वातावरण र आदिवासी जनजाति पत्रकार

SHARE:

सन्दर्भ : २५औं विश्व आदिवासी दिवस
विजय हितान
 नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) स्थापना गरिनुको उद्देश्य अलिक फरक छ । यस संस्थाले स्वदेश तथा विदेशमा बस्दै आएका नेपालीमूलका आदिवासी जनजातीय मुद्दाहरूलाई पत्रपत्रिकामार्फत उजागर गरिदिन्छ । आजका पत्रकार (आदिवासी जनजातिका पत्रकार) ले वातावरणीय समस्यालाई पनि समेट्न सक्छन् । अर्थात् आजका पत्रकारले वातावरण पत्रकारिता पनि गर्न जरुरी छ । आदिवासीको सवालमा वातावरण पत्रकारिताको आवश्यकता र महत्व किन छ भन्ने कुरामा प्रकाश पार्नु यस लेखको उद्देश्य रहेको छ ।

आज (आदिवासी जनजाति) का सामाजिक तथा राजनैतिक हकअधिकारका विषयहरू सबैतिरबाट उठाउँदै आइएको छ । नेपालमा सङ्घीयता, पहिचान र समावेशीजस्ता परिवर्तन ल्याउन आजइतर पत्रकारिताको महत्वपूर्ण योगदान छ । यसमा कसैको दुईमत छैन । तर, यस ऐतिहासिक परिवर्तन ल्याउने क्रममा एउटा महत्वपूर्ण पाटोलाई भने ठ्याक्कै भुलिएको छ । पत्रकारिताको त्यो अभिन्न अङ्गलाई पनि सँगसँगै डोर्‍याएर लानुपर्ने । तर न आजका पत्रकार न त नेपाली मूलधारका पत्रकारले त्यसो गरेको पाइन्छ । यो जानेर भएको होइन । बरु अञ्जानमा वास्ता नगरिएको विषय हो । परम्परागत रुपमा आदिवासीहरूले नजिकै बसेर भोग्दै आएको विषय भए तापनि मानिसमा यससम्बन्धी चेतना आएको त्यत्ति लामो भएको छैन । यो विषय हो वातावरण र आदिवासी । पत्रपत्रिकामा राजनैतिक हकअधिकार मात्रै होइन, वातावरणीय हकअधिकारका कुराहरू पनि त्यत्तिकै छापिनुपर्ने आवश्यकता देखिन्छ ।

घाम, हावा, पानी, जमिन, वनस्पती र वन्यजन्तु वातावरणका तत्वहरू हुन् । यी वातावरणीय तत्वहरूसँग अन्तरक्रिया गर्दै बाँचिरहेको हुन्छ मानिस । आदिवासी समुदायको वातावरणसँग अझ समीपको सम्बन्ध रहेको हुन्छ । उनीहरू नै हुन् नदीका किनार, बेँशीका काख, बनजङ्लका माझ र पहाडका शिखरमा जीवन फुलाउँदै जुनीजुनीसम्म बाँच्ने । वातावरणीय सन्तुलनलाई खलबल नपारी जीवन जिउने । तर सबैलाई अवगतै भएको कुरो हो, आर्थिक विकासको नाममा उच्च समुदायका मानिस भनाउँदाहरूले प्राकृतिक सम्पदाको दोहन गर्दै विलासपूर्ण जिन्दगी बाँचिरहेका छन् । फलस्वरुप पर्यावरणीय सन्तुलन गुम्न जाँदा जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, मरुभूमिकरणका साथै जल, वायु, तथा जमिन प्रदूषणजस्ता कहालीलाग्दा समस्या निम्त्याएको छ । यसको प्रत्यक्ष असर प्रकृतिप्रेमी आदिवासीहरूमा परेको छ । संभ्रान्त समुदायले निम्त्याएको वातावरणीय समस्याको सिकार वातावरणमैत्री आदिवासी समुदाय हुनुपरेको छ । उपभोक्तामुखी समाजले जन्माएको वातावरणीय उल्झनमा झेलिनुपरेको छ निमुखा आदिवासी समाज ।

