समाजसेवी डम्बर सिंगक भन्छन्, ‘समाजसेवामै आत्मसन्तुष्टि मिलेको छ’

SHARE:

डम्बर सिंगकले प्रवासमा रहेका नेपाली समुदायलाई संगठित र सहयोग गर्दै मातृभूमिमा टेवा पुर्‍याउन थालेको १६ वर्ष नाघेको छ । ब्रिटिस सेनाबाट अवकाश पाएपछि उनी समाजसेवा गर्न भन्दै विभिन्न संघसंस्थामा जोडिएका हुन् । उनी अहिले तेह्रथुम समाज यूकेको अध्यक्ष, समरमाथा नेप्लिज कम्युनिटी आसफोर्डको उपाध्यक्ष छन् । सिंगक किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्षसमेत हुन् । धन थुपार्नुभन्दा अरुको सेवा गर्दा आत्मसन्तुष्टि मिल्ने बताउँछन् समाजसेवी सिंगक । प्रस्तुत छ, अथक् समाजसेवी सिंगकसँग एभरेस्ट टाइम्सका लागि नगेन्द्रराज नेम्वाङले गरेको कुराकानीको सम्पादित अंश ।

तेह्रथुम समाज यूके कहिले, कुन उद्देश्यले स्थापना भएको हो ?
सन् २००७ मा स्थापना भएको हो, तेह्रथुम समाज यूके । यो सामाजिक संस्था सबै यूकेवासी तेह्रथुमेहरुलाई संगठित गरी एकअर्कामा सहयोग आदानप्रदानको उद्देश्यले गठन भएको हो ।
यसको युवा संगठन पनि छ ?
२०१८ मा भएको अधिवेशनले छैटौं कार्यसमितिको साथै युथ कमिटी पनि गठन गरेको थियो । युथ कमिटीले तेह्रथुम समाजको ट्यालेन्ट हन्ट पनि आयोजना गरिसकेको छ ।
सालैपिच्छे हुन्छ ट्यालेन्ट हन्ट ?
यस वर्ष हामीले स्थगित गर्‍यौं । अर्को साल देशव्यापी रुपमा भव्य तरिकाले ट्यालेन्ट हन्ट गर्ने योजना छ । त्यसमा देशभरिका युवाहरुलाई अवसर दिने र २०२० को पर्यटन वर्षलाई प्रवद्र्धनमा जोड दिने निर्णय गरेका छौं । अब ट्यालेन्ट हन्ट नाम पनि फेरिने छ ।
गत साल कसले जित्यो ?
गत वर्षको हिलो ट्यालेन्ट हन्टमा बेनुका फोम्बोले जितिन् । त्यो प्रतियोगितामात्रै होइन, बेनुकाले अरु कम्पिटीसनमा पनि राम्रो गरेकी छिन् । तेह्रथुम युथ कमिटीले ट्यालेन्ट हन्ट आयोजना गर्नु गौरवको कुरा हो । बेनुकाको प्रतिभा संसारमा चिनाउन ट्यालेन्ट हन्टले मद्दत गर्‍यो ।
त्यसबाहेक तेह्रथुम समाजको वार्षिक कार्यक्रम के के हुन्छ ?
हाम्रो वार्षिक भेला हुन्छ । यस पटकको हामीले जुनमै गरिसकेका छौं । च्यारिटी कार्यक्रम पनि गर्दैछौं । अहिले बेलायतमा एनआरएनए यूकेको अधिवेशन पनि आउँदैछ । उम्मेदवारहरुले पनि मलाई भन्नुभयो, तपाईंहरु ठूलो आवाजमा आउनुहोस्, तपाईं चुम्लुङको नेतृत्व गरिसकेको मान्छे । तपाईंहरु खानपिनका लागि होइन नि !
