हाम्रो मुख्य उद्देश्य नेपाललाई नै मद्दत गर्ने हो : जुमकाजी गुरुङ

SHARE:

रामबजार सोसाइटी यूके सन् २००९ मा स्थापना भएको हो । कास्कीको पोखरा महानगरपालिका १०, १४ (साविक १८) र १५ नम्बर वडाबाट बेलायत आएका नेपालीहरुमा पर्ने समस्यामा मद्दत दिने र पुराना साथीहरुसँग भलाकुसारी गर्ने उद्देश्यले यो संस्था खडा गरेको थियो । जुन संस्थाका संस्थापकहरु डा.सीबी गुरुङ, रुपक गुरुङ, महेश गुरुङ, दुधराज गुरुङ, वर्षा थापा, रामबहादुर गुरुङ लगायत हुन् । सामुदायिक हितका स्थापित रामबजार सोसाइटी यूके १० वर्ष पुगेको छ । वर्तमान नेतृत्व समाजसेवी एवं सरल व्यक्तित्व जुमकाजी गुरुङले सम्हालिरहेका छन् । उनै अध्यक्ष गुरुङसँग ६ जुलाईमा अल्डरसटमा आयोजना हुने दसौं वार्षिकोत्सव कार्यक्रम लगायत विषयमा एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।
रामबजार सोसाइटी यूकेको दसौं वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?
रामबजार सोसाइटी यूकेको १० वार्षिकोत्सव शनिबार ६ जुलाईका दिन अल्डरसट एम्पायर हलमा मनाउन गइरहेका छौं । वार्षिकोत्सव भिन्नै किसिमले मनाउँदै छौं ।
के के छन् कार्यक्रमका आकर्षण ?
दस वर्ष पुगेको अवसरमा हामीले एउटा स्मारिका प्रकाशन गरेका छौं । त्यसको विमोचन हुनेछ । रामबजार सोसाइटी यूकेले गत १० वर्षमा भएका गतिविधि स्मारिका भित्र राखिएको छ । स्थापना भएकै वर्ष रामबजार सोसाइटी यूकेले पोखरा महानगरको १०, १४ र १५ नम्बर वडालाई सहयोगस्वरुप एउटा एम्बुलेन्स प्रदान गरेको थियो । त्यसलगत्तै एचआईभीग्रस्त साथीहरुलाई पौष्टिक आहाराका लागि दुहुना भैंसी पनि बाँडेका थियौं । अहिले ज्ञानज्योति वाचनालय पनि स्थापना गरेका छौं । वाचनालय पूर्वअध्यक्ष राम गुरुङ, सनमन गुरुङको सहयोगमा स्थापना गर्‍यौं । त्यसका लागि कम्प्युटर पनि दियौं ।
त्यस्तै युवाहरुलाई केही गरोस् भनेर रामबजार महोत्सव २०७० गरेका थियौं । महोत्सवले धेरै युवाहरुलाई समेटेको थियो । तीन वर्षसम्म रामबजार सोसाइटी यूकेको मद्दतले नै युवाहरुको उत्सव चलेको थियो । भ्याली फुटबल क्लबलाई पनि हामीले मद्दत गर्दै आएका छौं । त्यस्तै हरेक मठमन्दिरलाई पनि सहयोग गर्दै आयौं ।
गरिब, असहायहरुलाई रगत जरुरत पर्‍यो भने हाम्रा साथी मेखबहादुर गुरुङलगायतले ५० पोका रगतको प्रबन्ध पनि गरेका थिए । २०७२ सालको भूकम्पपीडितलाई पनि १ लाख अनुदान दिएका थियौं भने शमसेरी कान्छीका लागि २ लाख रुपैयाँको अक्षय कोष खडा गरेका थियौं मेरै नेतृत्वकालमा । कोषको सुरुआतचाहिँ सुवाससिंह गुरुङले गर्नुभएको थियो ।
त्यस्तै कल्याण शेरचन प्रतिष्ठानले गर्ने जति पनि प्रतिस्पर्धाहरुमा हामीले पुरस्कार प्रायोजन गरेर मद्दत पुर्‍यायौं ।
वार्षिकोत्सव कार्यक्रमको सेटअप कसरी गर्दै हुनुहुन्छ ?
कार्यक्रममा आजीवन सदस्य, उहाँहरुका परिवार, हाम्रा शुभचिन्तकज्यूहरु गरी २ सयभन्दा बढी आउनुहुनेछ । कार्यक्रममा संस्थाको स्मारिका विमोचन हुनेछ । त्यसका अलावा संस्थाको तर्पmबाट कदर पत्र दिने, सम्मान अलि अलि छन् । जेष्ठ नागरिकहरुलाई प्रशंसापत्र दिनुपर्‍यो भन्ने सोच्दैछु । साथै हाम्रा नानी केटाकेटीहरु उच्च शिक्षा प्राप्त गरेर अब नोकरीतिर लाग्नुभयो । उहाँहरुलाई सम्मान गर्ने कुरा छ ।
