हिजाेका संघर्षका कारण हामी जाेडिन पुग्याैं

SHARE:

कल्पना धमला
पूर्वमन्त्री एवं नेकपा नेतृ


पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्तिकी नेतृ कल्पना धमला गत बिहीबार औपचारिक रुपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरिन् । डा.बाबुराम भट्टराईले संघीय समाजवादीमा नयाँ शक्ति पार्टीलाई मिसाएर वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियान अन्त्य गरेको आरोपसहित नेतृ धमला, देवेन्द्र पराजुलीसहित दर्जन बढी नेता, कार्यकर्ता नेकपा प्रवेश गरे । विकास, समृद्धि, सुशासन, सदाचारको एजेन्डा हुँदै समाजवादमा जाने र समाजलाई अग्रगामी रुपान्तरण गर्ने बाटो नेकपा नै बन्न सक्ने निक्र्योलले पार्टीमा समाहित भएको नेतृ धमला बताउँछिन् । २०६४ सालको संविधानसभा निर्वाचनमा धादिङबाट प्रत्यक्षतर्फ विजय हासिल गरेर सभासदसमेत बनेकी धमलासँग पार्टी प्रवेश र आगामी राजनीति यात्राबारे एभरेस्ट टाइम्सका लागि टीकाराम तामाङले गरेको कुराकानी ।
तपाईंहरुको यो पार्टी प्रवेश कि पुरानै दलमा फिर्ती ?
यसलाई पहिलेकै पार्टीमा जोडियौं भनेर बुज्दा हुन्छ । किनभने हामी संविधान बनेपश्चात् व्यवस्था फेर्नका लागि संघर्ष जरुरी छैन, अब अवस्था फेर्ने हो । अवस्था फेर्नका लागि सुशासन, सदाचार, समृद्धिका लागि अहिले भएको निर्वाचन प्रणालीमा समेत केही परिमार्जन जरुरी छ भन्दै पूर्वमाओवादी छाडेर हामीले नयाँ शक्ति निर्माण ग¥यौं । नयाँ शक्ति, वैकल्पिक पार्टी समाजको अग्रगामी रुपान्तरण, आर्थिक समृद्धि र विकासका लागि जरुरी पनि थियो । आज पनि वैकल्पिक शक्ति जरुरी छ । तर, हामीले निर्माण गरेको पार्टी वैकल्पिक शक्ति बन्न सकेन । संघीय समाजवादी फोरमसँग एकता भइसकेपछि समाजवादी पार्टी निर्माण भएको छ । त्यो पार्टी नयाँ र वैकल्पिक शक्ति बन्न सक्दैन । होइन । विगतकै एउटै धरातलमा सबै पार्टीहरु पुगे । जसले गर्दा नयाँ शक्ति पार्टीले बोकेको विकास, समृद्धि, सुशासन, सदाचारको एजेन्डा हुँदै समाजवादमा जाने र समाजलाई अग्रगामी रुपान्तरण गर्ने बाटो अब नेकपा नै बन्न सक्छ । किनभने एउटा विचार, धरातलबाट प्रशिक्षित, जनमत प्राप्त पार्टी र वास्तविक एजेन्डा कार्यान्वयन गर्ने शक्ति, सत्ता सबै नेकपासँग भएकोले समाजवादमा पुग्ने, समाजलाई अग्रगामी रुपान्तरण गर्ने एजेन्डालाई नेकपाबाट अगाडि बढाउन सकिन्छ भन्ने महसुसका साथ हामी जोडिएका हौं । हिजो हामीले गरेका श्रम, सँगै संघर्षमा होमिएका साथी, नेता अधिकांश त्यहीं भएकोले हामी जोडिन पुग्यौं ।
एकताले पूर्णता नपाउनु, वैचारिक अन्योलताजस्ता भद्रगोल छ नेकपामा । यस्तो अवस्थामा तपाईंहरु जिम्मेवारीसहित अगाडि बढ्न सक्नु होला र ?
