
बेलायतवासी नेपालीको साझा कार्यक्रम ‘नेपाली मेला’ को ११ औं संस्करण यही अगस्ट २५ तारिखमा क्याम्पर्टन रेसकोर्समा हुँदैछ । नेपाली दूतावास लन्डनको साथमा तमुधिं यूकेलेको तयारी कहाँ पुग्यो, नयाँ आकर्षण के के छन् त ? यिनै विषयमा तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ र उपाध्यक्ष एवं मेला संयोजक जुमकाजी गुरुङलाई एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले संयुक्त रुपमा जिज्ञासा राखेका छन् । प्रस्तुत छ, तमुधिंका अध्यक्ष र उपाध्यक्षसँगको कुराकानीको सम्पादित अंश :
नेपाली मेला आयोजनाको मूलभूत उद्देश्य के हो ?
अध्यक्ष : नेपालबाट बेलायत आइ बसोबास गरिरहेका हामी जति पनि नेपालीहरु छौं, हाम्रो आफ्नै संस्कार, संस्कृति छ । यसलाई एकै ठाउँमा ल्याएर ‘शो केस’ जसरी देखाउने र प्रिजर्भ गर्ने नेपाली मेलाको उद्देश्य हो । साथसाथै यस्तो मेला आयोजना गरेर हामीमा इन्ट्रिग्रेसनको वातावरण सिर्जना गर्ने हो । त्यस्तै नेपालको पर्यटनलाई प्रमोट गर्ने उद्देश्य पनि छ । नेपाली मेलाको माध्यमबाट पर्यटकहरुलाई नेपालमा पठाउन सकिन्छ कि भन्ने हो । यसका साथै अरु विभिन्न उद्देश्य पनि छन् ।
नेपाली मेला कहिले, कहाँ हुँदैछ, जानकारी गराइदिनुहोस् न ?
उपाध्यक्ष एवं मेला संयोजक : सधैं हुँदै आएको क्याम्पटर्न पार्कको रेसकोर्समा २५ अगस्ट आइतबार मेला हुँदैछ । बिहान साढे १० बाट कार्यक्रम सुरु हुनेछ ।
नेपाली मेलाबाट कसरी कला, संस्कृति जगेर्ना गराउनु हुन्छ ?
उपाध्यक्ष : मेलामा विभिन्न जातिको साँस्कृतिक झाँकी देखाइनेछ । नानीबाबुहरु जो बेलायतमा हुर्किए, उनीहरुलाई नेपालका विषयमा थाहा नहुन सक्छ । विभिन्न झाँकीमार्फत, आ–आफ्ना जातिका भेषभूषा लगाएर कल्चरबारे जानकारी गराउने छौं ।
झाँकी प्रदर्शनमा कुन जाति, समुदायको सहभागिता हुन्छ, यसबारे थप जानकारी गराइदिनुहोस् न अध्यक्षज्यूले ?
अध्यक्ष : गुरुङको आफ्नै किसिमको कल्चर छ । थकाली, तामाङको आफ्नै छ । राई, लिम्बूको आफ्नै छ । सबै जातजातिले आफ्नै भेषभूषा लगाएर मेलामा आउने छन् । नेपाल बहुजातीय, बहुसाँस्कृतिक देश हो भन्ने क्याम्पटर्न पार्कमा हामी देखाउँदै छौं । बरु, नेपालमा सबै जातिका सांस्कृतिक झाँकी एक ठाउँमा देख्न नसकिएला बेलायतमा पूर्व–पश्चिमबाट भेला भएका नेपाली एउटै ठाउँमा जम्मा हुन्छौं । त्यसकारणले हामीले नेपालमा भन्दा पृथक् ढंगले कार्यक्रम आयोजना गर्दैछौं । जुन हेर्नलायक हुन्छ ।
त्यसबाहेक मेला भर्नेहरुले अरु के के हेर्न र जान्न पाइन्छ ?
अध्यक्ष : प्राथमिकता झाँकी प्रदर्शन नै हो । त्यसका साथै साँंस्कृतिक नृत्य, आफ्नै गीतको प्रस्तुति रहनेछ । मौलिक खानाका स्टलहरु, बालबालिकाका लागि जानकारी दिने स्टल, कार्यक्रममा एक÷दुई घण्टा युवाहरुलाई छुट्याएका छौं ।
नेपाली दूतावास लन्डनको सहयोगमा विभिन्न देशका कूटनीतिज्ञहरु पनि सहभागी हुने छन् । त्यस्तै, नेपालको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आउने निश्चित छ । यसकारण यसपालिको नेपाली मेला आकर्षक बन्न लागेको छ ।
मेलामा सहभागीलाई सुरक्षा, प्रवेश शुल्क, पार्किङ लगायतका के के व्यवस्था मिलाउनु भएको छ ?