तर, हामी उनीहरुले भनेजस्तोमा मात्रै सीमित छैनौं । तेह्रथुम समाजको म संस्थापक सदस्य हुँ । हामीले जिल्लाका तीन/चार जना क्यान्सरपीडितलाई मद्दत गर्‍यौं । संक्रान्ति बजारमा आगलागी भयो । मान्छेहरु थुप्रै प्रभावित भए । त्यसमा हामीले नेपाली रुपैयाँ १५ लाख सहयोग गर्न सक्यौं । म्याङलुङ क्याम्पस भवन, समाधिस्थल बनायौं । क्याम्पस भवनका लागि समाजको तर्फबाट १२ लाख रुपैयाँ पठायौं । यस्ता कामहरु मान्छेले थाहा नपाएर वर्षमा भेला हुने, खाने, पिउने बाहेक अरु केही गर्न सकेनन् भन्दारहेछन् । यी कुराहरुबारे जानकारी लिन म अनुरोध गर्छु ।
ब्रिटिस आर्मीमा हुँदा रिटायर्ड भएपछि समाजसेवा गर्छु भन्ने लाग्थ्यो ?
आर्मीमा हुँदा त्यस्तो लाग्दैनथ्यो । तर, समाजमा आउनु बाध्यता रहेछ । किनभने हामी रिटायर्ड हुनेबित्तिकै बिचल्ली सुरु भयो । यूकेमा बस्ने स्टाटस पाइएको थिएन । कतिले सिक्वेन्स मिलाएर यहाँको पासपोर्ट लिइसकेको अवस्था थियो । बाटो नपाउनेहरु बिचल्लीमा थिए । त्यही बिचल्लीमा पर्नेहरुमध्येका म पनि हुँ । सन् २००३ को अन्तिममा अवकाश पाएँ । त्यतिखेर गोर्खा आर्मीले यहाँ (बेलायत)मा सेटलमेन्ट पाउँदैनथ्यो । त्यसको लागि आवाज उठाउन व्यक्तिगत रुपमा नसकिने, समूहमा आउनुपर्ने रहेछ । त्यतिखेर बीजीडब्लूएस पनि खडा भयो । त्यस सँगसँगै आप्mनो परम्परा, संस्कार, संस्कृति जगेर्ना गर्नका लागि जातीय संस्थाहरु पनि खडा गर्नुपर्ने भयो । त्यस्तै जिल्ला समाजहरु खडा हुनुपर्ने भयो । नेप्लिज कम्युनिटीहरु संगठित हुनुपर्ने भयो, संयुक्त आवाज उठाउनका लागि । सामाजिक सेवाको क्षेत्रमा लागिहाल्ने सोच नभए पनि बाध्यताले आउनु परेको हो ।
चुनौती थियो, गोर्खाका लागि ?
म सार्जन्ट मेजर थिएँ । बूढी र छोराको पनि भिसा थियो । मलाई सकुन्जेल यूकेमा आउन बन्देज थिएन । तर, फर्केर आउँदा मेरो छोरा र मिसेसलाई इन्ट्री दिइएन । उनीहरुलाई यूरोप घुमेर आउनुपर्ने थियो । स्ट्रगल लाइफ । पुलिसलाई देख्दा पनि लुकेर हिँड्नुपर्ने अवस्था । त्यी दिनहरु हेर्दा कसरी गोर्खा संस्थाहरु स्थापना भयो, के के गर्‍यो भनेर अहिले पनि झगडा छ, मतभिन्नता छ । तर  फ्याक्ट जसले ब्यहोरेको छ, उसलाई मात्रै थाहा छ । उनीहरु संगठित भए, विभिन्न संगठन खोले । जसकारण भूतूपुर्व गोर्खाहरुलाई के सहज बन्दै गएको छ । समान पेन्सन लगायत कतिपय माग त अभैm पूरा भएको छैन ।
तपाईं भूपू अध्यक्षको नाताले किरात याक्थुङ चुम्लुङको गतिविधिलाई कसरी नियालिरहनुभएको छ ?