यस्ता मारमा परेका समुदाय वातावरणीय जोखिमबाट बचून्, जोखिमलाई न्यूनीकरण गर्न सकून् भनेर सरकारले कानुन तर्जुमा गरेको हुन्छ । नीतिनिर्देशन लागू गरेको हुन्छ । तर आदिवासी समुदायको त्यहाँसम्म पहुँच नहुनाले यस्ता व्यवस्थापनबाट लाभान्वित हुन सकिरहेको अवस्था छैन । यस्तो परिस्थितिमा आजका पत्रकारको दोहोरो भूमिका रहन सक्छ । तिनले आदिवासी समुदायका वातावरणीय समस्या केके छन्, जोखिमको स्तर के छ ? पत्रकारितामार्फत नीतिनियम तर्जुमा गर्ने सरकारलाई अवगत गराउन सक्छन् । अर्कोतिर सरकारले तयार पारेका वातावरणीय नीतिनियमले आदिवासीहरू कसरी लाभान्वित हुनसक्छन् भन्ने कुरा पत्रपत्रिकामा छापेर तिनलाई सचेत बनाउन सक्छन् । यस्ता वातावरणीय जोखिम अनि तिनबाट बच्ने उपायजस्ता विषयमा आजका पत्रकारले कलम दौडाउन ढिला गर्नै नहुने देखिन्छ । हामीलाई वैज्ञानिकले अवगत गराइसकेका छन् कि अब पृथ्वीको वायुमण्डलको तापक्रम १.५ डिग्रीले बढ्न नदिन ढिला भइसकेको छ ।
आदिवासीका कस्ता विषयलाई पत्रपत्रिकामा समेट्न सकिन्छ भनेर केही उदाहरण दिन चाहन्छु । चेपाङ जातिले चमेरा मारेर खान्छन् । भालेलाई मात्रै पासामा पार्छन् । बच्चा जन्मेर हुर्किने समयमा यसो गर्दैनन् । चमेराको कुनै कुनै प्रजाति लोपोन्मुख जीवको रुपमा सूचीकृत गरिएको छ । कतै भने चमेरालाई बाँदरजस्तै बालीनाली खाएर सताउने जीव भनेर चिनिन्छ । चेपाङले मारेर खाने चमेरा कुन वर्गभित्र पर्‍यो भनेर पत्रकारले अनुसन्धानात्मक रिपोर्टिङ गर्न सक्छन् ।

त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज वरिपरि बस्ने समुदाय भनेको थारू हुन् । तिनीहरूको जीवन निर्वाह निकुञ्जभित्र उपलब्ध वन्यजन्तु पैदावरमा निहीत छ । ती समुदाय कतिलाई थाहा नहोला निकुञ्जले के नीतिनियम तर्जुमा गरेको छ भनेर । चेतनाको अभावले नीतिनियमविपरीत पैदावरको उपभोग गर्दा कडा कारवाहीमा परेको कहिलेकाहीँ सुनिन्छ । वन्यजन्तुले खेतीबालीको नास या कसैको ज्यान लिइदियो भने निकुञ्जले क्षतिपूर्तिको व्यवस्था गरेको छ । यसको ज्ञान नहुँदा स्थानीय आदिवासी राहतबिना जिउनुपरेका धेरै घटना छन् । आजका पत्रकारले यिनै कुरामा चेतना जागृत हुने खालका रिपोर्टिङ गर्न सक्छन् ।

जलवायु परिवर्तन मानवीय कारणले भएको भनेर वैज्ञानिकहरू भन्दै आइरहेका छन् । विशेष त, अमेरिका र युरोपका अति विकसित राष्ट्रहरू यसका दोषी हुन् । नेपालजस्तो हिमशृङ्गखलाबद्ध र माल्दिभ्स, बङ्लादेशजस्ता सामुद्रिक तटीय राष्ट्रहरूले बिनाकसुरमा जलवायु परिवर्तनको जोखिम मोल्नुपरेको छ । राष्ट्रसंघले नेपालजस्ता गरिब देशलाई ती जोखिमबाट बच्न क्षतिपूर्तिको आर्थिक कोष खडा गरिदिएको छ । वर्षेनी नेपालले उक्त कोषबाट सहयोग पाउँछ । तर, त्यो कोषबाट आदिवासी समुदायले लाभ लिन पाएका छन् कि छैनन् त ? यस्ता विषयमा पनि आजका पत्रकारको कलम चल्नुपर्ने देख्दछु म ।