उपाध्यक्ष : हामीले प्याकेजमै मेला व्यवस्थापन गराउँदैछौं । कार्यक्रमस्थलमा सुरक्षागार्ड तैनाथ हुनेछन् । कोही कसैलाई एक्सीडेन्ट भयो भने मेडिकल टिम त्यहीं रहनेछ । प्राथमिकता उपचार मिल्नेछ । जहाँ दक्ष चिकित्सक राखिने भएको छ । क्याम्पर्टन पार्कमा जान लन्डनबाट रेल, थरी थरीका बसको व्यवस्था पनि छ ।
पार्किङमा कारको सदाझैं ५ पाउन्ड छ । यदि बस, मिनिबस आउँछ भने त्यसको १० पाउन्ड । प्रवेश शुल्कमा एडल्टलाई ५ पाउन्ड र १२ वर्ष मुनिका बालबच्चालाई ३ पाउन्ड राखिएको छ ।
यसपटक नेपाली मेलामा कति दर्शक जम्मा हुने अपेक्षा छ ?
उपाध्यक्ष : कार, गाडी पार्किङमा २ हजारदेखि २५ सयसम्म सधैं आउने गरेका छन् । यदि मौसमले साथ दियो भने वा प्रतिकूल मौसममा पनि हाम्रा शुभचिन्तकहरु आउनुहुन्छ हेर्न । मेलामा १० देखि १५ हजार दर्शकहरु आइरहनुभएको छ । गत वर्ष पानी परे पनि कार्यक्रम भव्य, सभ्य भयो । यस वर्ष १० हजार भन्दा बढी आउनुहुन्छ भन्ने अपेक्षा छ । क्याम्पर्टन पार्कको रेसकोर्सका स्टाफहरुबाट मेलाको सबै प्रबन्ध भइसकेको छ ।
अध्यक्षज्यू, व्यवस्थापनबारे केही थप्न चाहनुहुन्छ कि ?
अध्यक्ष : क्याम्पर्टन पार्क एकदमै व्यवस्थित ठाउँ हो । त्यहाँ हामीले सम्झौता गर्दाखेरी नै यत्तिजना मान्छेको उपस्थिति हुन्छ होला । यी यी कुरा हामीलाई चाहिन्छ भनेपछि उहाँहरुले प्याकेज सुनाउनुभयो । सुरक्षागार्ड, मेडिकल फेसिलिटी, ट्वाइलेट, सरसफाई गर्ने, स्वयम्सेवक यत्ति चाहिन्छ भन्ने हाम्रो सम्झौताअनुसार उहाँहरुले तयार पार्नुभएको हुन्छ । ती कुराहरु ठीक छ छैन भनेर हामी किपिङटचमा बस्छौं । मिटिङ बसिसक्यो, पैसा पनि हामीले तिरिसक्यौं । तयारीको दिनमा गएर सबै चेक गर्छौं । जस्तो, भीआईपी गेस्टहरुलाई कुर्सी मिलाउने, लाउन्चहरु तयार पार्ने, टेबल कुर्सीहरु तयार पारिदिने कुरा मिलाइनेछ ।
मेलाको तयारी कति प्रतिशत पूरा भयो अहिलेसम्म ?
अध्यक्ष : मेला आउन दुई हप्तामात्रै छ । यत्तिउत्ति प्रतिशतभन्दा पनि अहिले टिमहरु आउनेक्रम चलिरहेको छ । हामीले गर्नुपर्ने जति पनि कुरा छन्, त्यो धेरै गरिसक्यौं । अतिथिहरुलाई निमन्त्रणा पठाउने, टिकट छपाईको चलिरहेको छ । अब टिम फाइनलाइज्ड गरिसकेपछि प्रोग्राम तालिका निकाल्ने र त्यहीअनुसार काम गर्ने अवस्थामा छौं ।
अलि अगाडि अध्यक्षज्यूले नेपाली मेलाले इन्ट्रिगेसन, नेपालको पर्यटन प्रवद्र्धनजस्ता कुरामा सहयोग पुग्ने उद्देश्य छ भन्नुभयो, उपलब्धि कस्तो पाइरहनु भएको छ ?
