नेपालमा लगानीको प्रशस्त अपरच्युनिटी छ – क्याप्टेन भुवन सिंह गुरुङ

SHARE:

२३ वर्षको ‘लाहुरे जीवन’ बिताएर भुवन सिंह गुरुङले क्याप्टेनको दर्जाबाट अवकाश लिए । उनीजस्तै अवकाशप्राप्त कैयन भूपू गोर्खा आर्मीहरु बेलायतमै सेटलमेन्ट भएका छन् भने केही नेपाल आउजाउ गर्छन् । तर, घान्द्रुकमा जन्मेका क्या. भुवन सिंह प्रवासमा बसेनन् । उनमा मातृभूमि नेपालमै केही उद्यम गर्ने जोस चल्यो । नेपाल फर्कनेबित्तिकै कास्कीको पोखरामा पहिलोपटक मिटर ट्याक्सी कम्पनी खोले । त्यो व्यवसाय लामो समय टिकेन ।

भर्खर भर्खर फोर्सबाट उम्केका भुवन सिंहमा जोस, जाँगर कमी थिएन । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं उनलाई केही साथीहरुबाट वित्तीय क्षेत्रमा प्रवेश गर्ने प्रस्ताव आयो । जसको फलस्वरुप आजभन्दा २३ वर्षअघि अर्थात् २०५३ सालमा कास्कीको न्यूरोडमा पोखरा फाइनान्स लिमिटेड खोले १० जना मिलेर । दुई दशक पार गर्दा ४७ हजार सेयरधनी, ५८ जना प्रमोटर र ८५ करोड चुक्ता पुँजी बनिसकेको छ पोखरा फाइनान्समा । शाखामात्रै २३ वटा छन् ।

बेलायती सैनिक जीवनमा कर्मठ योद्धाका रुपमा परिचित भुवनसिंहले वित्तीय क्षेत्रमा पनि सफलता पाए । स्पष्ट दृष्टिकोण, सोचका उनी बौद्ध अर्घौ सदन, ६ जिआर गोर्खा राइफल्स एशोसिएसनको अध्यक्ष पद सम्हालिरहेका छन् । नेपालमा कृषि, पर्यटन, हाइड्रो लगायत क्षेत्रमा लगानीको वातावरण र सम्भावना रहेको सन्देश दिने क्याप्टेन भुवन सिंह गुरुङसँग बेलायत भ्रमणका अवसरमा विविध विषयमा एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।

