रविन भान्जा

SHARE:

चिम्खोले काइँला

बाबुआमा र रवीनले पनि पाहुनाको स्वागत सत्कार राम्रैसँग गरे । खुसी बाँडे । रवीनको दिन अब बाबुआमा र साथीभाइसँगको घुमघाममा बितिरहेको छ । युके पुगिसकेपछि रवीनका लागि छोरी दिनेहरूको संख्या ह्वात्तै बढेको छ । विशेषगरेर नेपालमै अड्केका छोरी दिन चाहनेको संख्या बढेको छ । खासमा रवीनसँग बिहेपछि आफ्ना छोरी पनि युके आउने निश्चित हुने तिनका बाबुआमाहरूको आशा छ ।

रवीन युके आइपुगेको पनि तीन महिना भइसकेको छ । सधैं बसेर, घुमघाम गरेर खान पुग्ने अवस्था पनि भएन । युकेमा काम नगरी खान पाइँदैन । सबैले केही न केही काम गरेकै हुन्छ । काम नभएकालाई स्थानीय सरकारले छोटो समयका लागि आश्रित भत्ता त दिन्छ तर दर्खास्त दिनुपर्छ । बाबुआमा भएका र उमेर पुगेकाका लागि यो पाउन सजिलो पनि छैन । आश्रित भत्ता दिनु साटो काम खोजिदिन्छ वा काम गर्न प्रोत्साहित गर्छ ।

युकेमा काम नपाउने पनि होइन तर ब्रिटिस आर्मी बाबुआमाका एक्ला छोरा, पुल्पुल्याइएको रवीन भान्जालाई सरसफाइ गर्ने, रेस्टुरेन्टमा भाँडा माझ्नेलगायतका काम मन पर्दैन । उनलाई त्यस्तो काम गर्न लाज लाग्छ । राम्रो काम पाउन उनको शिक्षाले भ्याउँदैन । यो रवीनको मात्र होइन, पढेलेखेका नेपालबाट पुगेका धेरै नेपालीको समस्या हो । अझ रवीनले जिन्दगीमा आजसम्म काम गरेकै छैन । बाबुआमाले कमाइदिएको उडाएकोमात्र छ । उसलाई आफूले बीएसस्सीसम्म पढेको त्यही झाडु लगाउनलाई, भाँडा माझ्नलाई हो ? भन्ने भइरहेको छ । थप पढांै भने पनि समस्या उस्तै छ । पहिलो त युनिभर्सिटीमा भर्ना पाउनै गाह्रो । पाइहालेछ भने पनि साह्रै महँगो छ, युकेको कलेज पढाइ ।

वीरबहादुरको जोइपोइको एउटा इच्छा त पूरा भयो, रवीन युके आइपुग्यो । तर, उनलाई तह लगाउन सकेनन् । यसैमा उनीहरू फेरि तनावमा परेका छन् । युके आएर पनि रवीन ‘घर न घाटको’ अवस्थामा छ । सानोतिनो काम गर्न मान्दैन, राम्रो काम गर्नका लागि सीप र अनुभव छैन । युकेको खुला समाजमा रवीनको बानी फेरि बिगँ्रदै गएको छ । रातभरि आफूजस्तै नेपाली केटाहरूसँग नाइट क्लब र बार चहार्ने अनि दिनभरि सुत्ने । बिचरा वृद्ध बाबुआमालाई छोराका लागि कमाइदिनेदेखि पकाएर खुवाउनेसम्मको जिम्मेवारी उठाउनुपरेको छ । जवान छोरा आवारा बन्न थालेको छ ।

वीरबहादुरका जोइपोइले बिहे गरिदिए कतै छोरा सुध्रेलान् कि भन्ने आशा लिएर नम्बरी कमलको प्रस्तावलाई स्वीकारे । कमलकी छोरी पुतली पनि रवीनजस्तै नेपालमै अड्केकी छन् । कमलले छोरीलाई युके झिकाउन हरसम्भव प्रयास गरिसके तर सफल हुन सकेको छैन । त्यसैले कमलले रवीनसँग बिहे गरिदिन पाए फेमिली भिसामा छोरी पनि युके आउन पाउने आशामा प्रस्ताव राखेका हुन् । कमल र वीरबहादुरको परिवार रवीनसँगै नेपाल गए ।

