करिब सात दशकअघि नेपालमा स्थापना भएको कम्युनिष्टहरु एकै ठाउँमा आउनै जानेन् । त्यसैले पनि ७० वर्ष लामो इतिहास बोकेको कम्युनिष्ट शक्ति ७० प्रतिशतभन्दा बढी लामो समय हुँदा पनि शासन सत्ता र शक्तिमा भने कहिल्यै स्थापित बन्न सकेन । त्यसैले पनि यो शक्ति र सत्ताको बागडोर गैरकम्युनिष्टको पोल्टामा पर्दै आयो । यो कुरालाई २०७४ को प्रदेश र संघीय निर्वाचनमा आएर भने दुई ठूला कम्युनिष्ट शक्तिहरुले महशुस गरे । महशुस मात्र गरेनन्, तालमेल गरेर एउटै घोषणापत्रमार्फत निर्वाचनमा भाग लिए, करिब दुई तिहाई मत हात पारे ।
निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकता गर्ने दावी गरेका नेपाल कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रबीच चार महिना बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । पार्टी एकताका लागि वैशाख ९ गतेको मिति तय गरेपनि त्यो सम्भव हुन सकेन । फलत: अहिलेसम्मको पार्टी एकता प्रक्रिया निचोडमा पुग्न सकेन, मात्र एकताको सन्देश दिन मात्र सम्भव भयो ।
२२ अप्रिल अर्थात लेनिन जयन्ती, नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको दिन । यो दिनमा नै एमाले माओवादी केन्द्रबीचको एकता घोषणा गर्नका लागि दुवै कार्यदलले साइत जुराएको थियो । यो साइतलाई यसपटक भने दुवै बामले ‘मिस’ गरेको छ । वाम एकतासम्वन्धी दुवै पार्टीको कार्यदलले यो मितिमा पार्टी एकता घोषणा गर्ने निधो गरेसँगै यो समयमा पार्टी एकता हुन नदिनका लागि व्यापक दवाव सिर्जना भएको थियो । पार्टीका दुई नेताहरुमा अस्थिरता ल्याउने, एकापसमा अविश्वासको वातावरण सिर्जना गर्ने जस्ता कामहरु भएकै थियो । जसका कारण पनि पार्टी एकता टुट्ने हो कि भन्ने आशंका पनि व्यापक नै बनेको थियो । आइतबारका दिन कम्युनिष्ट पार्टी एकता दिवसको दिन आयोजित कार्यक्रममा बोल्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त तोकेको मितिमा पार्टी एकता नहुने दावी नै गरे । अब आश्चर्य रुपमा पार्टी एकता घोषणा गर्ने पनि उनले बताए । मिति पहिला घोषणा हुँदा चलखेल हुने, भाँड्ने शक्तिहरु सल्वलाउने लगायतका कुरामा नेताहरु सचेत देखिएकै छन् । तरपनि नेताहरुमा देखिएको अविश्वासको वातावरण, एकअर्कामा देखिएको बेमेलको स्थिति पक्कै पनि शंकाको विषय हो ।
कम्युनिष्टहरु मिल्न जाँन्दैनन् भन्ने भनाइलाई फेरि पनि कम्युनिष्टहरुले पुष्टि त गर्न लागेका होइनन भन्ने पनि व्यापक शंकाको विषय बनेकै छ । कम्युनिष्ट स्थापना भएको दिनलाई एउटा मौकाको समय मानेर अघि बढे पक्कै पनि कम्युनिष्ट एकता हुने सम्भावना थियो नै । तर, अहिले जुन किसिमको परिस्थिति बनेको छ, शीर्ष नेताहरुबीचमा नै समस्या देखिएको छ, यसले मिल्न नजान्ने कम्युनिष्टहरुको उपमालाई पुष्टि गर्ने देखिन्छ । त्यसैले जनताले दिएको आदेशअनुसार नै दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएर विश्वलाई आश्चर्यताको सन्देश दिन जरुरी छ ।






