टंक बुढाथोकी भन्छन्, ‘विदेशको कन्सर्ट स्पेशल’

SHARE:

गायक तथा संगीतकार टंक बुढाथोकीको अचेल धेरैतिर चर्चा, परिचर्चा छ । उनले यस्तो लोभलाग्दो लोकप्रियता सामान्य तरिकाले हासिल गरेका होइनन्, थुप्रै संघर्ष र कर्म गरेका छन् । चलचित्रका गीत/संगीतबाट पाइला चालेका टंकको यस क्षेत्रमा दगुराई नै डेढ दशक बितिसकेको छ । उनले ‘काली तिम्रो नजरैले’, ‘घन्टी बज्यो’, ‘रुपै मोहनी’, ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ जस्ता लोकप्रिय गीतमा स्वर, संगीत दिएका छन् । गीत, संगीतकै खेलोबाट नाम र दाम कमाइरहेका टंक पछिल्लो समय सडक बालक अशोक दर्जीको उद्धार गरेर झनै हाईहाई भए । बुढाथोकीले अशोकको प्रतिभा प्रस्फुटन गराउन मात्रै सीमित भएनन्, शिक्षादीक्षा र परिवारको समेत जिम्मा लिइदिए । अहिले अशोक काठमाडौंमा बस्ने, पढ्ने र गीत गाउने गर्छन् भने उनका बुवाले एयरपोर्टमा काम पाएका छन् । उनै चर्चाका युवा गायक तथा संगीतकार बुढाथोकी यस वर्ष तमुधिं युकेले आयोजना गर्ने ल्होछार कार्यक्रममा समेत सहभागी हुँदैछन् । प्रस्तुत छ, कलाकार बुढाथोकीको बेलायत भ्रमण र सांगीतिक यात्राबारेको कुराकानी :

बेलायत भ्रमणको तयारी कस्तो चलिरहेको छ ?
यो मेरो दोस्रो भ्रमण हो । तमुधिं युकेले डिसेम्बर ३० तारिखमा रेडिङमा आयोजना गर्ने तमु जातिको मौलिक पर्व ल्होछारमा भाग लिन बेलायत जान लागेको हुँ । जहाँ मेरो पछिल्लो गीत चौरीको चाम्रो छुर्पी, मन बिनाको धन ठूलो कि धन बिनाको मनलगायत गीत प्रस्तुत गर्नेछु । कार्यक्रममा कसरी प्रस्तुति दिने, कसरी दर्शक/स्रोतालाई मनोरञ्जन दिलाउने भन्नेमा केन्द्रित भएर तयारी भइरहेको छ ।
यसअघि कहिले बेलायत भ्रमण गर्नुभएको थियो ?
गत सेप्टेम्बरमा सयपत्री साँस्कृतिक साँझका लागि गएको थिएँ । पहिलोपटक बेलायत जाँदा रमाइलो भयो । नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायत नेपाली विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्न पाएँ । त्यही कार्यक्रमबाटै तमुधिं युकेले आयोजना गर्ने ल्होछार कार्यक्रमबारे बुझेँ । अहिले अफर आएपछि मैले सहजै स्वीकार गरेँ ।
यो पालिको बेलायत भ्रमणको अपेक्षा के छ ?
विशेष फोकस तमु ल्होछारको लागि हुनेछ । आयोजकको अनुरोधमा अरु दुई/तीन कार्यक्रम भ्याउने सोचमा छु । सेप्टेम्बरमा जाँदा म आफैंले क्यान्सिल गरेको कार्यक्रम गरेर चाँडै नेपाल फर्कने छु ।
नेपाल र विदेशमा कार्यक्रम गर्दा तपाईंलाई कस्तो महसुस हुन्छ ?
कलाकारलाई माया चाहिने हो । नेपालमा २० हजार दर्शकको उपस्थितिमा कन्सर्ट गर्दा एउटा अनुभव हुन्छ भने विदेशमा स्पेशल हुन्छ । विदेशमा नेपाली कलाकार पुगेपछि उहाँहरुले देखाउने माया, सद्भाव, सम्मान फरक खालका हुन्छन् । विदेशमा रहेका नेपाली र कला पारखीसँग प्रत्यक्ष कुराकानी, प्रस्तुति दिँदा खुसी हुन्छु । यस पटक तमुहरुको विशेष दिन ल्होछारमा जान पाउँदा विशेष हुने आशा छ ।
विदेश त कमाईको दृष्टिकोणले हेरिन्छ नि ?
मेरो लागि कमाई त नेपालको कार्यक्रमै छ । विदेशमा आफ्ना फ्यानहरुसँग प्रत्यक्ष भेट हुने, देश घुम्न पाइने हुन्छ । जुन अवसरलाई मैले शौभाग्य ठानेको छु । तमु ल्होछारलगायत सांस्कृतिक पर्वलाई तपाई, हामी सबैले संरक्षण, संवर्द्धन गर्नुपर्छ । तर, घुम्नेमा यसपटक फोकस हुने छैन । म युके जाने भनेपछि दाइ, दिदीहरु र साथीहरु एक्साइटेड हुनुहुन्छ ।
विदेशमा रहेका संघसंस्थाले आफ्ना मान्छेलाई मात्रै बोलाउँछन् भन्ने गुनासा कलाकारहरुबाटै सुनिन्छ नि ?
मलाई त्यस्तो लाग्दैन । मेरो तमुधिंमा कोही हुनुहुन्न चिनेको । अहिले मेरो चर्चा र प्रस्तुतिले बोलाउनु भएको हो । काम र मेहनतका कारण बोलाउनुभएको हुनुपर्छ । मलाई तपाईंहरुको कार्यक्रममा पनि भन्दिनँ । त्यसरी जान पनि चाहँदिनँ ।
तपाईको चर्चाचाहिँ केले जुरायो यत्ति छिटो ?
मिहिनेत, संगत, कामले चर्चा पाएको हुनसक्छ ।
यस क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ?
१५ वर्ष भयो । २०६२, ०६३ सालको जनआन्दोलनताका काठमाडौं आएको हुँ । औपचारिक रुपमा गीत रेकर्डिङ २०६४ देखि सुरु भएको हो ।
स्टुडियो कहिलेदेखि चलाउनुभएको हो ?
चार वर्षदेखि काठमाडौं पुतलीसडकमा स्टुडियो चलाइरहेको छु ।
संगीतमा लाग्नुभएको इच्छा कि संगतले ?
दाइ टीकाराम बुढाथोकी रेकर्डिङ र संगीत सिक्ने गर्नुहुन्थ्यो । काठमाडौं आएपछि उहाँसँग मिलेर अगाडि बढेँ । सुरुमा गीत/संगीतमा रहर पनि भयो । जब बुझ्न थालेँ, गर्न सकिने रहेछ । नाम रहेछ । व्यावसायिक रुपमा आएँ । सिक्दै, पढ्दै र काम गर्दैछु ।
के के सिक्नु भयो ?
संगीत संयोजन, रेकर्डिङ, भोकल सिकेँ । अहिले पनि भोकल, विभिन्न बाद्यवादन सिकिरहेको छु ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
चलचित्रका दर्जन बढी गीत गाएँ । एक सय बढी गीत रेकर्डिङ गरिसकेँ ।
अबको योजना के छ ?
अरुका गीतहरु आइरहन्छन् । मेरै नयाँ गीत भने अलि पछि निकाल्ने छु ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!