गायिका दुर्गा गुरुङ तीज कोसेलीमार्फत संगीत पारखीमाझ फेरि गुञ्जिएकी छन् । साढे दुई दशकयता सांगीतिक कर्ममा सक्रिय गुरुङले ‘माइतीको माया’ गीत भर्खरै युट्युब च्यानबाट सार्वजनिक गरेकी हुन् । टिपिकल गीत गाउन मन पराउने उनले लोकगीत, लोकदोहोरी एल्बम करिब २० वटा र तीज कोसेली ९ वटा ल्याइसकिन् ।
स्याङ्जा वालिङ नगरपालिका–३ (साविक माझकोट–५) मा जन्मिएकी उनी मुलुकमै पहिलोपटक खुलिएको पुकार दोहोरी साँझका गायिकामध्ये एक हुन् । गायनलाई निरन्तरता दिँदै दुर्गा अचेल पोखराको चिप्लेढुंगामा गाउँ सहर दोहोरी साँझ चलाउँछिन् । उनै लोकप्रिय गायिका दुर्गा गुरुङसँग नयाँ एल्बम र सांगीतिक यात्राबारे एभरेस्ट टाइम्सले गरेको कुराकानी ।
नयाँ तीज गीत कस्तो खालको हो ?
यो मौलिक गीत हो । बर्खाको मौसम र टाढा दूरीको कारण तीजमा माइती र चेली भेट नहुँदा चेलीमा उब्जने वेदनालाई विषयवस्तु बनाएका छौं । भाका र शब्द पनि मौलिक खालको छ । यसको शब्द गायक गणेश गुरुङले लेख्नुभएको हो । ठेट, नेपालीपन बोकेको यो गीतले धेरै कलाप्रेमी दर्शक, स्रोताले मन पराउनुहुन्छ भन्ने आशा लिएकी छु ।
सुरुआती समयमा यो गीतको रेस्पोन्स आइरहेको छ ?
तीज आउन करिब तीन हप्ता बाँकी छ । अरुका तुलनामा हाम्रो गीत आउन ढिला भएकै हो । ढिलै भए पनि दर्शक, स्रोताले मन पराइदिनुभएको छ, हेरिदिनुभएको छ । खुसी नै छौं ।
लाखौं खर्च गरेर गीत निकाल्नुभयो । लगानी फर्कने अवस्था छ ?
पहिले अडियोको जमाना थियो, खर्च हुन्थेन । अडियो बिक्थ्यो । सिडीको जमाना आयो । अलि खर्च बढी हुन्थ्यो भने व्यापार पनि हुन्थ्यो । अहिलेचाहिँ आत्मसन्तुष्टिका लागि गीत निकाल्ने हो । कलाकार भइसकेपछि अरुको गीत बजारमा आउँदा मेरो पनि गर्न पाएदेखि राम्रो । निरन्तरता दिउँ भनेर अहिलेसम्म गरिरहेकी छु । कहिलेकार्ही गीत नगरौं कि भनेर सोच्छु तर छोड्न हुँदैन भन्ने मन जित्दोरहेछ । एक चेली भएर होला, तीजले एकदम छोइहाल्छ । ढिलै भए पनि गीत मौलिकता झल्काउने राम्रो बनेको छ मेरो विचारमा । सम्पूर्णले हेरेर मन पराइदिनुहुनेछ, मलाई माया गरिदिनुहुनेछ भन्ने लागेको छ ।
अलि भावुक, पीडादायी गीत गाउनुहुन्छ किन ?
