नेपालको कुमाल जातिको मृत्यु संस्कार

SHARE:

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कुमाल जातिको जनसंख्या महिला ६३ हजार ६ सय ७१ र पुरुष ५७ हजार ५ सय २५ जना गरी जम्मा १ लाख २१ हजार १ सय ९६ जना रहेका छन् । कुमाल जातिमा मानिस कारणबश घाम ढल्केपछि मृत्यु भएमा रातभरि गाउँले तथा आफन्तहरु भेला भई रुङग्ने काम गर्दछन् । अरु जातिको जस्तो भोलिपल्ट उज्यालो भएपछि लगिहाल्ने चलन कुमाल जातिमा हुँदैन् । सबै जना भेला भएकाहरुले खाना खाइसकेपछि मात्र लासलाई बाँसको घारामा नयाँ कपडाले बेरी चिहानघारीतिर लैजाने काम गर्दछ । लासलाई लाने बेलामा मृतकको नाम सम्झँदै आफन्तहरुले तीन पटक मृतकको मुखमा चामल राखी दिने र मृतकले अब यो घर छाडिसकेको हुनाले उसलाई नयाँमा बस्नको लागि जग्गा किन्नु पर्छ भनेर दुई चार रुपैयाँ समेत चढाउने गर्दछ ।

लासको अन्तिम संस्कार गरिसकेपछि मलामीहरुले गाडेको वा जलाएको ठाउँलाई तीन पटक बाँया तर्फबाट घुम्दै अब तिम्रो नामनिसान पृथ्वीमा आजदेखि हरायो । अब सुखले स्वर्गमा नयाँ घरजम गरी बस्नु भनी मृतकको नाममा तीन–तीन अञ्जुली पानी वा माटो दिई मलामीहरु घरतिर फर्किन्छन् । मृतकका आफन्तहरुले रात नपरेको र समय रहेमा त्यही किरिया बार्नेहरुले कपाल खौरने गर्दछ ।

कुमाल जातिमा किरिया बार्दा भए जति सबै छोराहरुले बार्नु पर्दछ । किरिया बार्दा नुन बार्ने चलन छ । हरेक दिन बेलुका रक्सी राख्ने माटोको भाँडामा जति सक्दो जाँड पिउने चलन रहेको छ । किरिया बार्नेले एक दिनमा एक छाक मात्र खाना खाने गर्दछ । खाना खाने बेलामा प्रत्येक दिन खोलाको किनारमा गई ठाउँ फेरि–फेरि नयाँ चुलो बनाई खाना पकाएर लसुन, अदुवा र प्याजसँग खाना खानु पर्दछ । अन्तिम दिन एक माना चामलको भात पकाई तेह्र वटा पिण्ड बनाई कुशको मृतकको स्वरुप बनाई त्यसलाई बीचमा राखी पानीको तर्पणद्वारा पिण्डदान गर्दछ ।

कुमाल जातिमा गाईको गहुँतद्वारा चोखिने चलन रहेकाले अन्तिम चोखिने दिन घर लिपी गहुँत छर्केर घर चोख्याउँछन् । अनि किरिया बार्नेहरुलाई पनि गहुँत छर्की चोख्याउँछन् । सबै दाजु भाइहरु सात जना र एक जना ज्वाइँलाई राखी नुन र तेल एउटा टपरीमा राखेर सबैले छुने गर्दछन् । सबैले छोइसकेपछि त्यो टपरीलाई बाटोमा लगेर राख्ने गर्दछ । त्यसपछि भेला भएका कन्या केटीहरुलाई ख्वाएपछि मात्र दाजुभाइहरुले खाने चलन छ । मृत्यु संस्कारको किरिया बार्नेहरु सुद्धाइँ हुने दिन कुलकुटुम्ब, इष्टमित्र, आफन्तहरु र मलामीहरुलाई बोलाई उनीहरुलाई पनि गहुँत पानीले छर्केर चोख्याउँछन् । अनिमात्र भोज ख्वाउने गर्दछ ।

किरिया बार्नेहरु पुरुष भए टोपी र महिला भए बर्की ज्वाइँले लगाइदिने गर्दछ । जुन लगाइदिएपछि अशुभ कामबाट शुद्ध भएको मान्ने गर्दछ कुमाल जातिले । सबै कामबाट शुद्ध भइसकेपछि सकेसम्म घरकाहरुले ज्वाइँ र मलामीहरुलाई दान दक्षिणा गर्दछ । तर, कसैले छ महिनासम्म सेतो लुगा लगाई त्यसपछि मात्र शुद्ध हुने गर्दछ । कुमाल जातिमा हरेक वर्ष माघे संक्रातिको दिन मासको दाल, चामल, बेसार र अदुवा एकै ठाउँ पारी पानीको तर्पण दिई श्राद्ध गर्ने गर्दछ ।
कुमाल जातिमा पनि मानिस मरेपछि आ–आफ्नै तरिकाले अन्त्येष्टि गर्ने चलन छ । थारु कुमालहरुले लासलाई उत्तानो पारेर गाड्ने गर्दछ । अनि घरमा आई दाल, भात, जाँडरक्सी र मासु खाने गर्दछ । पहाडे कुमालहरुले लासलाई गाड्ने वा खोलामा बगाउने दुबै गर्दछ । कुमाल जातिमा किरिया बार्दा पाँच, सात वा तेह्र दिनसम्म बारी चोखिने गर्दछ ।
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६. लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक राजवंशीसम्बन्धी लेख प्रकाशन गरिनेछ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!