बेलायत कहिले आइपुग्नुभयो ?
पाँच हप्ताको लागि गएको जून २९ तारिखमा यूके आएको हुँ । अब अगस्ट ४ तारिख फर्कने फ्लाइट छ ।
भूतपूर्व गोर्खाहरु ९० प्रतिशतको हाराहारीमा बेलायत लगायत विभिन्न मुलुकमा बस्दै आएका छन् । तर, तपाईं अवकाशपश्चात् नेपाल नै फर्किनुको कारण ?
सन् १९९२ मा हङकङबाट डिफेन्स कट गर्ने भए पछि म सुरुको लटमा नेपाल गएँ । विदेशको नोकरी कति गर्ने ? स्वदेशमै केही गरौं भनेर आँट लिएर बसेँ । सुरुमा पोखरामा एउटा समूह मिलेर ट्याक्सी कम्पनी दर्ता गर्‍यौं । मिटर ट्याक्सी सबभन्दा पहिला हामीले भित्र्याएका हौं । तर, केही अन्तरालमै साथीहरु कोही जीआरयूमा गए, कोही हङकङ, कोही यूकेतर्फ आए । हामी तितरबितर भइसकेपछि ट्याक्सी कम्पनी बन्द गर्‍यौं । त्यसपछि फाइनान्सपट्टी लागेको हुँ ।
फाइनान्स स्थापना भएको कति वर्ष भयो ?
पोखरा फाइनान्स लिमिटेड २३ वर्ष लाग्यो । सन् १९९६ (बि.सं. २०५३ ) मा पोखरा फाइनान्स स्थापना गरेका हौं ।
यत्ति लामो अवधिमा वित्तीय क्षेत्रमा कस्तो परिस्थिति सामना गर्नुपर्‍यो ?
केही व्यवसाय गर्दा सुरुमा दर्ता गर्नुपर्ने हुन्छ । लवाईखुवाई देखेर भूपू आर्मी भन्ने चिनेपछि रजिस्ट्रेसनकै क्रममा हामीलाई अल्झाउने गर्छ प्रशासनले । कुनै पनि भूपू सैनिक, आदिवासीहरुले केही व्यवसाय गर्दा धेरै झमेलाहरु ब्यहोर्नु पर्ने मैले महसुस गरेँ । हामीले फाइनान्सको लाइसेन्स लिँदा झमेला बेहोर्‍यौं । तर, अहिले सजिलो हुँदै गएको छ ।
फाइनान्स नै खोल्नुपर्छ भन्ने सोच कसरी विकास भयो ?
मैले फाइनान्स पढेको पनि होइन, सोच पनि थिएन । केही सिभिलियन साथीहरुले फाइनान्स कम्पनीको स्कोप छ, पब्लिक लिमिटेड भएकोले एक, दुई जनाले हुँदैन । मिलेर खोलौं भन्ने प्रस्ताव ल्याउनुभयो । साथीहरुले हामी पनि पढेका त हौं, सटिफिकेट छ, काम गरेको अनुभव छैन । गर्दै जाँदा सिकिन्छ भन्नुभयो । त्यसपछि राम्रै होला भनेर फाइनान्सतर्पm लागेँ । अहिलेसम्म राम्रै छ ।
सुरुमा सेयरधनी र लगानी कति थियो ?
सुरुमा हामी १० जना प्रमोटर थियौं । सबैले ६, ६ लाख सेयर हालेर ६० लाखबाट चुक्ता पूँजी राखेर सुरु गर्‍यौं । २२ वर्षपछिको कम्पनीको ग्रोथ ठूलै भएको छ । अहिले झन्डै ८६ करोड चुक्ता पूँजी भएको छ । एकैचोटी होइन, दुई, तीन वर्ष गरेर चुक्ता पुँजी बढाउँदै लगेका हौं । अहिले पब्लिक सेयरधनी ४७ हजार पुगेको छ । प्रमोटरहरु ५८ जना भएको छ ।
यो फाइनान्स कुन श्रेणीको हो ?
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकिङ क्षेत्रमा सहकारीबाहेक तीन तहका फाइनान्सियल इन्स्टिच्युुसनहरु हुन्छन् । ‘क’ वर्गको बैंकहरु कमर्सियल हुन् । ‘ख’ वर्गका बैंकहरु विकास बैंक हुन् । ‘ग’ वर्गका कम्पनीहरु फाइनान्सहरु हुन् । पहिले ‘ए’, ‘बी’, ‘सी’ क्लासका लागि फरक फरक ऐन थिए । पछिल्लो समय राष्ट्र बैंकले छाता ऐन ल्यायो ।

यी श्रेणीअनुसार फरक भनेको पुँजी हो । ‘ए’ क्लासको कम्पनी वा बैंकमा पुँजी धेरै हुन्छ । ‘बी’ क्लासको मिडल खालको हुन्छ र ‘सी’ क्लासको अलि कम । हाम्रो ‘सी’ क्लासको फाइनान्स लिमिटेड हो ।
पोखरा फाइनान्सले सरकारलाई वार्षिक कति कर बुझाउँछ त ?
हामीले सरकारलाई दुई किसिमबाट ट्याक्स बुझाउँछौं । एउटा करपोरेट ट्याक्स भन्छौं । मुनाफा आर्जनबापतको कर ३० प्रतिशत छ । वर्षमा ६ करोड बराबर सरकारलाई बुझाउँछौं ।