म गाउँमा जन्मेर गाउँमै हुर्केकी मान्छे । आपूmलाई परेको पीरले होइन । गाउँमा घाँस दाउरा, मेलापात गर्दा गाउने खालको गीत बढी रुचाउँछु । बच्चैदेखि त्यस्तोतिर मेरो लगाव भयो । मैले ठट्यौली गीत पनि गाएकी छु । मौलिक गीतमा जोड दिने गरेकी छु । सोरठी, घाँटु, झोरा, कौडा, सालैजो, देउडा, तामाङ सेला लगायत गीत गाउँछु । विशेषगरी मलाई लोप हुन लागेको कल्चर जगेर्ना गर्न मन पर्छ । त्यस्ता सिर्जना गाउँदा आनन्द लाग्छ ।
लोकगीत लोप हुँदै आधुनिकता बेसी भयो भनिन्छ नि ?
समयअनुसार परिवर्तन हुनु राम्रो हो । मौलिकतालाई सबैले जोगाए राम्रो हुन्छ । आज आउने, भोलि हराउने नहोस् । कलाकार देशको महत्वपूर्ण अंग हो । संगीतबिना समाज अपुरो हुन्छ । मौलिकतालाई जोगाउनुपर्छ । भावीपुस्ताले गुनगुनाउन पाइयोस् ।
पहिलो कुन गीत रेकर्ड गर्नुभयो ?
२०५१ सालमा पहिलो गीत बलराम पुन दाइको ‘पर्ख सँगै जाम’ रेकर्ड गरेँ । त्यसपछि रामरानी गीत गाएँ भने पातें (माइली) गुरुङ भाषाको चलचित्रको गीतमा पनि स्वर दिने अवसर मिल्यो ।
अहिलेसम्म कति एल्बम निकाल्नुभयो ?
आफ्नै एल्बम १८ वटा पुग्यो । तीमध्ये ‘देउराली भञ्ज्याङ’ (कौडा), स्याउली पलाएछ’ (लोकगीत), ‘घर कहाँ हो मायालु’, झोरा, सोरठी, ‘तीज आयो माइतीको आँगनमा..’, ‘झलझली सम्झौली आमा’, ‘चेलीको कर्म’, ‘माइतीको माया’, ‘रातो साडी लर्काएर’ लगायत हुन् ।
यो क्षेत्रमा स्थापित हुन कत्तिको कठिन छ ?
यो फिल्ड गाह्रो छ । हुन त, आफ्नो काम सबैलाई गाह्रो छ । केटी भएकोले सुरु सुरुमा घर छोड्नै गाह्रो थियो । विस्तार–विस्तार बुझाइयो, सम्झाइयो । बाबाले चाहिँ सपोर्ट गर्नुहुन्थ्यो । आमाले छोरी मान्छे भएर यस्तो काममा नलाग भन्नुहुन्थ्यो । तैपनि पछि मैले विभिन्न देश घुम्ने, रेडियो, टिभीमा गीत गाएको देख्नुभएपछि आमाले पनि छोरीले पैसा नकमाए पनि नाम कमाइ भनेर सन्तुष्टि मान्नुभयो । परिवारको म साइँली छोरी हुँ । कलाकारितामा लाग्न ठूलो दिदीले असाध्यै सहयोग गर्नुहुन्थ्यो ।
यो क्षेत्रको अविष्मरणीय क्षण ?
लोकदोहोरी प्रतिस्पर्धामा केही ठाउँमा जितियो, केही ठाउँमा हारियो । एल्बम निकाल्ने बेलामा त्यतिबेला ट्रयाक सिस्टम थिएन । स्टुडियोमा रेकर्ड गराउने दिन कोठैभरी मान्छे हुन्थ्यो । ए र बी साइट एकैचोटि रेकर्ड गर्नुपर्ने, गाउने, बजाउने सँगसँगै हुनुपथ्र्याे । तर अहिले रेकर्ड सजिलो छ, प्रविधि विकासका कारण । केटीको स्वरमा को छ, केटाकोमा को छ भन्ने थाहा नै हुन्न । एउटै एल्बममा दोहोरी गाए पनि कलाकारबीच भेट हुँदैन । जेहोस् रमाइलो छ ।
साढे दुई दशकयता कलाकारितामा सक्रिय हुनुहुन्छ, किन गीत गाउँछु भन्ठान्नु हुन्छ ?
