स्विन्डन, बेलायत — मगर महिला संघ यूके, स्विन्डन शाखाले स्थानीय Great Western Hospital अन्तर्गत सञ्चालित Brighter Future Charity का लागि £२००० संकलन गर्ने सामाजिक प्रतिबद्धता जनाएको छ।
संस्थाले यस परोपकारी अभियानअन्तर्गत आगामी १ मे २०२६ देखि ३१ मे २०२६ सम्मका लागि ९०० किलोमिटर दूरीको ‘रनिङ तथा वाकिङ च्यालेन्ज’ आयोजना गरेको छ।
यस अभियानमार्फत संकलन गरिने रकम अस्पतालको बाल कक्ष (Children’s Ward) लाई सहयोग पुर्याउन तथा द मेडोज क्यान्सर वार्ड (The Meadows Cancer Ward) का लागि आवश्यक स्वास्थ्य उपकरणहरू खरिद गर्न खर्च गरिनेछ।
बेलायतको व्यस्त जीवनशैली र पारिवारिक जिम्मेवारीका बीच पनि समय व्यवस्थापन गर्दै स्वास्थ्यप्रति सचेत रहन, आपसी सहकार्य प्रवर्द्धन गर्न र परोपकारको भावनालाई सुदृढ बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ।
युथ कोअर्डिनेटर यमुना आले मगरको नेतृत्वमा सञ्चालन हुने यस ९०० किलोमिटरको विशेष चुनौतीमा यमुना आले मगर, सरस्वती थापा मगर, बलिसरा थापा मगर, रोना थापा मगर, मालती थापा मगर, अन्जु राना मगर, ज्ञानु थापा मगर, सनम पुन मगर, विष्णु श्रीस मगर, अनिता राना मगर, गंगा थापा मगर र मनु पाईजा मगरले सक्रिय सहभागिता जनाउनेछन्।
यसअघि पनि यस शाखाले स्तन क्यान्सर (Breast Cancer) सम्बन्धी सचेतना र सहयोगका लागि £२२१३ संकलन गर्न सफल भइसकेको छ।
साथै, संस्थाकी अध्यक्ष सरस्वती थापा मगरले विगतका वर्षहरूमा डिमेन्सिया, ग्रेट ओमन्ड स्ट्रीट हस्पिटल, म्याकमिलन क्यान्सर र मानसिक स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा विभिन्न च्यारिटी अभियानमार्फत निरन्तर योगदान पुर्याउँदै आएकी छन्।
अध्यक्ष थापा मगरसहितको टोलीले यो मानवीय सेवाको अभियानलाई सफल बनाउन बेलायतवासी नेपाली समुदाय, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण शुभचिन्तकहरूलाई सहयोग, साथ र प्रेरणाका लागि हार्दिक अपिल गरेको छ।





