कतिपय भन्छन्, कंगना रनावतको मुखै बैरी । बलिउडमा जब कंगना कसैका बारेमा बोल्छिन्, केही न केही लफडा सुरु हुन्छ । खासमा उनी कोही रिसाउला वा कोही खुसी होस् भनेर कुरा मिलाएर बोल्दिनन् । आफूलाई लागेको सत्य सीधासीधा बोल्छिन् । कसैका लागि यही कुरा अपाच्य हुन्छ । अनि झगडा र तनाव सुरु हुन्छ ।
पछिल्लो पटक कंगनाको अभिनेता हृतिक रोशन र पछि निर्देशक करण जोहरसँग वाकयुद्ध नै चल्यो । लामो समयको प्रेम सम्बन्ध टुटेपछि कंगना र हृतिकबीच तल्लो स्तरसम्मै भनाभन भयो । यस झगडामा बलिउड समेत विभाजित भयो । अधिकांश कंगनाको पक्षमा देखिएनन् । तैपनि लडाकु स्वभावकी कंगना एक्लै भिडिरहिन् । त्यसैगरी करणले पनि आफ्नो अस्तित्व स्वीकार नगरेको भन्दै कंगनाले उनी विरुद्ध कडा टिप्पणी गर्दै आएकी छन् ।
यतिबेला आफ्नै निर्देशनमा अभिनित फिल्म ‘मणिकर्णिका’ लाई सफलता दिलाएपछि त झन् कंगनाको बोली थामिने कुरै थिएन । हालैको एक मिडिया कन्क्लेभमा निम्त्याइएकी कंगनाले हृतिक र करणलाई खुलेआम चुनौती दिइन् ।
‘म आज जुन स्थानमा छु, यहाँ तिनीहरू कहिल्यै पनि आउन सक्दैनन्,’ कंगनाले ठाडै भनिदिइन् । करणले आफ्नो टीभी शोमा उत्कृष्ट अभिनेत्रीहरूको सूचीमा आफूलाई नराखेपछि आपत्ति जनाएकी थिइन् । ‘वास्तवमा त्यसका लागि म योग्य थिएँ । जब तपाईं उत्कृष्ट अभिनेत्रीका बारेमा कुरा गर्नुहुन्छ भने तीन–तीन पटक नेसनल अवार्ड जित्ने म किन नहुने ? मिस्टर जोहरले अभिनय क्षमता नै नभएका नायिकाहरू भेला पारेर आफ्नै संसार बनाउन खोजेका हुन्’ कंगनाले भनिन् ।
उनले करण जस्ता व्यक्तिहरू परिवारवादमा विश्वास गर्ने र त्यसैमा लागिपर्ने आरोप पनि लगाइन् । २०१७ को आइफा स्टेजमा सार्वजनिक रूपमा नै करणले कंगनालाई कामविहीन भन्दै जिस्क्याएको प्रसंग उप्काउँदै कंगनाले भनिन्, ‘उनले मलाई कामविहीन भएको र कामका लागि आफूसँग हात जोडेर पछि लागेको जस्तो कुरा गरे । तर म भन्छु, मेरो क्षमता हेर अनि तिमी आफ्नै फिल्म हेर । के उनले साँच्चै नै मलाई कामविहीन देखे ? मलाई लाग्छ, उनलाई च्यवनप्राशको मात्रा बढाएर खुवाउनुपर्नेछ ।’ कन्क्लेभमा नै कंगनालाई हृतिकका बारेमा पनि टिप्पणी गर्न उक्साइएको थियो । बहस सञ्चालकले हृतिकले कंगनालाई व्यक्तिगत रूपमा नचिन्ने भनेकोप्रति प्रतिक्रिया मागेका थिए । कंगना चुप बस्ने कुरै थिएन । भनिन्, ‘जोसँग दुई–दुई फिल्ममा काम गर्दा ५ वर्ष बित्यो, उसले चिन्दिनँ भन्छ भने त्यो विल्कुल हास्यास्पद हो ।’






