि एक हप्ता वर्कसप गरेँ । परेपछि टर्छ भनेको हो रै’छ ।’ तर, पहिलोपटक क्यामेरा फेस गर्नु पर्दा भने उनलाई औधी सकस परेको थिएन । स्मरण गर्छिन्, ‘बेस्सरी डराएँ पहिलोचोटी ।’
गुरुङ मौलिक चलचित्रमा प्राथमिकता दिँदै आएकी विद्यार्थी नायिका मञ्जु नेपाली भाषाको चलचित्रमा अफर आए भने पनि पछि नपर्ने बताउँछिन् ।
छोटो अवधिमा प्रगतिपथमा लम्केकी मञ्जुले भर्खरै फेरि अर्को गुरुङ चलचित्र मेदों (सिठ्ठा)मा अभिनय गरेकी छन् । शंकर गुरुङको निर्माण, राजेश गुरुङको निर्देशन रहेको सो चलचित्र छिट्टै प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ । भर्खरै मेदों चलचित्रमा अभिनय गरेकोले अर्को योजना भने बनिनसकेको उनको भनाइ थियो । खासमा निर्देशक सुवास गुरुङको म्हीथेबा चलचित्र हेरेर यस क्षेत्रमा लागेको बनाउने उनी लङलास्टिङ भिजन नभए पनि चलुन्जेल गर्दै जाने योजनामा छिन् ।
नायिका मन्जु खै ओ म्हीथेबा प्रदर्शनका क्रममा कतारसम्म पुगिसकेकी छन् । उनी सँगै अभिनय गरेका आनन्द गुरुङसहित गत अगस्टमा कतार गइन् र त्यहाँस्थित सनयाको शो मा भाग लिइन् । कतारवासी नेपाली दर्शकबाट उनले चलचित्र राम्रो बनेको प्रतिक्रिया पाएकी थिइन् । दर्शकको मात्रै सुझाव ग्रहण गर्दिनन् उनी कतै जमघटमा अग्रजहरुसँग आफ्नो अभिनय वा कामको प्रतिक्रिया पनि लिन्छिन् । ‘भर्खरै स्टाटिङ हो । सुधार्नुपर्छ । फिल्ममा लागिसकेपछि संघर्ष गर्नुपर्छ भन्नुहुन्छ ठूलाबडाले’ उनले सुनाइन् । त्यसले उनको कलायात्रामा उर्जा प्रदान गर्छ रे ।
चलचित्र खै ओ म्हीथेबा काठमाडौं, गोरखा, चितवन, तनहुँको खैरेनी, कतारलगायत ठाउँमा प्रदर्शन भइसके भने यही मंसिर १५ गते पोखरामा समेत प्रदर्शन गरिएको छ ।
पहिले पहिले लजालु र मान्छेसाग घुलमिल हुन डराउने मञ्जु कलाकारितामा लाग्नु र उमेरले पनि म्याच्योड हुँदै गएकाले आफूमा कन्फिडेन्ट बढेको बताउँछिन् । कतिपयले हिरो, हिरोनीको रुपमा चलचित्रको पर्दामा देखिन लगानी गर्ने गरेको तीतो यथार्थ भन्दै आफू त्यस्तो प्रचारमुखी धन्दामा नरहेको दाबी गरिन् ।
अन्त्यमा, आफू चलचित्र क्षेत्रमा भर्खरै लागेको भन्दै देशविदेशका दर्शकहरुलाई उनले आग्रह गरिन्, ‘नयाँलाई प्रमोट गर्नुहोस् ।’






