एटा संवाददाता
अल्डरसट । भारतको दार्जिलिङ्ग घर भई गीत, संगीतको सिलसिलामा काठमाडौं आई आफ्नो प्रतिभा सुनिश्चित गर्न लागीपरेकी नवआधुनिक गायिका निखिता थापाको सम्मानमा गत शुक्रबार १७ मे का दिन ‘निखिता स्वर्णिम साँझ’ कार्यक्रम आयोजना गरियो । अल्डरसटको दि प्यालेसमा सम्पन्न कार्यक्रममा निखिताले स्वर्गीय तारादेवीका गीतदेखि आफ्नो एल्बमका उडायो हावाले, रंग, कान्छी रे कान्छी र एभरग्रीन गीत गाएर दर्शकहरुलाई खुसी पारिन् । म्याग्दी अर्गनाईजेशन (मोना) यूकेको आमन्त्रणमा आएकी निखिताले संस्थाको आव्हान अनुसार नयाँ नेपाली वर्ष २०७६ को उपलक्ष्यमा आयोजित म्याग्देली शुभकामना साँझमा आप्mनो प्रतिभा देखाइसकेकी छिन् । आफ्नो बुबा भारतीय सैनिकको कर्णेल पदबाट रिटायर्ड भएपछि बुबाकै चाहनामा गायन प्रतिभालाई अगाडि बढाउन काठमाडौंलाई रोजेकी छन् । विगत ३ वर्षदेखि काठमाडौंमा संगीत साधना गर्दै आएकी निखिताले श्रोता तथा दर्शकको मनछुने गीत गाउँदै आएकी छन् ।
सो सांगीतिक माहोलमा उनीसँगै बेलायत आएका गायक कुमार पुन र कुमारी चेपाङ्गले पनि म्याग्दीको माटो छुने लोकगीत गाएर कार्यक्रमलाई थप शोभायमान गराएका थिए । म्याग्दी अर्गनाईजेशन (मोना) यूकेका सांस्कृतिक सचिव गंगा पुर्जा र उनका आफन्तजनहरुको प्रायोजनमा सम्पन्न सो स्वर्णिम साँझमा मोनाका अध्यक्ष दल जुग्जाली, उपाध्यक्ष कुमार फगामी, महासचिव लाल पुन, कोषाध्यक्ष पदम गर्बुजा लगायत मोनाका थुप्रै शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मोना यूकेले आफ्ना आमन्त्रित कलाकारहरु कुमार पुन, कुमारी चेपाङ्ग र स्वयं निखिता थापालाई शनिबारका दिन बिदाइ गरेका थिए । बिदाई कार्यक्रमपश्चात् कुमार पुन र कुमारी चेपाङ्ग थप कार्यक्रम भएको हुँदा केही समय बेलायतमा रहने र निखिता थापा कार्यव्यस्तताले गर्दा नेपाल फर्कने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।
सानै उमेरमा सांगीतिक सफलता चुमिरहेकी निखिताले दार्जिलिङ्ग र काठमाडौं जोड्ने अर्को चमात्मकारी काम गर्ने छिन् । स्मरणीय छ, दार्जिलिङबाट काठमाडौंले सिकेको सयौं सांगीतिक चिनारी इतिहासझंै साक्षी बनेको छ । युवा उद्घोषक दिनेश रोकाले संचालन गरेको स्वर्णिम साँझ बेलुकी ११ बजेसम्म संगीतमय बनेको थियो ।