किरात याक्थुङमा म लामो समय बसेकोले तितामीठा थुप्रै अनुभव छन् । जुनै संस्थामा पनि सानातिना प्रबलम हुन्छ । तर, किरात याक्थुङचाहिँ दूतगतिमा अगाडि बढिरहेको छ । सफलता पनि हासिल गरेको छ । २००९ मा मैले नै चुम्लुङदेन खरिद गर्ने प्रस्ताव राखेको थिएँ । त्यत्तिबेला अध्यक्ष क्याप्टेन बम हुनुहुन्थ्यो । पहिले जसले प्रस्ताव राख्यो, उनैलाई संयोजक राख्ने चलन थियो । त्यतिबेला म चुम्लुङदेन खरिद कमिटीको संयोजकमा नियुक्त भएँ । संयोजक नियुक्त भएको केही महिना अर्थात् सन् २०१० मा मैले अध्यक्षको कार्यभार सम्हाल्नु पर्ने भयो ।
त्यतिबेला सुरु भएको सोचअनुसार ९ वर्ष पछाडि २०१८ मा चुम्लुङदेन खरिद गर्न सफल भइयो । यो सफलतामा अहिलेको कार्यसमिति, निवर्तमान कार्यसमिति र सबै सदस्यहरुको ठूलो हात छ । यसको क्रेडिट सबैलाई जान्छ । त्यसैले अहिलेसम्मका कार्यसमितिहरु अनि किरात याक्थुङ चुम्लुङका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । याक्थुङ चुम्लुङमा सानातिना जे कुरा भए पनि अभैm पनि अगाडि बढ्न सक्छ भन्ने मलाई विश्वास छ । अहिलेको कार्यसमिति पनि चुम्लुङ र चुम्लुङदेनलाई अगाडि बढाउन सक्षम छ । भविष्यमा आउने कार्यसमिति पनि सक्षम देखिन्छन् । हामीले गत सिसेक्पा तङनाममा जब हामी चुम्लुङदेन उद्घाटन गर्‍यौं, मान्छेहरुको प्रतिक्रिया आइरहेका छन् भने किरात याक्थुङ चुम्लुङ यूके संसारमा भएका संस्थाहरुमध्येमा एउटा धनी र सक्षम संस्थामा पर्छ भनेर मलाई भनेका छन् । किरात याक्थुङ चुम्लुङले चुम्लुङदेन खरिद गरेजत्रो नेपालमै पनि खरिद गर्नसकेको छैन । संसारमा भएका संस्थाहरुले पनि गर्न सकेका छैनन् भन्ने फिडब्याक छ । व्यक्तिगत रुपमा भन्दा आनन्ददायी र सन्तुष्टि हो ।
देन त खरिद गर्‍यौं यसमा खेलकुद मैदान बनाउने लगायतका संरचना विकासको कुरा पनि छन् नि ?
मैले साथीहरुमाझ कुरा राखिसकेको छु, अब विश्व लिम्बू भेलाचाहिँ हाम्रै चुम्लुङदेनमा हुनुपर्छ । अर्को वर्ष हुनसक्छ । हाम्रो चुम्लुङदेन चाहिँ भविष्यमा याक्थुङ अर्थात् लिम्बूहरुको स्टडी सेन्टरसम्म बनाउन पर्छ । आशा छ, यो पनि पूरा हुन्छ भन्ने विश्वास लिएको छु ।
जातीय संस्था र अन्य सबै जातजाति भएका साझा संस्थाबीच तपाईंले के भिन्नता पाउनुहुन्छ ?