अध्यक्ष : यस्तो भयो, उस्तो भयो भनेर हामीले मूल्यांकन गरेका छैनौं । उदाहरण, मेलामा पुन समाजले ३, ४ सय जना सदस्यहरु लिएर आउँछ । उसले गोराहरुलाई पनि ल्याउँछ । मैले सुनेअनुसार गोराहरुले कति राम्रो रहेछ तपाईंहरुको कल्चर, कति राम्रो रहेछ चलन, भेषभूषा भन्ने प्रतिक्रिया दिन्छन् रे ! त्यसको प्रभाव, यस्ता कल्चर हेर्न पर्यटकहरु नेपालमा कत्तिको जान्छ ? भन्ने तथ्यांक, ग्राफ हामीले निकालेका छैनौं । मेरो विचारमा नेपाली मेलाबाट अवश्य पनि सकारात्मक प्रभाव परेको छ ।
नेपाल भ्रमण वर्ष २०२० का लागि नेपाली दूतावास लन्डनमा धेरै कार्यक्रम भइरहेका छन् । नेपाली मेलाले पनि नेपाल भ्रमण वर्षलाई धेरै सहयोग पुग्छ ।
नेपाली मेला आयोजना जुन उद्देश्यले गर्नुहुन्छ, त्यसमा तपाईहरु सन्तुष्ट हुनुहुन्छ त ?
अध्यक्ष : म सन्तुष्ट छु । भविष्यमा नेपाली मेलाको लेखाजोखा गर्नुपर्छ ।
मेलामा स्टल राख्न चाहनेले कस्तो प्रक्रिया पूरा गर्नुपर्छ ?
उपाध्यक्ष : होटल, रेस्टुरेन्टका लागि उपाध्यक्ष हरि गुरुङको संयोजकत्वमा टिम बनाएका छौं । गत जुलाई ७ तारिखको मिटिङपछि ७ जुलाईमै बुकिङ खुला गर्दा ८ जुलाईसम्ममा ६ वटा बुक भइसक्यो । एरिया नपुग्ने भएकाले ६ वटाभन्दा बढीलाई हामी स्थान दिन सक्दैनौं । साना साना स्टलहरु पनि छन् । जस्तो इन्फरमेसन टेन्ट, पीपल मोर्गेज, मम्स, घले मोर्गेजेज लगायत ।
लगभग कति स्टल हुन्छन् ?
उपाध्यक्ष : हामीले ३० वटा स्टल राखेका छौं । अहिले पनि बुकका लागि आइरहेका छन् । पछिल्लो जानकारी अनुसार लगभग स्टल भरिइसकेको छ । अब हामीले चाहेर पनि अरुलाई स्टल दिन सक्दैनौं ।
नेपाली दूतावास लन्डनबाट नेपाली मेलाका लागि के कस्तो सहयोग पाउँदै आउनु भएको छ ?
अध्यक्ष : दूतावासबाट हामीले धेरै कुराको मद्दत पाएका छौं । फाइनान्सियल्ली पनि सपोर्ट भइरहेको छ । मेलामा अरु देशका राजदूत लगायत पाहुनालाई सहभागी गराउन दूतावासले संयोजन गर्छ । त्यस्तै, नेपाली संघसंस्थालाई नेपाली मेलामा सहभागी भइदिन आह्वान पनि दूतावासले गर्दै आएको छ । कूटनीतिज्ञ र नेपालबाट मन्त्री ल्याउने विषयमा भिसा लगायत विषयमा पनि सहज गराइदिएको हुन्छ ।
एम्वास्डर कप पूर्वराजदूत डा.सुरेशचन्द्र चालिसेको पालादेखि वा नेपाली मेला सुरु भएदेखि नै दूतावासले गराइराखेको छ । जुन वेस्ट झाँकी र वेस्ट स्टेज पफर्मेन्सबाट हामीले विजेता बनाउँछौं ।
मेलामा कति खर्च लाग्छ ?