गाउँमै जन्मे, हुर्कें । मेलापात, घाँस दाउरा गर्दा रेडियो बोकेर हिँड्थे । अग्रजहरुका गीत सुन्दा म पनि कलाकार बन्न पाए हुन्थ्यो भन्ने रहर भयो । म प्रवीण गुरुङ, झलकमान गन्धर्व, विमाकुमारी दुरा, माया गुरुङ लगायतका गीत बढी सुन्थेँ । उहाँहरुबाटै प्रेरित भएर म लोकदोहोरी प्रतिस्पर्धाबाटै यस क्षेत्रमा आउन सफल भएँ । कृष्ण गुरुङ, बलराम पुन दाइहरुले राम्रो स्वर छ भन्नुभयो । उहाँहरुकै कारण २०५१ सालमा एल्बममा गाउने अवसर मिल्यो ।
संगीत सिक्नु भएको छ ?
टिपिकल गीत गाउने भएर सिकिनँ । सामान्य रुपमा कृष्ण गुरुङले सिकाउनु भयो । सांगीतिक गुरु उहाँ नै हो । दोहोरी खेल्दा यसरी पेलेर जाउ है भन्नुहुन्थ्यो । घरमा, पधेंरा जाँदा, स्कुलको कार्यक्रममा जाँदा गीत गाइन्थ्यो । म नाच्थें पनि ।
रेडियो नेपालमा भ्वाइस टेस्ट कहिले गर्नुभयो ?
२०५३ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेकी थिएँ । त्यहाँ ‘स्याङ्जाडाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ’ गीत गाएँ । त्यसदिन एकदम खुसी लाग्यो ।
दोहोरी साँझ व्यवसाय चलाउनु भएको छ रे नि ?
अहिले पोखरा चिप्लेढुंगामा गाउँ सहर दोहोरी साँझ चलाइरहेकी छु । मुलुकमै पहिलोचोटि मुक्त गुरुङले काठमाडौंको सुन्धारामा पुकार दोहोरी साँझ खोल्नु भएको थियो २०५३ सालमा । गाउनेमा बद्री पराजुली, सीता थापा र म थियौं । अनि विदेशमा दोहोरी साँझको सुरुआत गर्ने पनि हामी नै हौं । सन् २००४ मा दुवैमा नेपाली कल्चर नाम दिएर सुरु ग¥यौं । सन् २०१२ मा फेरि अर्को दोहोरी साँझ त्यही देशमा स्थापना गरियो ।
गीत, संगीतमा सन्तुष्ट हुनुहुन्छ ?
करिब १५ वर्षकै उमेरमा गीत गाउन विदेश गएँ । दर्शक, श्रोता कमाएँ । गुजारा चलाएँ । आत्मसन्तुष्ट छु यो क्षेत्रमा लागेर ।
गायनमा नलागेको भए के बन्नुहुन्थ्यो होला ?
टिचर हुन्थें होला ।
विदेश भ्रमण कत्तिको जानुहुन्छ ?
नेपालका कुना कुना र थुप्रै देशहरु घुमिसकेकी छु । जापान, हङकङ, कोरिया, बेलायत, जर्मन, बेल्जियम र खाडीका देशहरु पनि गइसकेँ । पहिलोचोटि सन् १९९९ मा कार्यक्रम लिएर कतार गएकी थिएँ ।
अब के गर्ने सोचमा हुनुहुन्छ ?
नयाँ गीत गर्छु । आउँदो गीत पनि मौलिकधारमै रहेर गरेको छु । रेकर्डिङ भ्याइसक्यौं । छायांकन बाँकी छ । बैंस, जवानीसँग सम्बन्धित छ । यो पनि तीजलगत्तै बजारमा फाल्ने विचारमा छु ।







