लमजुङ । गुरुङ समुदायमा सुनपानी (मारक्यु) को महत्व दर्साउन फिल्म नै निर्माण गरिएको छ । जीवन र मरणको दोसाँधमा पुगेकालाई सहज बनाउन नेपाली समाजमा सुनपानी प्रयोग गरिन्छ । गुरुङ समुदायमा सुनपानी खुवाएपछि निधन भएमा उसको स्वर्गमा बास हुने विश्वास गरिन्छ ।
भाषा, कला, संस्कृति र मायाप्रेमको विषयवस्तुलाई समेटेर फिल्मको नाम नै मारक्यु (सुनपानी) राखिएको छ । लमजुङकै दोर्दी गाउँपालिका ५ को छैलुङ र वाकस्वाँरामा छायांकन गरिएको फिल्मको पहिलो प्रिमियर शो वैशाख २८ गते बेंसीसहरको अन्नपूर्ण चलचित्र मन्दिरमा भब्य प्रदर्शन भएको छ । फिल्मलाई लमजुङबाटै प्रदर्शन सुरुआत गरिएको छ । नेपाली समुदायले बुझ्ने गरी फिल्मलाई नेपाली भाषामा समेत रूपान्तरण गरिएको छ । ‘गुरुङ भाषीका दर्शकका लागि भने गुरुङ भाषामै फिल्म छ । फिल्मको ओर्जिनल कपी पनि गुरुङ भाषाकै रहेको छ । फिल्ममा प्रेम कथाका अलावा बाबाआमाको निधनपछि दिदीले घर व्यवहार सम्हाल्नुपरेको यथार्थपरक घटनालाई समेटिएको, सुवास गुरुङ (गशेण) को पटकथा रहेको फिल्ममा खुसी गुरुङ, रोशनी गुरुङ, कमल गुरुङ, आकाश गुरुङ, गजबहादुर गुरुङ, अस्मिता गुरुङ, केशकुमारी गुरुङ, प्रतिमा गुरुङ, पर्शुराम गुरुङ, दुरमाया घले, सीमा गुरुङ लगायतले अभियन गरेका छन् ।






