उमेशराज मोक्तान
लन्डन । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) २०१९–२०२१ का लागि अध्यक्ष पदका दाबेदार कुल आचार्यले आगामी अक्टोबरमा नेपालमा हुन गइरहेको चुनावबारे बेलायतवासी पत्रकारहरुसँग परामर्श गरेका छन् ।
गत ७ अगस्ट बुधबार आफूनै निजी निवास हेनवेल लन्डनमा उनले सल्लाह र सुझावका लागि पत्रकारहरुसँग भेटघाट गरेका हुन् । वर्तमान आईसीसी उपाध्यक्ष रहेका आचार्यले आगामी अक्टोबर नेपालमा हुने चुनावको लागि आफूनै घरबाट राष्ट्रको चौंथो अंग मानिने पत्रकारहरुबाट परामर्श सुरु गर्दै निकट भविष्यमा बेलायतका नेपाली समाज, संघसंस्थाहरु, सामाजिक तथा राजनीतिक अभियन्ताहरु, मतदाताहरु हुँदै अन्तर्राष्ट्रिय रुपमा सम्पूर्ण एनआरएनएसँग सम्बन्धित साथीहरुसँगको परामर्शलाई तिव्रताका साथ अघि बढाउने जानकारी पनि गराएका थिए ।
सन् २००८ बाट एनआरएनए यूकेको कार्यसमिति सदस्यबाट प्रवेश भई उपाध्यक्ष, आईसीसी सदस्य, युरोप संयोजक, च्यारिटी विभाग प्रमुखको भूमिकामा रहेको काम गरिसकेका आचार्यले ‘आफूसँग लामै अनुभव, कार्य क्षमता र सबैसँग मिलेर संस्थाको हितको लागि काम गर्न सक्ने खुवी भएकै कारणले आगामी अक्टोबरमा हुने चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने’ बताए । आचार्यले भने, ‘एनआरएनए एउटा पवित्र सबैको साझा संस्था भएकोले यस संस्थामा जातीय, क्षेत्रीय र राजनीतिक चुनाव हुनुहुन्न, सबै जातजाति, तह र तप्काका व्यक्तिहरुको मिश्रित साझा संस्था बनिनुपर्छ र अघि बढाउनुपर्छ । सबैले स्वत: स्फुर्त रुपमा एनआरएनएको सदस्यता लिनु पर्दछ, चुनावी रणनीतिको लागिमात्र सदस्य बन्ने र बनाउने तितो यथार्थतालाई अन्त गर्दै विधिविधान संशोधन गरिनुपर्छ’ भन्ने कुरामा जोड दिए ।
आफूनो लामो समयको अनुभवमा “एक पटकको नेपाली सधैंको नेपाली” नागरिकताको अभियान, भूतपूर्व गोर्खाहरुको समान हकको मुद्दा र नेपालमा प्रवासी नेपालीहरुको सुरक्षित लगानीको वातावरण विषयमा धेरैपटक नेपाल सरकारसँग वार्ताहरु गरे पनि सरकारपक्षबाट खासै कुनै ठोस निर्णयहरु नआइसकेको गुनासो पोखे । तर, एनआरएनएका यी मुद्दाहरु जारी नै रहेको पनि उनले बताए । नेपालमा विभिन्न किसिमका दीर्घकालीन लगानीे माग भए तापनि प्राय:जसो धेरै प्रवासी नेपालीहरुको हाईड्रोमा मात्र बढी लगानी रहेको खुलासा गरे ।
एकपटकको नेपाली सधैंको नेपाली, नेपाली नागरिकताको मान्यतालाई यथावत मान्यता प्राप्त गर्न नेपाल सरकारलाई दवाव दिइरहनु पर्ने र सबै प्रवासी नेपालीहरु एनआरएनसँग आवद्ध भएर अघि बढे नेपाल सरकारलाई अझ बढी यस नागरिकताको मुद्दामा सोच्नु पर्ने बाध्यता हुनेछ भन्दै सबै प्रवासी नेपालीहरु साथीहरुलाई एनआरएनएको सदस्यता लिइदिन आग्रह गरे ।