अर्को, डिपोजिटरले बैंक वा फाइनान्समा पैसा जम्मा गरेपछि पाकेको ब्याजमा कर लगाउँछ । कर भुक्तानी गर्ने बेलामा डिपोजिटरबाट कटौती गरेर तिर्नुपर्छ । ३, ३ महिनामा एकमुष्ट बनाउँदै सरकारलाई कर बुझाउनुपर्छ । दुई थरिका करबाट हरेक वर्ष ७–८ करोड सरकारलाई हाम्रो योगदान छ ।
फाइनान्सको शाखा कहाँ कहाँ विस्तार गर्नुभयो ?
हाम्रो फाइनान्स कम्पनी राष्ट्रियस्तरको भएको हुँदा नेपालभरीका जिल्लामा शाखा खोल्न पाइन्छ । अहिले २३ वटा शाखा पुगेका छन् । अधिकांश शाखाहरु पोखरा सेरोफेरो खोलिएका छौं । ग्रामीण क्षेत्रमा पनि खोलेका छौं । घान्द्रुक, कास्कीको नयाँ पुलमा, लाहचोकमा शाखा खोलेका छौं । बाँकी शाखाहरु गण्डकी प्रदेशलाई मध्यनजर राखेर कास्कीको भण्डारढिकमा, तनहुँको डुम्रेमा, लमजुङको बेंसीसहरमा, गोर्खाको पालुङटारमा, काठमाडौंको गोगंबुमा, ललितपुरको कुमारीपाटीमा र खिचापोखरीमा ।

चितवनमा नारायणघाट र शारदानगरमा र नवलपरासीमा पनि शाखा छ । बुटवल, भैरहवा, स्याङ्जा र रामेछापमा गरी २३ वटा शाखा छन् ।
कति जनालाई रोजगारी प्रदान गर्नुभएको छ ?
कुल १ सय ५९ कर्मचारी छन् । १ सय ११ जना स्थायी, ४८ जना करारवाला कर्मचारी छन् ।
पोखरा फाइनान्सका प्रमोटरहरुमा भूतपूर्व गोर्खाहरुको कति सहभागिता छ ?
यस फाइनान्समा मेजोरिटीमा पोखरेली छौं । पोखरेलीमा पनि भूपू सैनिक र गुरुङहरु छौं ।
ब्याज र अन्य के के सुविधाहरु दिँदै आउनुभएको छ ?
साधारण बचतकर्ताले एउटा फिक्स र अर्को सेभिङ डिपोजिट गर्न पाउँछन् । फिक्समा साढे १० प्रतिशत ब्याज छ अहिले । साधारण बचतमा ७ प्रतिशत हाराहारीमा छ । अर्को कल डिपोजिट भन्ने हुन्छ । त्यो व्यापारीहरुले मात्रै प्रयोग गर्ने खालको हो । कर्जा लिँदा लेन्डिङ गर्नुपर्ने हुन्छ । निश्चित रुपमा कमर्सियल बैंकको भन्दा अलि बढी ब्याज पर्छ । फाइनान्सले बैंकले भन्दा डिपोजिटरलाई एक प्रतिशत, प्वाइन्ट ५ प्रतिशत ब्याज पनि बढी दिएको हुन्छ । धेरै दिएपछि खरिद महँगोमा पर्‍यो नि ! ऋण लिँदा पनि एक प्रतिशत, प्वाइन्ट ५ प्रतिशत बैंकहरुको भन्दा महँगो पर्छ ।

हामी पनि बैंकहरुजस्तै कम्पिट गरिरहेका छौं । डिपोजिटमा लिने ब्याज र लेन्डिङमा लिने ब्याज अन्तर पाँच प्रतिशतभन्दा फरक हुनु हुँदैन । त्यसलाई बैंकिङ टर्मिनोलोजीमा ‘स्प्रेड रेड’ भनिन्छ । डिपोजिटमा १०, सेभिङमा ७ प्रतिशत मात्रै ब्याज छ । अरु पनि स्कीम हुन्छन् । एभरेजमा ९ प्रतिशत भयो ।