आदिवासी शब्दले मानवीय सभ्यताको प्रारम्भसम्मको विशाल अर्थ बोकेको छ । अहिले पनि उस्तै मौलिक दैनिकीमा जीवनयापन गरिरहेछन् आदिवासीहरू । विकसित सभ्यतामा जिइरहेका समुदायलाई आदिवासी भन्न मिल्दैन । प्रकृति अथवा वातावरणलाई अधिनमा पार्दै आफ्नो फाइदाका लागि प्रयोग गरेर समाज विकसित बन्दै जान्छ । हो, प्रकृति सुन्दर छ । यसले मानवलाई बाँच्ने स्रोत र साधन पनि प्रदान गर्छ । तर यस्ता वस्तुहरू मानवलाई स्वत: प्राप्त हुँदैनन् । प्राप्तिका प्रक्रियामा जोखिम मोल्नुपर्छ । माछा मार्दा खोलाले बगाएर लग्ने खतरा हुन्छ । खानीबाट तामा निकाल्न खोज्दा पुरिने सम्भावना हुन्छ । त्यस्ता जोखिमको अध्ययन गरी त्यसको प्रभावलाई सीमित तुल्याउने सीप र ज्ञानको विकास गर्दै मानवसभ्यता अगाडि बढ्छ । तर आदिवासी समुदायमा यस्ता वातावरणीय जोखिमलाई न्यूनीकरण गर्ने सीप र ज्ञानको पूर्ण विकास भइसकेको हुँदैन । त्यसर्थ आदिवासीलाई त्यो सीप र ज्ञान प्रदान गर्ने हो भने फोनिजमा आबद्ध पत्रकारले वातावरण पत्रकारिता पनि गर्नुपर्छ ।

आजका पत्रकारले विगतका इतिहास उत्खनन् गर्न अनि भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्नमा कलम चलाएको सबैलाई विदितै छ । यसलाई निरन्तरता दिइनुपर्छ । तर वातावरणका समस्याहरूलाई पनि यस सँगसँगै लगिनुपर्छ । यो एक नवीनतम् विषय परेकाले सुरुमा केही अप्ठ्यारो महसुस होला । लेख्दै जाँदा सिकिने कुरा न हो ।

पत्रकारिता चाखलाग्दो पेसा हो । समाचार सङ्कलनको सिलसिलामा विभिन्न ठाउँ, परिवेश र मान्छेहरूसँग भेट हुन्छ । वातावरण पत्रकारितामा पनि कम रमाइलो त हुँदैन । राजनीतिका समाचार सङ्कलन गर्दा लामो भाषण सुनिरहने या प्रेस वक्तव्य कुरिरहने जस्तो अत्यासलाग्दो वातावरण पत्रकारलाई हुँदैन । वातावरणीय रिपोर्टिङ गर्दा एक पत्रकार प्रकृतिसँग रमाउँछ । त्यही प्रकृति प्रदूषित भएको देखेर कहिलेकाहीँ ठुस्किन पनि पर्छ । खोला, बाढी र हिमपहिरोसँगै बग्नुपर्छ । कहिले सहरको ढलसँगै बग्नु पनि पर्छ त कहिले फोहरमैलाको रासमा पुरिनु पनि पर्छ । पहिरो, पहाड र भीरहरूसँग सम्वाद गर्नुपर्छ । होमस्टेमा बसेर अग्र्यानिक खाना खाँदै स्थानीय आदिवासीका गाथाव्यथा बुझ्नुपर्छ । वन्यजन्तु, हावापानी र घामका अन्तर्वार्ता लिनुपर्छ ।

समग्रमा वातावरण पत्रकारिता जसले अँगाल्छ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ गरेजस्तै रमाइलो जिन्दगी बिताउन पाइन्छ । नवीन स्थान, नवीन परिवेशमा रम्न सकिन्छ । वातावरण पत्रकारिताले अरु धेरैले नगरेका नौला कुरा सिकाउन नौलै कुराहरूको अनुभूति दिलाउँछ । योभन्दा पनि बढी म आजका पत्रकारले वातावरण पत्रकारिता गर्नुपर्ने दायित्व देख्दछु ।

(लेखक वातावरण विज्ञानमा स्नातकोत्तर गरेर बेलायतको इन्भाएरोमेन्ट एजेन्सीमा कार्यरत छन् । उनी वातावरण संरक्षण र जनजागरणका अभियन्ता साथै इको राइटर तथा इको साहित्यकार पनि हुन् ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!