उपाध्यक्ष : खर्च एकदमै धेर छ । १५ हजार पाउन्डभन्दा बढी भेन्यूमै जान्छ । झाँकीसहित सहभागी हुनेहरुलाई हामीले २ सय पाउन्ड दिन्छौं । नृत्यमात्रै लिएर सहभागी हुन्छ भने १ सय ५० पाउन्ड फर्काउँछौं । अहिले एम्वास्डर कपको प्रथम विजेतालाई ११ सय, दोस्रोलाई ७ सय र तेस्रोलाई ५ सय पाउन्ड पुरस्कार छ । त्यसमा वेस्ट झाँकीको ३ वटा पुरस्कार छ १ हजार पाउन्डको । त्यसमा वेस्ट स्टेज पर्फमेन्स छ, १ हजार पाउन्ड । सानातिनो पुरस्कार छन् । हरेक झाँकीमा ३ वटा २, २ सय पाउन्डको पुरस्कार दिन्छौं । स्टेज प्रोग्रामलाई ३ सय । सबै गरेर ५५ सय पुरस्कारमा मात्रै खर्च हुन्छ ।
केही वर्षदेखि एनआरएनए कप दिन थालिएको छ । वर्तमान अध्यक्षसँग केही पैसा राखिदिनुस् भनेर कुराकानी हुँदैछ । सरदर ३५ देखि ४० हजार पाउन्ड नेपाली मेलामा खर्च हुन्छ ।
खर्च मेलाबाटै उठ्छ कि संस्थाबाट हाल्नुपर्छ ?
उपाध्यक्ष : अहिले हामीले संस्थाबाट भेन्यूको लागि ७५ प्रतिशत तिरिसक्यौं । कतैबाट आएको छैन । अहिले जेजति खर्च हुन्छ, सबै संस्थाबाट भइरहेको छ । हामीलाई आउने पैसा भनेको कार्यक्रमको दिन स्टलको पैसा हो । एउटा रेस्टुरेन्ट राखेबापत ८ सय पाउन्ड चार्ज लिन्छौं । सानातिना स्टलबाट केही पैसा आएको छ ।
हामी स्पोन्सर खोज्दैछौं । साथीहरु लागिरहनुभएको छ । हामीले भीआईपी सिट प्रबन्ध गरेका छौं, त्यसमा न्यूनतम ५० पाउन्ड तिर्नुपर्छ । ५० पाउन्ड दिए पनि कार पार्किङ र टिकट पनि काट्नै पर्छ । राफड ड्र को व्यवस्था गरिएको छ । जसमा एकतोला सुन र लन्डन–काठमाडौं, काठमाडौं–लन्डन हवाई टिकटको व्यवस्था पनि गरेका छौं ।
नेपाली मेला स्टाटिङ पिरियड र अहिलेमा के सुधार पाउनुहुन्छ ?
अध्यक्ष : सुधार अवश्य भएको छ । सहभागिताको हिसाब गर्ने हो भने पनि सुरुमा हजार, पन्ध्र सय मान्छेबाट सुरु गरेका हौं । अहिले १० हजारभन्दा बढी मान्छे सहभागी हुन्छन् । अवश्य पनि यसमा चासो राखेर नै सहभागी बढेका हुन् । अझै सुधार गर्नुपर्ने छ । हामीले व्यवस्थापनामा समय दिनुपर्छ ।
सहभागी नेपाली दाजुभाइ, दिदीबहिनीले हाम्रो संस्कार, संस्कृति यो हो । यो संस्कार, संस्कृतिलाई संरक्षण गरेर नानीहरुलाई कसरी हस्तान्तरण गर्ने भन्ने मानसिकता सबैमा भइदिने हो भने मेलामा उपस्थिति बढ्छ । बेलायतमा रहेका करिब दुई लाख नेपालीमा १०, १५ हजार सहभागी हुँदा मेलाले गति लिएको भन्न अलि अप्ठेरो छ ।
व्यवस्थापनमा सुधार्नुपर्ने छ भने भन्नु होला, हामी तयार छौं । नेपाली मेला सबैको हो । दूतावासको आह्वानमा तमुधिं यूकेले आयोजना गर्दै आएको मेलामा सबै जना एक दिन सहभागी भइदिनुहोस् ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
नेपाली मेला सबैको मेला हो, साझा कार्यक्रम हो । हामी सबैको दायित्व हो, नेपालको कला, संस्कृतिलाई बचाउने । एक जना व्यक्ति वा संस्थाको मात्रै होइन, सबैले दायित्व बोध गरौं । नेपाली मेलालाई कसरी हुन्छ, अझ व्यवस्थित र राम्रो गरेर सबै नेपालीको घरआँगनमा पुर्याउँ । नानीबाबुहरु सबैलाई सहभागी गराएर राम्रो नेपाली मेला बनाउँ भन्ने सबैलाई अनुरोध छ ।






