– चिम्खोले काइँला

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष योगकुमार फगामीले नेतृत्वमा आउनुअघि भनेका थिए, ‘यदि म आठौं कार्यकालको अध्यक्ष भएँ भने १० हजार सदस्य बनाउँछु ।’
त्यही योजना उनले आफ्नो चुनावी घोषणापत्रमा समेटे । तर, बेलायतवासी नेपालीले गफ भनेर खिल्ली उडाएका थिए । एनआरएनए यूकेको नवौं अधिवेशनको संघारमा उनले १० हजारमात्र होइन १३ हजार ८९० सदस्य पुर्याएर तहल्का मच्चाएका छन् । उनी तथा उनका कार्यसमितिले इतिहासलाई क्रमभंग गरिदिएका छन् । बेलायतमा नेपालीहरु १ लाख ५० हजारभन्दा बढी नेपाली छन् । तापनि फगामीको कार्यकालअघि ३ हजार ५०० भन्दा बढी सदस्य बनाउन हम्मेहम्मे परेको थियो ।
०००
म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका वडा नं. १ बेगमा बाबा सबहादुर फगामी र आमा पमया फगामीको कोखबाट जन्मेका योग फगामीले महादेव प्राथमिक विद्यालय बेग र मुक्तिधाम माध्यमिक विद्यालय राखुमा अध्ययन गरेका थिए । माध्यमिक विद्यालयको अध्ययन सकेपछि महादेव प्राथमिक विद्यालयमा केही वर्ष अध्यापन गरेपश्यात् ब्रिटिस आर्मीमा भर्ना भएका थिए उनी । ब्रिटिस आर्मीको आधारभूत तालिम हङकङको मलाया लाइन्स लिएपछि उनी २/२ गोर्खा राइफल्समा आबद्ध भए । २/२ गोर्खा राइफल्समा रहँदा उनी ब्रिगेड अफ गोर्खाज्को कवाज केन्द्र मलाया लाइन्समा कवाज शिक्षकको रुपमा अध्यापन गरेका थिए । अन्त्यमा ३ आरजीआर हुँदै १ आरजीआरबाट अवकाश प्राप्त गरेका थिए ।
ब्रिटिस आर्मीबाट अवकाशपछि उनी बेलायतमा बसोबासको क्रममा मगर संघ यूकेसँग आबद्ध भए । उनले मगर संघ यूकेको खेलकुद सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसम्मको अनुभव बटुलेका छन् ।
उनी म्याग्दी गैरआवासीय नेपाली संघ (मोना) यूकेको एक सफल अध्यक्षको रुपमा पनि चिरिचित छन् ।
उनको कार्यकालमा मोना यूकेले म्याग्दीलाई ३ वटा एम्बुलेन्स हस्तान्तरण गरेर ऐतिहासिक कार्य गरेको थियो । यस्ता कार्य त्यसबेला कुनै पनि संघ संस्थाले गर्न सकेका थिएनन् ।
उनी मगर संघ यूके, मोना यूकेमा मात्र सीमित रहेनन्, इन्टेक १९८५ को तथा बेजिङस्टोक नेपाली कम्युनिटी अध्यक्ष, बेगखोला कल्याणकारी समाज बेलायत उपशाखाको अध्यक्षको भूमिका निर्वाह गर्न सक्षम रहे । योग फगामीले आप्mनो गाउँ बेगखोलामा हुने विभिन्न कार्यक्रमका लागि प्रमुख अतिथिको रुपमा बेलायतकी अभिनेत्री जवाना लम्ले तथा जेष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्री थममाया थापा लगायतलाई पुर्याउन मद्दत गरिसकेका छन् ।
०००
एनआरएनए यूकेको छैटौं तथा सातौं अधिवेशनबाट महासचिवमा प्रवेश गरेका योग फगामीले आठौं अधिवेशनमा अध्यक्षमा अर्का प्रत्यासी कृष्ण तिमल्सिनालाई पराजित गरे । उनको अध्यक्षतामा भूपू गोर्खाहरुको पेन्सन, हकअधिकार र नेपाली नागरिकता निरन्तरताको मुद्दा लिएर नेपालका सांसदहरु, मन्त्रीहरु, प्रतिपक्ष दलका अध्यक्ष लगायत बेलायत भ्रमणमा निस्केका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु तथा निजामति सेवाका उच्च पदाकारीहरुसँग सो मुद्दालाई निर्मम तरिकाले उठाएको बताउँछन् । उनले नेपाल सरकारले सञ्चालन गर्दै आएको नीति र कार्यक्रमलाई आत्मसात गर्दै सम्पूर्ण नेपालीहरुलाई सहयोग पुग्ने, मैत्रीपूर्ण लगानी भित्र्याउने तथा रोजगार सिर्जना गर्ने कार्यहरुमा सहकार्य गर्दै आएको बताए ।
०००
योगकुमार फगामीको कार्यकालमा यूकेमा रहेका विभिन्न संघ–संस्थाहरुलाई एकबद्ध गराउन काउन्सिल बैठक सम्पन्न गरेका छन् भने विभिन्न कार्यको लागि परोपकारी रात्रिभोज तथा च्यारिटी डिनरे आयोजना गर्नको साथै विधानलाई पूर्णता दिने काम भएको छ । संयुक्त अधिराज्य बेलायतमा पहिलोपटक राज्य समन्वय परिषद् गठन भएको छ भने त्यस्तै इंग्ल्यान्ड राज्य परिषद् गठनको पनि पूर्व तयारी अवस्थामा छ ।
संसारका विभिन्न देशको वार्षिक सम्मेलन, क्षेत्रीय सम्मेलन तथा केन्द्रीय सम्मेलनमा भाग लिएर धेरै अनुभव बटुलेका योग फगामी नवौं अधिवेशनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्नको लागि प्रमुख निर्वाचन आयुक्त मेजर डमर घलेको नेतृत्वमा एक जम्बो निर्वाचनमण्डल गठन गरेको छ ।
उनी हाल बेलायतको बेजिङस्टोकमा बस्छन् । उनी बेजिङस्टोक स्थानीय सरकारका निजामती कर्मचारी हुन् । श्रीमती शर्मिला फगामी, छोरा युबा, बुहारी मिरा, छोरी कुसुमले योगदान दिएकाले उनी सामाजिक सेवा गर्न सफल छन् । धैर्य, नरिसाउने तथा ढिलो गर्ने तर राम्रो काम गर्ने उनको सुन्दर पक्ष हो । राजनीतिक आस्थाको हिसाबले उनका बाबा सबहादुर फगामी तत्कालीन बेगखोला गा.बि.स. अध्यक्ष तथा कट्टर एमाले समर्थक थिए । योगकुमार भने डेमोक्रेटप्रति आस्था राख्छन् ।






