हुन त कतिपय व्यक्तिको जन्म र मृत्युको कुनै अर्थ हुँदैन । जसको अर्थ हुन्छ, उसले समाजमा केही न केही योगदान दिएको होस् । कोही व्यक्तिको खोजी त्यसबेला हुन्छ, जुनबेला यहाँ हुँदैन । त्यस्तै व्यक्तिमध्येका एक हुन मानवशास्त्री तथा समाजशास्त्री डोरबहादुर विष्ट । नेपालको समाज र मानव चेतबारे गम्भीर विश्लेषण गरेका उनको २३ वर्ष बितिसक्दा पनि अत्तोपत्तो छैन । उनी हराए वा हराइए ? यो गम्भीर प्रश्न भने उठेकै छ ।
विसं २०५२ पुसको एक दिन चैतमा जुम्ला फर्कन्छु भनी हिँडेका उनी फेरि फर्केनन् । कसैले धनगढीमा देखेको भने । कसैले उनी हरिद्वारमा जोगी भएर बसेका भने । परिवारले पनि निकै खोजी गर्यो । आमाको निधनमा बुवा आउँछन् कि भनी छोराछोरीले निकै प्रचारप्रसार गरे, अहँ उनी आएनन् । तैपनि परिवारले उनको सम्झनामा हरेक वर्ष चैत्य बनाएर त्यहाँ उनका निजी वस्तु राखेर केही न केही कार्यक्रम गर्छ । नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट हराएको २३ वर्ष भयो । बाँचेका भए ९३ वर्ष पुगेका हुनेछन् ।
नेपालमा मानवशास्त्र एवं समाजशास्त्रको अध्ययनअध्यापन र अनुसन्धान गराउने प्रथम व्यक्तित्व विष्टको ‘फेटलिज्म एण्ड डेभलपेण्ट’ (भाग्यवाद र विकास) पुस्तक निकै चर्चित भयो । भाग्यमा विश्वास राख्ने कारण र ब्राह्मणवादले नेपाली समाजको विकास नभएको भन्ने निष्कर्ष त्यसमा थियो । कृतिमा नेपाली समाजको तत्कालीन स्थिति, मानसिक अवस्था आधुनिकतामा पुस्तकले निकै विवाद पनि ल्यायो । उनले विसं २०४८ मा कर्णाली इन्स्टिच्यूट खोली कर्णालीका जनतालाई शिक्षा, विद्युत् आदि पूर्वाधार पुर्याएका थिए ।
उनका ‘सबै जातको फूलबारी’, ‘पिपल अफ नेपाल’, ‘एन्थ्रोपोलोजी इन नेपाल’लगायत मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित पुस्तकका साथै ‘सोताला’ (तिब्बतमा नेपाली पति र तिब्बती पत्नीबाट जन्मेका सन्तानको कथा) शीर्षक उपन्यास र केही कथा प्रकाशित छन् । भाग्यवाद र विकास कृति नेपाली पनि अनुवाद भइसकेको छ जसको प्रकाशन हुन मात्र बाँकी छ ।
समाजको यथार्थ चित्रण गरेर नेपाली समाजलाई धेरै गुण लगाएका डोरबहादुर विष्टको योगदानलाई राज्यले भने वेवास्ता नै गरिरहेको छ । उनको योगदानको अवमूल्यन गरिरहेको छ । डोरबहादुर जस्ता सच्चा अनुसन्धानकर्ता र लेखक तथा अन्वेषकले उजागर गरेका कतिपय विषयवस्तु राज्यमा रहेकाहरुका लागि अपच हुने खालकै थिए । जसका कारण पनि उनी राज्यको नजरमा सम्मानको दृष्टिले हेरिएन भन्ने विश्लेषण गरिएको छ ।
समाज विज्ञानलाई कठिन रुपमा उजागर गर्ने एउटा होनहार व्यक्तित्व गायब भएको दुई दशकभन्दा लामो समय बित्दा पनि सरकारको ध्यान नजानु अति दुःखद पक्ष हो । सामान्य व्यक्ति थिएनन् उनी । उनको खोजविनका लागि सरकारले केही तत्परता अहिले पनि दिन जरुरी छ । उनी आफै बेपत्ता भए र बेपत्ता पारिए ? त्यो विषयमा गम्भीर खोजीनीति गरिनुपर्छ । होइन भने नेपाली समाजले राज्यप्रति प्रश्न गरिरहने छ– खोई डोरबहादुर विष्ट ?






