यस्तो छ भारतीय प्रधानमन्त्री मोदी भ्रमणको तयारी

SHARE:

मुस्ताङ मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ ।

मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । उनले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिए ।

वैशाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ । मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन् । थप एकवटा हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताउनुभयो । सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ । आकस्मिक उपचारको समेत व्यवस्था गरिएको छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० सय मिटरको उचाइमा अवस्थित छ । भ्रमणलाई लक्षित गरेर बेनी—जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडक स्तरोन्नतिका लागि दैनिक आठघण्टा बन्द गरिँदै आएको छ ।

भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल—भारत सम्बन्ध जनस्तरमा अझै बलियो हुने र मुक्तिनाथको महत्वको बारेमा उजागर भई धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको मुस्ताङका नागरिक अगुवा चन्द्रबहादुर थकालीले बताए । मुक्तिनाथमा मोदीको स्वागतका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा एक समिति पनि गठन भएको छ ।

जनकपुर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन हुने जनकपुरको बाह्र विगहा मैदानमा तयारी तिब्र बनाइएको छ । मञ्च र पाण्डल बनाउने सामान र मजदुर सबै भारतबाट झिकाइएका छन् ।

मञ्च र पण्डाल बनाउन भारतको मोतिहारीबाट मजुदर झिकाइएका छन् । मोदीको सभाका लागि यस अघि पनि मञ्च बनाएका टेण्टवालालाई नै जनकपुर ल्याइएको छ । तर, यसअघि सबै तयारी भएरपनि मोदिको जनकपुर भ्रमण रद्द भएको थियो ।

भारतबाटै साउण्ड, मजदुर, टेण्ट ल्याइएको प्रदेश दुईका सांसद कौशल यादवले बताए । मञ्च व्यवस्थापन समितिमा रहेका यादवका अनुसार सरसफाई, रंगरोगन तथा अन्य तयारीका लागि भारतकै मोतिहारीबाट मजदुर ल्याइएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!