शनिबार भएको प्रतिस्पर्धामा मेक्सिकोकी २६ वर्षकी वेनेसा पोन्स मिस वर्ल्डको उपाधी जितेकी छन् । शनिबार राती चीनको सान्या शहरमा प्रतियोगिता भएको थियो । नेपालीहरुले निक्के आशा गरेकी श्रृंखला खतिवडा भने १२ जनाभित्र सम्ममा परेकी थिइन् ।
फाइनल राउन्डमा वेनेसालाई मिस वल्र्ड बनेपछि अरुलाई कसरी मद्दत गर्नेछौ भनेर प्रश्न सोधिएको थियो । उनले जवाफमा भनेकी थिइन्, ‘म आफ्नो पदलाई त्यसरी नै प्रयोग गर्नेछु जसरी पछिल्लो तीन वर्षदेखि गर्दै आएकी छु । हामीले सबैबारे सोच्नुपर्छ, प्रेम गर्नुपर्छ । कसैलाई मद्दत गर्नु त्यति गाह्रो काम होइन । तपाईं बाहिर गएका बेला कसै न कसैलाई तपाईंको मद्दत चाहिरहेको हुन्छ । त्यसकारण सधैं मद्दतका लागि तयार हुनुहोस् ।’
वेनेसाले इन्टरनेशनल बिजनेसमा ग्रेजुएशन गरेकी छिन् । यसबाहेक उनले मानवाधिकारमा डिप्लोमा पनि गरेकी छिन् । वेनेसाको जन्म मेक्सिकोको मुआनजुआटो शहरमा भएको हो । उनी नेनेमी नामक एक स्कूलमा पनि काम गर्छिन् । यो स्कूलमा आदिवासी इलाकाका बच्चालाई विभिन्न संस्कृतिको शिक्षा दिइन्छ ।
उनको उचाई पाँच फिट ९ इन्च हो । उनले मेमा मिस मेक्सिकोको उपाधि जितेकी थिइन् ।
वेनेसालाई अंग्रेजी र स्पेनिश भाषाकी जान्दछिन् । खाली समयमा उनलाई आउटडोर गेम खेल्न मनपर्छ । उनलाई भलिबल र स्कूबा डाइविङको शौख छ । वेनेसा महिलाको पुनर्वासका लागि काम गर्ने एक संस्थाकी बोर्ड अफ डिरेक्टरमध्येकी एक हुन् ।