हाईमा १०, लोमा ७ पनि । लोनमा पनि सबै शीर्षकमा फरक फरक रेट हुन्छ । कुनैमा १२, कुनैमा १३ दियौं होला भने कुनै १६ प्रतिशत । एभरेज निकाल्दा १४ प्रतिशत भयो । डिपोजिटको ९ प्रतिशत र लेन्डिङको १४ भनेको ५ प्रतिशत डिफरेन्स भयो । त्यो राष्ट्र बैंकले मनिटरिङ गरेको हुन्छ । त्यो भन्दा बढी ग्याप हुनेगरी दिन पाउँदैन ।
नेपालका सबै ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुग्न सकिरहेको छैन नि ?
सहरमा प्रायः पर्याप्त भइसकेको छ । राष्ट्र बैंकले ग्रामीण क्षेत्रका जनताले जहिले पनि बैंकिङ सेवा उपभोग गर्न पाएन भन्छ । त्यही भएर राष्ट्र बैंकले सहरमा ब्रान्च खोल्नु पर्‍यो भने हत्तपत्त एप्रुभल दिँदैन । ग्रामीण क्षेत्रमा ब्रान्च खोल्यो भने एप्रुभल लिनु पर्दैन । ब्रान्च खोल्ने जानकारी गराए हुन्छ । ग्रामीण क्षेत्रमा जान आफ्नै खालका अप्ठयाराहरु छन् ।

जहाँतहीं भेहिकल एक्सेस हुँदैन । बचतकर्ता, लोन लिनेले ब्याज तिरेर पैसा थुप्रियो भने हेड अफिस वा ठूला बैंकमा लानै पर्‍यो । धेरै बचतकर्ता आए, ऋण दिनुपर्‍यो भने त लानु पर्‍यो । भेइकल इजि एक्सेस एउटा समस्या हो ।

अर्को सेक्युरिटीको प्रबलम हुन्छ । बैंकको सेक्युरिटी त हुन्छ । तर नजिक पुलिस स्टेसन, चौकी भयो भने अलि ढुक्क हुन्छ । अर्को ग्रामीण क्षेत्रमा खुद्रा पैसा मात्र अलि अलि हुन्छ । ठूलो पैसा टनओभर हुँदैन । त्यही भएर हत्तपत्त बैंकहरु जान चाहँदैन । तर, राष्ट्र बैंकले जाउ जाउ भनेर इन्करेज चाहिँ गर्छ ।
बेलायत विभिन्न देशमा रहेका भूतपूर्व गोर्खाहरु बैंकिङ लगायत क्षेत्रमा लगानी गर्न चाहिरहेका होलान् । सम्भावना कस्तो छ, के सुझाव दिनुहुन्छ ?
अब नयाँ बैंकिङ कम्पनी खोल्न दिँदैन । किनभने नेपाल सरकारको एउटा नीति आउँछ । अर्को गभर्नर आउनेवित्तिकै ती सबै चेन्ज गरिदिन्छ । पहिलेका गर्भनरले भटाभट लाइसेन्स दिए । जसकारण ३५ हाराहारीको संख्यामा कमर्सियल बैंक पुगे । ८० वटा हाराहारीमा विकास बैंकहरु थिए । त्यत्ति नै संख्यामा फाइनान्स कम्पनीहरु । यो धेरै भयो । यसो भएमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ । ओभरहेड कस्ट बढी पर्छ । सबैले आआफ्नो शाखा खोल्नु पर्‍यो । सबैको सिईओ हुनुपर्‍यो । त्यसैले यसलाई मर्ज गर्‍यो भने सिईओ २ को ठाउँमा १ जना भए पुग्यो । अफिसहरु पनि मर्ज भएमा कम भए पुग्ने भो । ओभरहेड कस्ट घट्छ भन्ने कारणले बैंक धेरै भएकोले मर्ज गर, मर्ज गर भनिराखेको छ । भइरहेका बैंकहरु मर्ज पनि गर्दैछन् । कमर्सियल बैंकहरु करिब ३० मा झरेको छ । विकास बैंकहरु २५ हाराहारीमा झरेको छ । ८० वटा फाइनान्सबाट १९ वटामा झरेको छ । अझै पनि राष्ट्र बैंकले घटाउन इन्करेज गरिराखेका छन् । बैंकिङ क्षेत्र राम्रो हो । सेकेन्डरी मार्केट भनिन्छ । तर नयाँ खोल्न नपाइने भयो । भइरहेको कम्पनीबाट आफूलाई ठीक लागेको कम्पनी एनालाइसिस गरेर सेकेन्डरी मार्केट त्यहाँ लगानी गर्न सकिन्छ ।

