‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा

SHARE:

धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ ।

मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । हंगकङ र बेलायतमा बस्ने लिम्बुहरु पनि धरान घोषणापत्रबाट निर्णयबाट तरंगित भएका छन् ।

मुन्धुमका ज्ञाता बैरागी काइँलाका अनुसार धरानमा आयोजित यो धर्मसभा करिब एक सय वर्षपछि दोस्रोपल्ट गरिएको हो । विसंं १९८८ मा तेह्रथुममा यस्तो चुम्लुङ (सभा) आयोजना भएको थियो । सो सभाले लिम्बु समुदायको बिहे आदिमा फजुल खर्च घटाउने लगायतका निर्णयहरु गरेको थियो ।

किरात धर्मको विकल्पमा युमा धर्म !

याक्थुम्वा लिम्बुहरुले अब किरात धर्मको साटो ‘युमा धर्म’ मान्ने घोषणा गरेका छन् । लिम्बुहरुको धर्मग्रन्थ्र मुन्धुमअनुसार युमा भनेकी सृष्टिकालकी देवी हुन् । लिम्बुहरु प्रकृतिपूजक हुन् ।

धरानमा मंगलबार सम्पन्न धर्मसम्बन्धी दुई दिने गोष्ठी एवं धर्मसभाले एक बुँदे घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा युमा धर्म अवलम्वन गर्ने बताउँदै भनिएको छ- ‘याक्थुम्वा -लिम्बु/सुब्बा) जातिको मौलिक धर्म, संस्कृतिको संरक्षण, सम्वर्धनकका लागि याक्थुम्बा जातिले अनुसरण गरी ल्याएको परम्परागत धर्म संस्कृति र संस्कार नै युमा धर्म हो भनी घोषणा गर्दछ ।’

नेपालका साथै भारतको सिक्किम, दार्जीलिङ, आसाम, डुबर्स, मिरिक, कालेबुङ, सिलिगुडीलगायतका स्थानबाट लिम्बु प्रतिनिधिहरु सहभागी भएको धर्मसम्बन्धी गोष्ठीमा प्राज्ञ बैरागी काइँला प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । सभामा कलेजका प्रोफेसरका साथै लिम्बु समुदायका फेदाङबा, येवाहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नेपालबाट चैतन्य सुब्बा, अर्जुनबाबु माबुहाङ लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतबाट आर.आर. खजुम र तेजबहादुर वाइवा लगायतले कार्यपत्र पेश गरेका थिए ।

अहिलेसम्म नेपालको राष्ट्रिय जनगणनामा लिम्बु समुदायले आफ्नो धर्म किरात लेखाउँदै आएका थिए । जनगणनामा किरात धर्मलाई चौथो धर्मका रुपमा देखाइएको छ । तर, अब लिम्बु समुदायले किरात धर्म नलेख्ने निर्णय गरेसँगै धार्मिक तथ्यांकमा फेरबदल आउन सक्ने सम्भावना बढेको छ ।

अहिलेसम्म किरात धर्म लेख्नेहरुमा लिम्बु, राई, सुनुवार याख्खा, याम्फूहरुसमेत रहेका छन् । तर, लिम्बु समुदाय अब किरात धर्मबाट बाहिरिने निर्णयमा पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!