असल गायिका बन्ने विनिताको तिर्खा

SHARE:

हिमालजस्तै दन्तेलहर, मध्यम उचाई, गहुँगोरी र दयालु स्वभावकी लोक तथा दोहोरी गायिका हुन्, विनिता गुरुङ । धादिङ निलकण्ठ–१३, लाहुरेगाउँबाट २०७२ सालमा राजधानी काठमाडौं पसेर उनले विरु लामासँग ‘गोरखा मनकामना’ गीत गाइन् । स्टेज तताउने सो गीत सदावहार चलिरह्यो । पुरुष गायक लामा पनि लोकपारखीमाझ चिनिरहे । तर, ‘फिमेल भ्वाइस’ दिने विनिताको चर्चा खासै भएन । त्यसमा गायिका स्वयम्को कमजोरी हुनसक्ला अरुसँग घुलमिल हुन नसक्ने । त्योभन्दा बढी सम्बन्धितहरुको दोष, सहयोग र प्रचारमा कन्ज्युस्याइँ गरिदिने ।

सानी छँदादेखि नै सांगीतिक रस लागेकी विनिता यतिबेला गण्डकी प्रदेशमा बेसी चल्ने सालैजो गीतको तयारीमा छिन् । हालै एभरेस्टकर्मीसँगको भलाकुसारीमा गायिका गुरुङले ‘हुन्न सानु मायामा धोका’ गीतको अडियो रेकर्ड भइसकेको र भिडियो छायांकनको चरणमा रहेको बताइन् । सँगै स्लो विटको गीत ‘मलाई छोडी जाँदा कस्तो भयो’ पनि एरेन्ज गरिसकेकी छन् ।
करिब ९ वर्षअघि काठमाडौंसँग साइनो गाँसेकी विनिता कहिले धादिङ, कहिले काठमाडौं गरिरहिन् ।

यसो हुनुको कारण गीत, संगीतमा अग्रज र पारिवारिक सपोर्ट नमिल्नाले हो । ‘गीत, संगीतमा भविष्य नदेखेपछि जन्म ठाउँ फिर्ता भएर दुई वर्ष उतै बिताएँ’, उनले थपिन्, ‘जहाँ पनि आफ्नो गीत बज्ने तर आफू भने कतै चिनिन नसकेपछि मनै मरेर गयो ।’ औपचारिक सांगीतिक यात्रामा पाइला टेक्नु अघि उनले ढाकाको कपडा बुन्ने कामसमेत गरेकी थिइन् । कहिलेकाहींको दिक्दारीले आफ्नो रुचीको क्षेत्र छोड्ने घुर्मी लगाए पनि विनिता कमब्याक हुन बाध्य भइन् । दुई वर्षदेखि लोकदोहोरी साँझको काम र गीत निकाल्ने व्यस्तताले काठमाडौं बसाइ उनको बाक्लो बनेको छ ।

छोटो अवधिमा उनले गोरखा मनकामनापछि ‘भेट भो बल्ल बल्ल’, ‘मुटु जलाउने’, ‘गुल्मी तम्घास रेसुंगाको फेद’जस्ता लोकप्रिय भाकाका गीत निकालिन् । भेगीय हिसाबले काँठ क्षेत्रमा जन्मे पनि विनिता गुरुङ गीत भने पश्चिमतिरका गाउन रुचाइन् । तर, उनै सबै खाले गीत गाउन नसक्ने भने होइनन् ।

हरेक मान्छेसँग केही न केही प्रतिभा र सम्भावना हुन्छ । त्यस्को प्रस्फुटन पारिवारिक, सामाजिक वातावरण उपयुक्ततामा मात्रै सम्भव हुन्छ । जसमा स्वयम् व्यक्तिको जागरुकता अत्यन्त जरुरी पर्छ । मीठो आवाजकी खानी विनिता पारिवारिक सांगीतिक माहोलमा हुर्किएका कारण गीत, संगीतमा लागेकी हुन् ।