कुनै कुनैले फाइनान्सियल म्यानेजमेन्ट आफूले गर्न जानेको छैन भने कुनै कम्पनीलाई जिम्मा दिने गर्छ । उदाहरणका लागि म सँग ५० लाख छ । कुनै बैंक, कुन क्षेत्रमा लगानी गर्दा रिटर्न दिन्छ । म्यानेजमेन्ट गरिदेउ भन्ने । उनीहरुले विभिन्न बैंकहरुको सेयरमा लगानी गरिदिन्छ । कति नाफा पाउने हो सेयरधनीले लिन्छन् । त्यो नाफा गराइदिएबापत उनीहरुले सर्टेन प्रतिशत कमिसन खान्छ । कसैलाई नलेज र समय छैन भने फन्ड म्यानेजमेन्ट गर्ने कम्पनीहरुले त्यो गरिदिन्छ ।
अरु सम्भावना, नेपालको हकमा राम्रो पर्यटन नै भनिन्छ । २०२० त नेपाल भ्रमण वर्ष नै भनिराखेको छ । जुन सरकारले घोषणा गरेको हो । मार्केटिङ र प्रमोशन पनि गरिराखेको छ ।

अब नेपालमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि करिब करिब अन्तिम अवस्थामा पुगेको छ । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हो । यी विमानस्थलहरु तयार भएपछि विदेशमा आउने साथीहरुलाई पनि दिल्ली, दोहा लगायत ठाउँबाट काठमाडौंमा झर्न परेन । सिधै पोखरा वा भैरहवा जान पाउने हुन्छ । हामीलाई पनि सजिलो हुन्छ । मलाई लाग्छ, पर्यटक पनि अहिलेको भन्दा धेरै वृद्धि हुन्छ । त्यसैले पर्यटन एकदम स्कोप छ । पोखराको लेकसाइडको होटलले थेग्न सक्दैन । चाइना र इन्डियाको प्वाइन्ट समथिङ प्रतिशत पर्यटकहरु आएमा पोखराको होटलहरुले
धान्न सक्दैन ।

कृषितिर पनि सम्भावना छ । धेरै ठूल्ठूला कुखुरा फार्महरु, भैँसीपालन, गाईपालन गरिरहेको छ । वायोग्याँस प्लान्टहरु, कृषि क्षेत्रमा लगानी गर्‍यो भने सरकारले अनुदान पनि दिन्छ । खेतहरु बाँझो राख्न नपाउने भन्ने छ । पर्यटन, बैंकिङ, हाइड्रो इलेक्ट्रिसिटी पावर सम्भावना छ । जे काम गरे पनि ठूलो भोलुममा गर्नुपर्‍यो ।
तपाईं बौद्ध अर्घौ सदनको अध्यक्ष पनि हुनुहुन्छ । सदनले बहुआयामिक भवन निर्माण गरिरहेको छ, यसबारे जानकारी दिलाइदिनु न ?
बौद्ध अर्घौं सदन ४० वर्ष पुरानो संस्था हो । ४० वर्षअघि बनाएको गुम्बा सानो भयो र भूकम्पले पनि क्षति पुर्‍यायो । जीर्ण पनि भयो । अहिले गाउँ क्षेत्र शून्य भइसक्यो । सहरमा मान्छे बढे । गुम्बा एकदमै साँघुरो भयो । अर्को गुम्बा आवश्यक छ भन्ने सबैलाई महसुस भयो । पुरानोलाई मर्मत गरेर यथावत् राख्ने र नयाँ गुम्बा पनि बनाउने भन्ने सरसल्लाह र निर्णय भएपछि अर्थ संकलन गर्‍यो । सुरुको बजेट अनुमान १० करोड थियो । अब १० करोडले पुग्दैन । किनकि सामानहरुको मूल्य बढ्यो । कामदारको ज्याला बढ्यो । पैसा पनि राम्रो उठ्यो । अहिलेसम्म सवा ११ करोड पैसा उठाउन हामी सफल भयो ।

