दुर्गा गुरुङ एकल साँझ कौरामय

SHARE:

काठमाडौं । कौरा गायक तथा संगीतकार दुर्गा गुरुङले पहिलोपटक एकल साँझमा प्रस्तुत हुँदा अपार साथ र समर्थन पाएका छन् । शनिबार राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिइरहँदा अतिथि, दर्शकदीर्घबाट तालीको वर्षा भयो । उनीप्रति कलापारखीले तालीमात्रै पिटेनन्, पैसाको मालाले समेत सम्मान व्यक्त गरे । मध्यान्तरमा राखिएको अभिनन्दन तथा सम्मान कार्यक्रम कलाकार तथा दर्शकको भीडका कारण स्थगित गर्नु परेको थियो ।

सांगीतिक क्षेत्रमा पाइला टेकेको २५ वर्षको अन्तरालमा एकल कार्यक्रम गरेका दुर्गालाई साथ दिन प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सांसद रामबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङलगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरूसमेत नाचघर पुगेका थिए ।

प्रमुख अतिथि बनाइएका सांसद श्रेष्ठले आफूलाई कौरा गीत असाध्यै मनपर्ने जनाउँदै एक महिनाको पारिश्रमिक गायक गुरुङको कार्यक्रमलाई सहयोग गर्ने घोषणासमेत गरे । उनको एकल साँझका लागि देशदेखि विदेशका विभिन्न व्यक्ति तथा संस्थाले करिब १० लाख रुपैयाँ सहयोग गरेको आयोजकले बतायो । गायक दुर्गाले कार्यक्रममा उठेको रकममध्ये खर्च कटाएर बाँकी रकम चुट्का गीतको संरक्षणका लागि कोषमा जम्मा गर्ने बताए ।

दुर्गाले कार्यक्रममा आफ्ना लोकप्रिय कौरा (चुट्का), झोरा, लोकपपलगायतका गीत प्रस्तुत गरे । तमु (गुरुङ) समाज तनहुँको आयोजनामा सम्पन्न एकल साँझमा गायक दुर्गाले प्रत्यक्ष वाद्यवादनमा १ दर्जन बढी गीत प्रस्तुत गरेर संगीतप्रेमीलाई मन्त्रमुग्ध बनाएका थिए । उनले खैमु लोसार (आयो लोसार) बोलको गुरुङ गीत गाएर आउँदै गरेको लोसारलाई स्वागत गरेका थिए । त्यसपश्चात हे कान्छी, साली भेना, सोलुु जुबु, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठूलढुंगाको बजारैमा जस्ता आफ्ना लोकप्रिय कौरा गीतका साथमा आयो मैना गयो मैनाजस्ता झोरा गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै १३ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बेल्जियममा रहेकी श्रीमती नन्दशोभा गुरुङको सम्झनामा रोधी बस्न आउँछ रे भन्दिनु यानी मायालाई बोलको गीत प्रस्तुत गरेर दर्शक नचाएका थिए । उनका हरेकजसो प्रस्तुतिमा गुरुङ जातिको पहिरनमा सजिएकाहरूले नृत्य गरेर कार्यक्रमलाई थप रोचक बनाइएको थियो भने कतिपय गीतमा अतिथिहरू मञ्चमै गएर नाची साथ दिए ।

दुर्गालाई गायनमा सर्जक तथा संगीतकार रेशम गुरुङको साथमा लोकदोहोरी गायकगायिका भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथ्वी गुरुङ, रिदम थापा, राज गुरुङ, राजु गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिए ।

खचाखच दर्शकका बीचमा करिब ३ घन्टासम्म चलेको एकल साँझमा दुर्गालाई प्रत्यक्ष वाद्यवादनका लागि किबोर्डमा दुर्गाबहादुर गुरुङ, बाँसुरीमा धनबहादुर गुरुङ, सारंगीमा कमल विश्वकर्मा र बुकुन गन्धर्व, रिदम गितारमा दीपेन्द्र गुरुङ, बेस गितारमा दीपक थापा, प्याट्रममा धर्म गुरुङ, हार्मोनियममा कृष्ण गुरुङ तथा खैजेडीमा मनाङ गुरुङ, गणेश गुरुङ, पृथ्वी, गुरुङ, विक्रम गुरुङ, प्रेम गुरुङ, चौबहादुर गुरुङ, पोषण घर्तीमगर र पारसमणि सुवेदीले साथ दिएका थिए ।

डेढ दर्जन गुरुङ फिल्ममा संगीत तथा स्वर दिई ५ हजार गीतको म्युजिक एरेन्ज गरेका दुर्गाले आँसु नझार एल्बममा रहेको आँसु नझार बोलको दोहोरी गीतबाट गायन यात्रा सुरू गरेका थिए । उनी कुशल बाँसुरीवादक तथा मादल, तबला, हार्मोनियम, किबोर्डलगायतको वाद्यवादनमा समेत पोख्त छन् । कार्यक्रम शोभा गुरुङको संयोजनमा भएको थियो ।

२०३५ मा तनहुँको भानु नगरपालिका पुर्कोट चन्दनीगाउँमा जन्मिएका गायक गुरुङलाई शनिबारको कार्यक्रममा ‘चुड्का (कौरा) सम्राट’ र गीतकार, तथा संगीतकार रेशम गुरुङलाई चुड्का सर्जक सम्राट घोषणा पनि गरिएको थियो । दुर्गाले २५ वर्षअघि पोखरामा रहेको लालीगुराँस कल्चर सेन्टरमा बाँसुरी बजाएर सांगीतिक यात्रा थालनी गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!