पोखरा । नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राजनीतिको मूलप्रवाहमा ल्याउनका लागि प्रतिबन्ध लगाइएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका मन्त्री थापाले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै चन्द समूह छिट्टै मूलप्रवाहमा आउने आशा गरेको जनाए ।

शान्ति सुरक्षामा खलल पुर्याउन अझै केही समूह सक्रिय रहेको र यसको समाधानमा सरकार लागिपरेको उनले बताए। ‘शान्ति सुरक्षा र विकासमा बाधक भएकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको हो,’ उनले भने, ‘आशा छ, मूलप्रवाहमा आउने छ।’ संविधान र कानुनविपरीत काम स्वतः प्रतिबन्धित हुने भन्दै उनले असंबैधानिक र गैरकानुनी काम रोकिएको बताए । शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको सरकारको निष्कर्ष रहेको उनले जनाए।
सीके राउतप्रति इंगित गर्दै पृथकतावादी समस्यालाई समाधान गरी राजनीतिको मूलधारमा ल्याउन सकिएको बताएका थापाले अब उनीहरु देश विकासमा समाहित हुने दाबी गरे। सरकारको एक वर्ष नीतिगत, संरचनागत र विकासका पूर्वाधारका हिसाबले आधार निर्माणको वर्ष परिभाषित भएको उनले जनाए। ‘देशलाई समृद्धि बनाउन संरचना र नीतिगत पारित गरेकाले अब विकासले गति लिन्छ,’ उनले भने, ‘अपराध नियन्त्रण गर्न विशेष जोड दिइएको र सफल भएको पनि निष्कर्ष सरकारको छ।’बारा र पर्सामा भएको प्राकृतिक प्रकोप पीडितको पुनर्निर्माणको कामलाई छिटो सक्ने उनले दाबी गरे।