उनकी आमा ज्ञानमाया गुरुङ र बुबा पदमबहादुर गुरुङ गीत गाउनुहुन्थ्यो । दाइ पनि गीत गाउन सीपालु । जसको प्रभाव विनितामा कलिलैमा बस्यो । त्यही छापले उनी सानी छँदादेखि कलाकार बन्ने सपना बुन्थिन् । र, गाउँमा हुने मेलापात, जात्रा र देउसी, भैलोजस्ता चाड पर्वहरुमा गएर मज्जैले गीत गाउने गर्थिन् । जसोतसो आफू गीत, संगीतमै तल्लीन रहे पनि त्यसबेलाका दौंतरी अन्य पेसामा लागेकोमा उनी कहिलेकाहीं एक्लो महसुस गर्छिन् रे !

स्वर, साधना र कला भए पनि उनी त्यत्ति चिनिएकी गायिका होइनन् । स्वभावैले लुकेको प्रतिभाजस्ता विनिता आफू चिनिन र कुनै पनि अवसर आए सदुपयोग गर्न सक्छु भन्ने अठोट व्यक्त गर्छिन्, ‘मिडिया, विभिन्न संघसंस्था, लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायतले कलाकारका गला, कलाको खोजी अनि सम्मान गरिदिने हो भने हामीजस्ता पिछडिएको कलाकारहरुले पनि अवसर पाइन्थ्यो कि, अझै अगाडि बढ्ने हौसला मिल्थ्यो कि ?’ सुरुसुरुमा संगीत क्षेत्रमा बेसहाराजस्तै बनेकी विनिता पछिल्लो समय राहत महसुस गर्दै आएकी छन् । नामै तोकेर भनिन्, ‘अमित गुरुङ दाइ लगायतले सहयोग गरिरहनुभएको छ ।’

मानिसको जीवन ‘कोक्रोदेखि चितासम्म सिकाइ जारी रहन्छ’ भनिन्छ । दर्शक, श्रोता र शुभचिन्तकले प्रशंसा गरे पनि स्रष्टाहरुका मन बुझिरहेको हुँदैन । विनिता पनि त्यही असन्तोषीमध्येकी एक हुन् ।
उनले भनिन्, ‘ भन्नेले त राम्रै छ भनिदिनुहुन्छ । राम्रो गर्न सकेकी छैन । सुरुमा स्टेज प्रोग्राममा राम्रो गर्न चाहन्छु ।’ हुन पनि गीत, संगीत देखावटी र वास्तविकता फरक छ । ‘अहिलेको समय हामी स–साना हुँदाखेरी सुनिएको जस्तो गीत छैन । बजार अनि क्यासेट छैन । त्यत्ति बेलाजस्तो सजिलो पनि छैन,’ झोक्किने शैलीमा उनले भनिन्, ‘पैसा, बैंसा र छोटो लुगा लाउनेको जमाना छ ।’

पछिल्लो समय लोकसंगीतमा आएको विकृति, विसंगति हटाउन सबै एकजुट हुनुपर्ने भावना राख्ने गायिका विनिता जस्तै कठिन परिस्थितिमा पनि यस क्षेत्रमा जुध्न आफू तयार रहेको बताउँछिन् ।

लोकमा चिनारी बनाए पनि विनिता आफू सफल गायिका भन्न मन पराउँदिनन् । ‘सिक्दैछु, सिक्न धेरै बाँकी छ’, मौलिक गायनमा जोड दिने उनले रहर व्यक्त गरिन्, ‘अब स्वदेश गान गाउने मन छ ।’ कलाकार र कलाकारितालाई राज्यले सम्मान र सुरक्षा प्रदान गर्न नसकेकोमा अरु कलाकारको जस्तै विनिताको पनि असन्तोष छ ।

हरेक क्षेत्रमा लागेका मान्छेको अन्तिम लक्ष्य हुन्छ नै । लोकदोहोरी क्षेत्रमा भविष्य खोजिरहेकी विनिता गुरुङले पनि अबको इच्छा सुनाइन्, ‘लोकदोहोरी गायिका भनेर सबैसामु चिनाउने र असल गायिका बन्ने ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!