रोशन मेवाहाङ्ग
लन्डन । साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङको रचना मायाप्रेम विछोड हुँदाको पीडामा आधारित ‘कति सपना साँचे मैले’ बोलको म्युजिक भिडियोलाई हाइलाइट्स नेपालले आफ्नो सामाजिक संजाल युट्युवमार्फत सार्वजनिक गरेको छ ।
गीतकार प्रमोदको मायाप्रेममा सजिएको रचनालाई नवगायिका शोभा सुब्बा (एन्जल)ले मधुर स्वर दिएकी छन् । एउटा सुन्दर जीवनमा एउटा प्रेमिकालाई प्रेमघर सजाएर बस्ने, उनकै नाम दिलभरी सजाउने सपना हुन्छ तर प्रेमीले धोका दिँदाको पीडाजस्ता विक्षिप्त विम्बहरुका झुटो माया र सम्बोधनको भाव प्रमोद चाम्लिङले प्रस्तुत गीतमा झल्काएका छन् । मोडल सुवास राई, रमा राई र एलिना राई अभिनीत भिडियोलाई तुलसी थापा मगरले प्रांयोजन गरेका हुन् ।
नेपाली सुगम संगीतका लागि उर्बर भुमि मानिने नेपालको पूर्वी पहाडी जिल्ला खोटाङ बुइपामा जन्मिएका नबोदित साहित्यकार तथा गीतकार प्रमोद चाम्लिङ आफ्नो साहित्यिक यात्रामा थुप्रै लोकभाका र आधुनिक गीतिलेखनतर्फ निरन्तर कलम अघि बढाइरहेका छन् ।
आफ्ना जीवन यात्राको अनेकौ कालखण्डहरु पार गर्दै पारिवारिक परिस्थितिका कारण परदेशी भूमिमा बसेर पनि गीतिलेखनमा संघर्ष गरिरहने गीतकार चाम्लिङले विभिन्न भाकाका झन्डै दुई दर्जन गीत रेकर्ड गरिसकेका छन् । भर्खरै हाइलाइट्स नेपालले सार्वजनिक गरेको गीतमा प्रमोद चाम्लिङको शब्दलाई राजरोबर्ट अजनबीको संगीत र कृष्णभक्त राईको एरेन्ज रहेको छ ।
जीवन मुकारुङले सम्पादन गरेको गीत लेजर लाइन स्टुडियो कालेम्पोङमा रेकर्ड गरिएको हो । निश्चल जसुले शृंगार गरिएका म्युजिक भिडियो गीतकार प्रमोद आफैले निर्देशन गरेका हुन् ।