कहिलेकाहीं मिच्युल अन्डरस्ट्यान्डिङ हुँदैन । मैले जातीय संस्थामा काम गरेँ, नेपाली कम्युनिटीमा काम गरेँ अनि तेह्रथुम समाजमा स्थापनाकालदेखि नै काम गरेको छु । लामो अनुभव छ । कहिलेकाहीं यी तीनवटा संस्थामा मिच्युअल अन्डरस्ट्यान्डिङ हुँदैन । सगरमाथा गोर्खा कम्युनिटीज्मा त सबैका प्रारम्भिक कमिटीहरु छन् । जस्तो, लिम्बुले तीज मान्नु हुँदैन, दसैं–तिहार मान्नु हुँदैन भन्छ । तर, कुनै भूमिका मात्र हो । कुनै पनि संस्था एउटा उद्देश्यमा स्थापना भएको हुन्छ । नेप्लिज कम्युनिटी सबै नेपाली समुदायको संस्कार, संस्कृतिका लागि हो । स्थानीयहरुका सुख, दुःखमा सहयोगका लागि स्थापना भएको हो ।
आदिवासी जनजाति महासंघ, एनआरएनमा रहेका साथीहरुले हाम्रो संस्थालाई वार्षिक भेला र खानपिनका लागि भनेर बुझ्ने गर्छन्, त्यो होइन । हामी उद्देश्य पूरा गर्नका लागि संस्थामा आबद्ध साथीहरुले गरिराख्नुभएको छ । म भन्न चाहन्छु, सानातिना जातीय संस्था होस्, नेप्लिज कम्युनिटी होस्, जिल्लावासी होस् । आआफ्ना लाइन छ । नेप्लिज कम्युनिटीले लक्षित समुदायमै मजबुत सम्बन्ध कायम गरेको हुन्छ । जिल्ला समाजले जिल्लावासीसँग मजबुत सम्बन्ध कायम गरेको हुन्छ । त्यस्तै जातीय संस्थाहरुले अरु जातीय संस्थाहरुसँग सुमधुर सम्बन्ध कायम गरेको हुन्छ । र, आफ्नो संस्कार, संस्कृति र अधिकारलाई मजबुत गरेर अगाडि बढेको छ । सबै आप्mना उद्देश्यमा ठीकै गरिराखेका छन् । जजस्ले सामाजिक संस्थामा काम गरिरहनुभएको छ । उहाँहरुलाई म सेलुट गर्छु ।
यी संस्थाहरु त छँदैछ, नम्बरीमा पनि भ्याउनुहुन्छ कसरी ?
दुःखको कुरो, नम्बरीमा चाहिँ म कहिलेकाहीं मिस गर्छु । यो तीनवटा संस्थामा त म सक्रिय रुपमा लागिरहेको छु । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्ष छोडेको मैले २०१२ मा । तर, अहिलेसम्म यो संस्थालाई पहिलो प्राथमिकता दिइरहेको छु । कुनै पनि उद्देश्य प्राप्तिका लागि सहयोग चाह्यो, कार्यसमितिबाट मात्रै आस गरेर हुँदैन । कहिलेकाहीं एकैदिन, एकै समयमा बैठक, कार्यक्रमहरु परिदिन्छ । तैपनि मिलाउँछु ।
कतिपय संस्थाहरुमा नेतृत्वको लागि मारामार पनि छ । कुनै ठाउँमा पाइँदैन पनि । किरातको अध्यक्ष गरिसकेको मान्छे तेह्रथुम समाजमा सचिव हुन पुगेँ । किनकि त्यहाँ सचिवको जिम्मेवारी सम्हाल्ने मान्छे पाइनँ । सचिव नहुँदा संस्था नै रोकिने भयो । त्यसैले म सचिव रहेँ । सचिवबाट महासचिव हुँदै अहिले नेतृत्वमा छु । आसफोर्ड कमिटीमा पनि रहरले होइन । आफ्नो लोकल कम्युनिटी हो । साथीहरुले महासचिव बस्नुपर्छ भन्नुभयो । म त्यहाँको संस्थापक कोषाध्यक्ष हुँ । छोडेर गएपछि फेरि निर्वाचन आयोग हुँदै महासचिव भएँ । अहिले उपाध्यक्ष छु ।
घरपरिवार चलाउँदै समाजसेवा गर्न सजिलो छैन । तैपनि अहिलेसम्म सम्भव गराइरहेको छु । संस्थाभित्र मात्रै खर्च पर्दैन बाहिर पनि समाजसेवी भन्नेबित्तिकै धेरैले माग्छन् दिनुपर्छ । दिन मन लाग्छ । अब विस्तार–विस्तार कम गर्दै जाने विचारमा छु ।
संघ संस्थाको काम गर्न परिवारबाट कत्तिको सहयोग मिलेको छ ?