भवन तीन तले हुन्छ । भूईतलामा मल्टिप्रपोज हल हुन्छ । ४ सय मान्छे अट्न सक्छ । बहुउद्देश्यीय भन्नाले ध्यान केन्द्र हुन सक्छ । व्रत बस्ने, मिटिङ, सेमिनारहरु, पाटीहरु हुनसक्छ । पहिलो तलामा मुख्य पूजाहल हुनेछ । त्यसमा पनि करिब ४ सय मान्छे अट्छन् । सबभन्दा माथिको तलामा तीनवटा साना हलहरु हुनेछन् । एउटामा आर्ट ग्यालरी हुन्छ, बुद्धिजममा प्रयोग गरिने सामग्रीहरु मात्रै हुन्छ । एउटा पुस्तकालय हुन्छ, जसमा बुद्धिजमबारेका पुस्तक हुन्छन् । अर्को सानो पूजाहल हुन्छ । टोटलमा १५ हजार स्क्वायर फिट छ । अहिले करिब ७० प्रतिशत काम भइसकेको छ । मुख्य भवनको संरचना तयार भयो । सिभिल वर्क असोजभित्र सकाउने भन्ने छ । तर, मूर्ती, पिल्लर, विममा हालिने बुट्टाहरुमा टाइम लाग्छ । रंग लाउन पनि उत्तिकै टाइम लाग्छ ।
लगभग कहिले सकिन्छ यो परियोजना ?
हामीले ०७७ सालको कार्तिकसम्म सकिन्छ भन्ने हामीले आसा गरेका छौं ।
तपाई सिक्स गोर्खा राइफल्स एसोसिएसनको अध्यक्ष पनि हुनुहुन्छ । यो एशोसिएसन स्थापनाको उद्देश्य र यसले नेपालमा के कस्ता कामहरु गर्दै आएका छन् ?
हाम्रो फाइनान्स कम्पनी र सिक्स गोर्खा राइफल्स एशोसिएसन एउटै वर्षमा स्थापना भएको हो । त्यतिबेला हामी धेरै भूपू सैनिकहरु नेपालमै थियौं । सिक्स जीआर र टु जिआर मर्ज भएसकेपछि सिक्स जीआर त रहेन । त्यसैले इतिहास जीवन्त राख्ने हाम्रो मूल उद्देश्य हो सिक्स गोर्खा राइफल्स एशोसिएसन स्थापनाको । यसले वर्षमा एकपटक भेटघाट गर्ने, सारै दुःख पाएका भूपूहरु हुनुहुन्छ भने उहाँहरुका वेलफेयरसम्बन्धी काम गर्ने उद्देश्यहरु लिएर संस्था स्थापना गरेका हौं । म स्थापनाकालदेखि नै छु । सुरुमा सचिव थिएँ । अहिले अध्यक्ष छु ।

बेलायती आर्मीमा भर्ना सुरु भएको २ सय वर्ष पुगेको अवसरमा हामीले २०१७ मा नेपालमा ठूलो कार्यक्रम गर्‍यौं । बेलायतबाट पनि परिवारसहित सय जनाजति जानुभएको थियो । हामी नेपालबाट, दार्जिलिङ, भारतबाट आएर भव्य रुपमा मनायौं । अहिले अधिकांश हाम्रा दाजुभाइहरु बेलायतको सेटलमेन्ट भिसा पाएकाले यता आउनुभयो । कोही नेपाल जाने आउने गर्नुहुन्छ । अब हामीले सोच्ने बेला आएको छ । अब संस्था के गर्ने ? किनकि उहाँ (नेपाल) मा धेरै कम अवस्थामा छौं । कोही धेरै वृद्ध अवस्थामा पुग्नुभयो । एशोसिएसनले गर्ने कार्यक्रममा आउन नसक्ने भइसक्यो । जेहोस् अहिलेसम्म हामीले कम संख्यामा भए पनि संस्थालाई परिचालन गरेका छौं ।

