नेपाली कांग्रेसका नेता, कार्यकर्ताले शनिबार टोखादेखि छहरे हुँदै नुवाकोट जाने बाटो अबरुद्ध पारेका छन् । टोखा-झोर-गुर्जेभन्ज्याङ-छहरे सडक खण्ड स्तरोन्नतिको माग गर्दै कांग्रेसको नुवाकोट-काठमाडौं सम्पर्क समितिहरुको अगुवाइमा चक्काजाम गरिएको हो ।
लिखु -काठमाडौ सम्पर्क समितिलगायत बिदुर ,बेलकोटगढी, पञ्चकन्या, तादी, तारकेश्वर, सम्पर्क समितिको संयुक्त आयोजनामा १ घन्टा चक्काजामसहित बिरोध कार्यक्रम गरिएको नुवाकोट कांग्रेसका जिल्ला सभापति एवं पूर्वसभासद् जगदीशश्वरनरसिंह केसीले जानकारी दिए । २० दिनअघि भौतिक योजनामन्त्री जिले ७ दिनमा नुवाकोट प्रवेश गर्ने सबै नाका खोल्ने प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म कुनै प्रगति हुनसकेको नसकेकोले विरोधमा उत्रिएको उनले बताए ।
दुई साताअघि सोही सडक खण्डमा नुवाकोटबाट विजयी सांसदहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा लगायतले पनि स्थलगत अनुगमन गर्दै जनताको सास्ती कम गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
नुवाकोट प्रवेश गर्ने सबभन्दा छोटो दूरीको नाकाको रुपमा रहेको टोखा छहरे सडक खण्डको काठमाडौं तारेकेश्वरको क्षेत्रमा पर्ने करिब २ किलोमिटर सडकको मर्मतमा हेल्चेक्र्याइँले यात्रुहरुले पीडा व्यहोर्दै आएका छन् ।


तस्बिर सौजन्य : कांग्रेस नेता जगदीशश्वर नरसिंह केसी ।