रवीन र पुतलीबीच धुमधामले बिहे भयो । वीरबहादुरले नजिकका नातेदार, इष्टमित्र, साथीभाइ सबैलाई छोराको बिहेको उपलक्ष्यमा काठमाडौंको पाँचतारे होटलमा भव्य पार्टी आयोजना गर्‍यो । सबैले रवीनलाई शुभकामना र आशिर्वाद दिए । वीरबहादुर, उनकी श्रीमती, रवीन, कमल र उनकी श्रीमती पनि पुतलीलाई छिट्टै युके बोलाउने आश्वासन दिएर फर्के । युके फर्केपछि रवीनलाई सबैले काम खोज्न सल्लाह दिएका छन् । तर, रवीनले काम गर्ने चाह देखाएकै छैनन् । पारिवारिक भिसामा श्रीमतीलाई युके ल्याउन अठार हजार पाँच सय पाउन्ड वार्षिक आम्दानी हुनुपर्छ । पुतलीलाई युके ल्याउनका लागि पनि रवीनले काम गर्नुपर्ने हो । बाबुआमा र सासुससुराले सम्झाए पनि । तर, रवीनले ठाडो कान लगाउँदैन । अरूको सल्लाह सुने नसुन्यै गरेका छन् ।

स्टुडेन्ट भिसामा आएर पनि धेरैले काम गरेर कमाएका छन् । रवीनसँग आवासीय भिसा भएर पनि कुनै काममा लागेको छैन । पुतलीलाई युके झिकाउन पनि सकेको छैन । रवीनको बानी झनै बिग्रन थालेको छ । ऊ दुव्र्यसनी बनेको छ । रक्सी खाने, ड्रग्स खाने, नाइट क्लब जाने र रन्डीबाजी गर्ने उसको बानी झनै बढेको छ । उसको आफ्नो कुनै कमाइ छैन । बाबुआमासँग पैसा माग्छ । नदिएमा झगडा गर्छ । बिचरा उमेर ढल्कँदै गएका बाबुआमासँग उसको सबै इच्छा पूरा गरिदिनसक्ने क्षमता पनि हुँदैन । बाबुआमाले मागेको पैसा दिन नसकेपछि भइपरिआउँदा चाहिन्छ भनेर साँचेको घरको पैसासमेत रवीनले चोरी गर्न थालेको छ । काम गरेर सुध्रने कुनै छाँटकाँट छैन । बरु गलत बाटो समातेको छ । चोरी र ठगीमा लागेका एसियालीमूलका युवाको गिरोहको सदस्य हुन पुगेको छ । यही सिलसिलामा एक दिन नाइट क्लबमा नेपाली भान्जा र गोराबीच झगडामा भयो । वीर गोर्खालीका छोरा नेपाली भान्जाहरूले खुकुरीले तीन–चारजना गोरालाई छप्काइदिए । अब उनीहरू भाग्नुको कुनै उपाय थिएन । रवीन र उनका साथी भान्जाहरू भागेर नेपाल पुगेका छन् । उनीहरूलाई ज्यानमारा अभियोगमा पुलिसले युकेमा खोजिरहेको छ ।

वीरबहादुर, उनकी श्रीमती, कमल र कमलकी श्रीमती अनि पुतलीको सपनामा रवीनको कार्यले पानी फेरिएको छ । रवीनको हाल जस्ताको तस्तै बनेको छ । यत्रो दुःख गरेर छोरालाई युके पुर्‍याए पनि फेरि भागेर नेपाल आइपुग्दा वीरबहादुरका जोइपोइलाई कम्ती पिर परेको छैन । युके जान पाउने सपनामा रमेकी पुतली र छोरीलाई युके ल्याउने आशामा रहेका कमल र उनकी श्रीमतीको पनि ज्वाईंका कारण इष्टमित्रलाई मुख देखाउन नमिल्ने भएको छ ।
रवीन एक प्रतिनिधि पात्र मात्र हो । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड’ भनेजस्तै आफूले पाएको अवसरलाई चिन्न नसक्दा धेरै गोर्खा र तिनका सन्तान ‘घरको न घाटको’ अवस्थामा पुगेको छ । जसले अवसरलाई सदुपयोग गर्न सक्यो, ती भूतपूर्व गोर्खा र तिनका सन्तानले धेरै पढेका छन्, राम्रो पढेका छन् ।

ब्रिटिस आर्मीमै कमिसनमा भर्ना भएका छन् । भूपू गोर्खा सैनिकले सामाजिक कार्य गरेका छन् । आफू परदेशमा रहेर पनि आफ्नो देश नेपालको विकासमा होस्टेमा हैंसे गरेका छन् । तर, रवीनजस्ता भान्जाहरूले बाउबाजेको त्याग, तपस्या, आन्दोलन र बलिदानबाट प्राप्त सुविधा दुरुपयोग गर्दा गोर्खाको मात्र होइन, सारा नेपालीको इज्जतलाई माटोमा मिलाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!