हेर्दाखेरी जताततै भद्रगोल छ । सरकारले पिकअप लिन नसकेको अवस्था पनि छ । तर यो बिग्रिएको, भत्किएको अवस्थालाई मात्र हेर्नुभन्दा पनि कसरी सच्याउन सहयोग गर्न सकिन्छ र हामीले कसरी योगदान गर्न सक्छौं भन्ने हो । हिजो संघर्षको एउटै मोर्चामा लागेका सशक्त युवाहरु सबै जुटेर नै अहिले देखिएको भद्रगोल, अस्थिरता अन्त गर्न सकिन्छ र गर्नुपर्छ । पार्टीको रुपान्तरणसँगै समाजको रुपान्तरण सम्भव छ भन्ने हामीलाई विश्वास छ । जिम्मेवारीको हिसाबले पनि हामी हिजो पूर्वमोटो मशाल हुँदै माओवादी स्कुलबाट आएका र बीचमा वैकल्पिक शक्ति बनाउने भनेर पार्टी निर्माण गरेको, कसैले बनाएको पार्टीमा घुम्दैफिर्दै जोडिएको पनि होइन । नयाँ शक्तिको इन्डिङ भइसकेपछि समाजवादी पार्टीमा हामी प्रवेश नै गरेनौं । त्यहाँ जोडिँदै जोडिएनौं । र, त्यहाँ समाजवादी पार्टीको घोषणा अगावैदेखि जब नयाँ शक्ति पार्टी इन्डिङ भएर पार्टीहरु एउटै धरातलमा पुगेपछि । एउटै फुटबल मैदानमा पुगेपछि त्यो मध्ये कुन उपयुक्त हुन्छ भन्ने सोचाईमा पुगिराखेकै थियौं । त्यही प्रक्रियाबाट हामी अहिले नेकपामा जोडिएका छौं । हिजो हामी सँगैका साथीहरु जुन जिम्मेवारीमा हुनुहुन्छ । लिनुहुन्छ । त्यो जिम्मेवारी हामीले पनि पाउनेछौं । त्यही जिम्मेवारीबाट हामी अगाडि बढ्छौं । राजनीति नै गर्छौं । सक्छौं भन्ने विश्वासले नै जोडिएका छौं ।
नेकपाले मुलुकको नेतृत्व र रुपान्तरण गर्ने विश्वासले प्रवेश गरिरहँदा ‘जता काफल पाक्यो उतै चरी नाचेउ’ भन्ने डा.बाबुराम भट्टराईले टिप्पणी गर्नुभयो, त्यस्तै त ?
डा.बाबुराम भट्टराई यो देशलाई चाहिने मान्छे हो । उहाँ बौद्धिक मान्छे । विकास र समृद्धिको चित्र कोर्न र गोरेटो नै कोर्न सक्ने मान्छ । यो बारेमा उहाँलाई सम्मान गर्छौं । तर, राजनीतिक छुद्रता, आरोप, प्रत्यारोपले उहाँको स्थान के हो भन्ने कुरा अझ गिराइदिएको छ । राजनीतिमा अलिकति कमनसेन्स त लगाउनु पर्छ । चुनावको बेला फड्को मार्दा त्यस्तो आरोप लगाउन पनि सकिन्छ । तर, अहिले चुनाव पनि छैन । पार्टी लगभग कार्यविभाजनमा गइसकेको छ । यो अवस्थामा जता काफल पाक्यो उतै चरी नाचेउ भन्ने मूर्खतापूर्ण कुरा हामी गर्छौं र ! जब उहाँले नयाँ शक्तिको बाटो अन्त्य गर्नु भएपछि, वैकल्पिक शक्ति बीचमै मार्नुभएपछि, आफूले रोपेको बेर्नालाई गोडमेल गर्ने, जोगाउने, हुर्काउने र अगाडि बढाउने दृढता र आँट नराखेर बेला बेलामा अस्थिर हुने गर्नुभयो । उहाँले गोर्खा २ नम्बर निर्वाचन क्षेत्र पाउनु भएको भए त हामी एक वर्षअघि नै नेकपा भइसक्थ्यौं । उहाँ जानुभयो, त्यतिबेला पनि ठीक गर्नुभएन भनेका थियौं । त्यो घटनाक्रमलाई नहेरी टिप्पणी गर्नु के मानसिकता हो म बुझ्न सकिरहेकी छैन । उहाँलाई म धेरै तल गिरेर पनि आलोचना गर्न चाहन्न । उहाँ जत्तिको मान्छेले त्यस्तो नभन्दा राम्रो हुन्छ ।
जनयुद्धका बेला र विभिन्न पार्टीमा रहँदा जनतालाई बाँड्नुभएको सपना, जनआकांक्षा पूरा गर्न नेकपामा कसरी अगाडि बढ्ने सोच लिनुभएको छ ?
