लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा आज बेलायतमा नवौं लोकदोहोरी स्वर्णिम साँझ हुँदैछ ।
नेपालबाट आएका ख्याति प्राप्त डेढ दर्जन कलाकारको साथमा अल्डरसटस्थित एम्पायर हलमा स्वर्णिम साँझ हुन लागेको हो । कार्यक्रममा मञ्जु बिक, सम्झना भण्डारी, सपना रोका, रेश्मा तामाङ, कृष्ण सुवेदी, गोविन पुन लगायतले प्रस्तुति राख्ने छन् । कार्यक्रम साँझ साढे ४ बजेदेखि सुरु हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा अध्यक्ष मनसुधन थापा मगरले जानकारी दिए ।
टिकट दर अग्रिम २० पाउन्ड, गेटमा २५ पाउन्ड तिर्नुपर्नेछ । ज्येष्ठ नागरिक र बालबालिकाका लागि १५ पाउन्ड मात्र प्रवेश शुल्क लाग्नेछ ।’नवौं लोक दोहोरी स्वर्णिम साँझ-२०२६’ सफलताका लागि व्यक्ति तथा संस्थागत सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।
नेपाली लोक सङ्गीत र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष यो विशेष कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै आइरहेको छ ।