अर्को कुरा, केही वर्षपछि सिक्स जीआरका मान्छेहरुले उमेरका कारण यो धर्ती छोडेर जान्छन् । त्यसपछि सिक्स जीआर भन्ने कहीं केहीमा पनि देखिँदैन । त्यसकारणले यूकेका गोरा साब कर्नल मेकेन्ले भन्ने हुनुहुन्छ, उहाँको कन्सेप्ट हो, नेपालमा एउटा सिक्स जीआर मेमोरियल बनाउनुपर्‍यो । त्यो ठूलो पहरामा चट्टानमा हाम्रो सिक्स जीआरको ब्याच, ब्याटल अनर बनाउने । सिक्स जीआरमा दुई जना भीसी साबहरु हुनुहुन्थ्यो । क्या.माइकल आलमान र कुलबहादुर पुन भीसी । उहाँहरुको इमेजहरु खोपेर बनाउने । त्यो कन्सेप्ट राम्रै लाग्यो । हामी त्यस सम्बन्धमा धेरै पटक मिटिङ बसिसक्यौं । उहाँहरुले सकेसम्म ग्रामीण क्षेत्रमा बनाउन भन्ने सुझाव दिनुभएको छ । कतिपय ग्रामीण क्षेत्रमा गएर कसले मेन्टेनेन्स गर्ने, सहरमा गर्नुपर्‍यो । त्यहाँ हेर्न पनि जान्नन्, सहरमा मर्मत गर्न पनि सजिलो भनिरहेका छन् । फाइनालाइज्ड भा’छैन । यो ढिलोचाँडो फाइनालाइज्ड हुन्छ । यो प्रोजेक्ट अघि बढ्यो भने सबै मरिसके तापनि त्यो रहिरहनेछ ।
अन्त्यमा केही भन्न चाहन्छ ?
म बेलायतमा बेला बेलामा आइराखेको हुन्छु । बेलायतको जीवनशैलीबारे अलि अलि बुझेको छु । साथीभाइहरुबाट सुनिएअनुसार विशेषगरी यहाँका वृद्धवृद्धाहरुलाई एकदमै गाह्रो छ । सबभन्दा उहाँहरुलाई भाषाको अवरोध छ । दुःख बिमार भयो भने सम्बन्धित निकायमा गएर आफ्नो कुरा राख्न सक्दैनन् । छोराबुहारी हुनेको उनीहरुले लगिदिन्छन् । कोही नहुनेको त आफूले भन्न जाँदैन, कसले लगिदिने ? तैपनि धेरैलाई त राम्रो भएको सुनेको छु । दमको बिरामीहरुलाई चिसो मौसम सुट हुँदैन ।

नेपालमा पनि पहिलेको तुलनामा धेरै राम्रो भएको छ । मध्यम उमेर समूहका लागि नेपालमा पनि अवसरहरु छन् । बेलायत त विकास भइसक्यो । हामीले नयाँ केही गर्न सक्दैनौं । जे गरे पनि अरुले गरेको कपी गर्ने हो । त्यसैले प्रतिस्पर्धा उच्च छ । टिक्न गाह्रो हुन्छ ।

नेपाल पहिले धेरै वर्षसम्म अस्थिर रह्यो । अहिले एकलौटी र स्थायी सरकार छ । दुई दशकपछि हामीले त्यस्तो सरकार पाएका छौं । अहिले संघीय प्रणाली आएकोले प्रदेश प्रदेशमा बजेट विनियोजन हुन्छ । जति सोचेको थियो, त्यो चाहिँ भएको छैन । किनभने गएको दुई वर्षको मूल्यांकन गर्दा नीति, नियमहरु नै थिएन । कार्यालय भवन छैन । क्वार्टरको हकदार भएकाहरुलाई क्वार्टर छैन । त्यतापट्टि मात्रै ध्यान गएकोले विकास अपेक्षा गरेजति भएन । अपरच्युनिटीहरु धेरै छन् । स्कोप छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!