परिवारको साथबेगर म अघि बढ्न सम्भव नै छैन । मैले समाजसेवा गरेको १६/१७ वर्ष भइसक्यो । मलाई लाग्ने गर्छ, समाजसेवा नगरेको भए ३/४ वटा घर हुन्थ्यो होला । कार्पेट टल्किएको हुन्थ्यो होला । कहिलेकाहीं झगडा पनि हुन्छ परिवारमा । मैले छोराछोरी र परिवारलाई भन्ने गरेको छु, आत्मसन्तुष्टि समाजसेवामै मिलेको छ । अरु मलाई चाहिएन, यही काम गर्न देउ । उनीहरुले पनि सहयोग गरिरहेका छन् ।
चुम्लुङको अध्यक्षता गरिरहँदा किरात याक्थुङ चुम्लुङ नेपालमा अक्षयकोष स्थापनाका लागि केही कदम चालिएको थियो । ५० लाखको कोष खडा सुरु गरियो । तर, त्यसको फिडव्याक आएको छैन । तत्कालीन कोषाध्यक्षज्यूले संकलन गरेर लानुभएको थियो । राम्रो कामको सुरुआत भए पनि कोष चलाउनेले कोष यसरी चलिराखेको छ भन्ने खबर गरेको छैन । यहाँ पनि कोषाध्यक्षले कुरा प्रस्तुत गर्न पाको छैन भनिरहनुभएको छ । १ करोडको हो, अक्षयकोष । बेलायतमा ५०, ५० हजार उठाएर पठाएका हौं, कहाँ पुग्यो थाहा छैन ।
सगरमाथा नेप्लिज कम्युनिटीको बारेमा पनि भनिदिनुहोस् न ?
अहिले अध्यक्ष चक्रबहादुर राई हुनुहुन्छ । पहिले क्लोज डाउन भएको नेपाली भवन प्रोजेक्ट उहाँको नेतृत्वमा यसपटक अगाडि बढाउँदैछौं । नेप्लिज भवन खरिद गर्ने भनेर २०१३ तिर सुरु भएको थियो । गत वर्ष रिओपन गरेर द्रुतगतिमा अगाडि बढाउँदैछौं । चार सय सदस्यले योगदान गरिसके । सबभन्दा बढी ३५ सय पाउन्डसम्म सहयोग गरेका छन् नेपाली घरका लागि । न्यूनतम ५ सय छ । धेरैजसोले १ हजार, २ हजार गर्नुभएको छ ।
आसफोर्डमा पनि नेपालीहरुले भवन बनाउनका लागि हाम्रा अध्यक्षज्यू लगायत पनि लाग्नुभएको छ । प्रत्येक आइतबार हाम्रो घरदैलो कार्यक्रम हुन्छ । नेपाली भवन बनाउन बाध्यता छ । भनेको बेला हलहरु पाइँदैन । चुम्लुङलाई पनि त्यस्तै भएको थियो । सगरमाथा कम्युनिटीलाई पनि त्यस्तै भइरहेको छ । यो सपना पनि पूरा हुने आस छ ।
तपाईं समाजसेवामा लामो समयदेखि सक्रिय रहनुभएकोले बेलायतमा सक्रिय नेपाली संघसंस्थाले सुधार्नुपर्ने कुराहरु के के छन् होला ?
एनआरएन, आदिवासी जनजाति महासंघजस्ता विभिन्न खाले संस्थाले केही पनि गर्नसकेको छैन भनेर भन्न भएन । सबै संस्थाहरु कुनै न कुनै उद्देश्य लिएर स्थापना भएका छन् । त्यो उद्देश्य पूरा गर्नका लागि निरन्तर दुःख गरेको छ । सबैले सद्भाव, समन्वयको भावना राख्दै एकापसमा स्वागत, सत्कार, सम्मानको कुरा गर्नुपर्‍यो । नेपाली संघ संस्थाले काम गर्दै जाँदा कतै कमीकमजोरी भए भने त्यसलाई मात्रै प्वाइन्टआउट गर्न भएन । राम्रा काम छन् भने त्यसलाई बधाई, धन्यवाद पनि दिने गर्नुपर्‍यो । नेपाली समुदायमा राम्रो कुराको प्वाइन्टआउट गरेको पाइएको छैन । नराम्रो कुरामात्रै नगर्ने हो भने हाम्रो नेपाली समुदाय पनि अगाडि बढ्न सक्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!