चुनावकै मुखमा भए पनि एनआरएनए यूकेले विश्वमा सबैभन्दा धेरै सदस्यता १३ हजार ८९० बनाएर नयाँ किर्तिमान कायम गरेकोमा हालको कार्यसमितिलाई धन्यवाद पनि दिए । तर, एनआरएनए राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय संस्था जहिले पनि संस्थाको एजेण्डा बन्नुपर्छ, व्यक्तिको एजेण्डा बन्नु नहुने जिकिर गर्दै पत्रकारहरुसँग परामर्श कार्यक्रमको अन्त–अन्त मात्र के गर्न आँटेको थिए एक–दुई जना पत्रकार साथीले फ्याट्ट पत्रकार सम्मेलनमा जस्तै केही प्रश्न तेस्याईहाले । आचार्यजी, तपाई आगामी अन्तर्राष्ट्रिय समन्वय समितिको नेपालमा हुने चुनावमा अध्यक्ष पदको प्रत्यासी उम्मेदवार हुने कुराले हामी सबै बेलायतवासी नेपालीहरु हर्ष र खुसीले गर्व महसुस गरिरहेका छौं । बेलायतको इतिहासमा कमसेकम यो पटक आचार्यले ठूलो आँट गरेका हुन् । र, हामी सबैले सहयोग गर्नुपर्छ पनि भनेका छन् तर बजारमा मुख्यतया बेलायतभन्दा अन्य देशहरुमा कुल आचार्य वार्गेनिङ्गको लागि देखावटी हल्लामात्र गरेका हुन्, भोलि चुनावको मुखमा कुमार पन्तसँग सहमती गर्दै उपाध्यक्षमा बसेर आफूनो व्यापार व्यवसायको प्रवद्र्धनमात्र गर्नेछन् । यदि यो बजारी हल्ला अफवाह मात्र हो भने तपाईले चुनावी आधिकारिक घोषणा किन नगर्नु भएको मात्र के भनेका थिए, आचार्य नाम नै ९ऋयय०ि कुल भद्र शालिन, ईमान्दर सोझा कुल आचार्य फड्किँदै, औला ठड्याउँदै बाघ गर्जिए जसरी गर्जिएर भनेँ, ‘हेर्नुस्, यो कुल आचार्य तपाई बेलायतवासी दाजुभाइ, दिदीबहिनीहरुले नै यहाँसम्म बनाइदिनु भएको कुल हो, जहाँ छु, जे छु, तपाईहरुकै साथ सहयोग, माया र आशीर्वादले छु । तपाईहरुको विश्वासघात गर्ने छैन । खान, बस्नु राम्रै पुगेको छ, एनआरएनएमा गएर व्यापार व्यवसाय प्रवद्र्धन गर्नु परेको छैन । बाँकी रह्यो चुनावी सहमतिको कुरो, चुनाव हो चुनावमा सहमतिका विन्दुहरु खोजिने छन् । सबै पक्षहरु खलबलाउने छन्, पहिला–पहिला पनि सहमतिका बाटाहरु खोजेका नै हुन् यसपटक पनि खोजिएला तर सहमति पन्तलाई आचार्यले हैन आचार्यलाई पन्तले सहमति गरेर अध्यक्ष बनाउनेछन्, सहमतिको प्रयास विफल भए प्रजातान्त्रिक पद्धतिबाट चुनावमा सहभागी हुनेछौं । चुनावमा हारजीत भए पनि हार्नेलाई सम्मान र जित्नेलाई सहयोग गर्दै पवित्र साझा संस्थालाई अगाडि बढाउनुपर्छ, यो सर्वमान्य सिद्धान्तलाई सबैले स्वीकार गरी अघि बढ्नुपर्ने छ ।’
चुनावी घोषणाको सम्बन्धमा भने सर्वप्रथम संसारभरीका एनसीसीका चुनावहरु सकिनुपर्छ, त्यसपछि मात्र आईसीसीका उम्मेदवारहरुले चुनावी प्रत्याशीको घोषणा गर्नु पाउने प्रावधान रहिआएकोले तपाईहरु ढुक्क हुनुहोस् मेरो चुनावी घोषणा सभा चाँडै नै हुनेछ र मलाई तपाईहरु सबै बेलायतवासी साथीहरुको सरसल्लाह, सुझाव र सहयोग चाहिन्छ भन्दै बेलायतदेखि संसारभरी कुलमय चुनावी वातावरण बनाइदिनुहोस् यस कामको लागि म पनि देश विदेशका साथीहरुलाई सरसल्लाह गर्दै अघि बढ्ने प्रतिज्ञा गर्दै पत्रकारहरुसँगको परामर्श बैठक अन्त भएको थियो ।