नेकपा भनेको हिजोको माओवादी, एमाले पार्टी होइन । अहिलेको नेकपा भनेको नेपाल कम्युनिस्ट पार्टी हो । जसले राम्रो महसुस गरेर नयाँ विचारलाई अगाडि सारेको छ ‘जनताको जनवाद’ । त्यो वैचारिक धरातलमा उभिएर जनतालाई सुशासन, समृद्धिको बाटो हुँदै समाजवादमा पुर्याउने कुरा छ । समाजवाद भनेको जनतालाई दिने डेलीभरी हो । त्यसका लागि पार्टीभित्र बहस चल्छ । पार्टी रुपान्तरणमा जानै पर्छ । अब मुलुकलाई अगाडि लाने र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसहितको समुन्नत समाज निर्माण गर्ने र समाजवादमा लाने कार्यभार नेकपाको काँधमा छ । सरकार, सबै ठाउँमा नेतृत्व गरिरहेको हुँदा त्यो कार्यभार छ । त्यो कार्यभार पूरा गर्नका निम्ति पार्टीभित्र गम्भीर बहस, छलफल चल्छ र यो मुलुकलाई निकास दिन्छ । दिनुपर्छ । त्यो यात्रामा म सधैं लागिरहनेछु । राजनीतिक हिसाबले केही एजेन्डा स्थापित भए पनि जनतालाई डेलीभरी दिनेमा पुगिराखेको छैन । त्यो गर्नै पर्छ । लानैपर्छ ।
यत्रो जनमत प्राप्त सरकारले गतिसहित काम गर्न नसक्नुलाई चाहिँ कसरी मूल्यांकन गर्नुभएको छ ?
एकपक्षीय रुपमा मात्रै समाज अगाडि बढ्दैन । कर्मचारी र सरकारको सम्बन्ध अन्योन्याश्रित नै हुन्छ । त्यो भूमिका सम्पन्न गर्न नागरिक, सरकार, पार्टी, नेता, नेतृत्व, कर्मचारी लाग्नु पर्छ । पहिलो कुरा त, म यो देशको नगारिक हुँ । नागरिक भएर मैले के पाउनु पर्ने, आफू पोजिसनमा रहेर के दायित्व पूरा गर्नुपर्छ भन्ने कम्प्यारिजन गर्यो भने यो समाज अगाडि लान गाह्रो छैन । म पाँच महिना मन्त्री हुँदा गर्न चाहेँ सकिन्छ भन्ने कन्फिडेन्स बटुलेँ । अर्को राष्ट्रसेवकको नाममा कर्मचारीहरुले के गरिराछन् भन्ने कमजोरी पनि फेला पारेँ । यी दुई कुरामा कहीं न कहीं ल्याबसेस छ । कर्मचारीको इमानदारिता, उनीहरुको दक्षता पनि उत्तिकै आवश्यक छ । यो पनि पूर्ण रुपले छ भन्ने होइन । त्यसकारण सरकारको प्रभावकारिता देखा परिरहेको छैन ।
अर्को कुरा सरकारमा रहनुभएका मन्त्रीहरुले पनि विषयवस्तुलाई अलि वर्कआउट गरेर पेस गर्न कहीं न कहीं ल्याबसेस छ कि भन्ने मेरो अनुभूति छ । यो कुरामा पार्टी, सरकारले कुनै पनि एजेन्डा, विषयवस्तुको गम्भीर अध्ययन गर्ने, छलफल गर्ने र त्यसको प्रभावकारी ढंगले अगाडि बढाउने, कर्मचारीहरुले राष्ट्रसेवक नाम होइन आत्मसाथ गरेर काम गर्ने हो भने यो देश अगाडि बढाउन, विकास गराउन गाह्रो छैन । सम्भव छ, सकिन्छ भन्ने नै मेरो धारणा हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!