गायक कुलेन्द्र बिक बेलायतमै हुनुहुन्छ । उहाँलाई पनि संस्थाले बोलाएर मनोरञ्जन गराउने सुर छ । हाम्रा आजीवन सदस्यहरुबाट पनि एकदमै मनोरञ्जन प्रदान गर्ने योजना छ । स्थानीय हाम्रा कलाकार, कहिले पनि बिर्सन नहुने श्री दाइ पनि आउँदै हुनुहुन्छ । आजीवन सदस्य दिनेश गुरुङज्यूको नृत्य त छँदैछ । आशा छ, तीन घण्टाचाहिँ मनोरञ्जन दिइने छ ।
तपाईंहरुको कार्यक्रममा सहभागी हुन र च्यारिटीमा मद्दत गर्न चाहनेहरुका लागिचाहिँ के छ व्यवस्था ?
मन खोलेर आउनुहुन्छ भने अवश्य पनि उहाँहरुलाई स्वागत गर्नेछौं । कार्यक्रम आउन अब केही हप्ता बाँकी छ । मेरा नजिकका साथीहरुलाई आह्वान गर्ने सोचिरहेको छु । रामबजार सोसाइटी यूकेले राम्रो काम गरेको जस्तो लाग्छ भने जोसुकैले डोनेसन दिएर हामीलाई मद्दत गर्न सक्नुहुन्छ । हामीले अक्षयकोष स्थापना गर्ने हो । कार्यक्रम सकिएपछि यो पैसा कहाँ जाने, पठाउने भन्नेबारे अवगत गराउनेछु ।
थुप्रै परोपकारी काम गर्ने रामबजार सोसाइटी यूकेका सदस्य कति छन् ?
हाम्रा आजीवन सदस्य मात्रै ९७ नब्बे जना छन् । सबै परोपकारी काम उहाँहरुबाटै नै हुँदै आएको छ ।
यस्ता कामका लागि बाहिरबाट पनि सहयोग उठाउनुहुन्छ कि ?
एम्बुलेन्सजस्ता प्रोजेक्टका लागि आजीवन सदस्यहरुबाट उठाएर गर्‍यौं । ससाना योजनाका लागि अलि लागिपर्ने १०, १५ जना साथीहरुले हो दिने । यसरी यो संस्था चलिरहेको छ ।
बेलायतमै भएका रामबजारवासीका लागि के गर्नुभयो त ?
यहाँ राम्रो, नराम्रो घटना पर्दा संस्थाबाट के कति सकिन्छ, मद्दत गर्दै आएका छौं । हाम्रा दुई, तीनजना आजीवन सदस्य स्वर्गवास हुनुभयो । त्यसबेला संस्थाबाट मद्दत पुर्‍याएका थियौं । हाम्रो मुख्य उद्देश्य नेपाललाई नै मद्दत गर्ने हो । अहिले जेष्ठ नागरिक आउँदैछन् । संस्थाले हामीलाई केही पनि दिएको छैन । रामबजार जेष्ठ नागरिक मिलन केन्द्र भनेर पूर्वप्रधानाध्यापक महेश गुरुङज्यूको नेतृत्वमा खोलिएको छ । अहिले क्या.मान गुरुङले त्यसको अध्यक्षता गरिरहनुभएको छ । संस्थामार्फत केही गर्न सकेको छैन तर व्यक्तिगत रुपमा भने मद्दत गर्दै आएका छौं ।
अन्त्यमा केही भन्नुहुन्छ ?
रामबजार सोसाइटी यूके स्थापना भएको १० वर्ष पुगेको अवसरमा च्यारिटी रात्रिभोज आयोजना गरेका छौं । तर, निधो भइसकेको छैन कहाँ पैसा लगाउने भनेर । कुनमा राख्ने, कता राख्ने भनेर कुराकानी भइरहेको छ । के कति रकम संकलन हुन्छ, त्यो कार्यक्रम सकिएपछि थाहा होला । हाम्रो विचारचाहिँ एउटा अक्षय कोष स्थापना गर्ने छ ।

हामीले कसैलाई पनि निमन्त्रण गरेका छैनौं । हाम्रा आजीवन सदस्य र उहाँहरुका परिवारलाई मात्र निमन्त्रणा गरेका छौं । यस कार्यक्रमको प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीजी आउनुहुनेछ । रामबजार सोसाइटी यूकेका साथीहरु, पोखरेली मञ्च यूकेका अध्यक्ष हुनुहुन्छ मानप्रसाद गुरुङ उहाँहरु आउनुहुन्छ । विशिष्ट व्यक्तिहरु कसैलाई पनि निमन्त्रणा गरेका छैनौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!