नगेन्द्रराज नेम्वाङ ‘वागिस’
एउटा गरिब मुलुकको दुर्गम क्षेत्रमा दैवीप्रकोप पर्न गएछ, भूकम्प, बाढीपहिरो गई ठूलै धनजनको क्षति भएछ । भूकम्पपीडितहरुको उद्धारका लागि देशविदेश कतैबाट पनि सहयोग जुटेनछ । नजुटेपछि प्रकृतिमाता अर्थात् सृष्टिकर्ता जसले यो संसारको निर्माण गर्यो, उसलाई पीडितहरुलाई आर्थिक सहयोग संकलनको लागि कार्यक्रमको आयोजना गरेछ ।
कार्यक्रम, दौड, पौडी खेल्ने प्रतियोगिता आयोजना गरी हेर्न आउने दर्शकहरुलाई टिकट खरिद गरी रकम संकलन गर्ने ईच्छा जाग्यो । इच्छानुसार कार्यक्रम आयोजना भयो । कार्यक्रमलाई अति आकर्षक बनाउन प्रतियोगिहरु मान्छे नभएर अरु प्राणीहरु रोजेछन् । जसमा जलप्राणी माछा, स्थल प्राणी चितुवा र आकाशमा उड्ने चील रहे । प्रतियोगिता भइरहेको दौडानमा चोटपटक आकस्मिक दुर्घटनाबाट बच्नका लागि मेडिक एम्बुलेन्स हेलिकप्टरसहितको व्यवस्था गरिएको थियो ।
पहिलो प्रतियोगिता दौड प्रतियोगिता, प्रतियोगिहरुलाई दौडिन लगाइयो । माछा र चिल दौडिन सकेन । चितुवा सजिलै दौडेर प्रथम स्थान ओगटी स्वर्णपदक प्राप्त गर्न सफल भए । चितुवा खुसी भयो, स्वर्ण पदकले सम्मान गरियो । अति नै खुसी खुसीको सीमा नै रहेन । दर्शकहरुको उपस्थिति लगभग १० हजार थियो । दोस्रो प्रतियोगिताको लागि प्रतियोगीहरुलाई समुद्रमा लगी पौडी खेल्न लगाइयो । चितुवा र चिल पौडिन सकेनन् । यसपल्ट भने माछा सजिलै पौडेर प्रथम स्थान ओगटी स्वर्ण पदकले सम्मानित भए । भर्खरै दौडमा प्रथम हुने चितुवा पौडिन नसकेर भिजेर लुथु्रकै आँखाबाट आँसु झार्दै तनावमा देखिन्थ्यो ।
आखिर कथा काल्पनिक न हो बडो गजबको छ, अन्तिम प्रतियोगिता सम्पन्नको लागि तीन प्रतियोगिहरुलाई हेलिकप्टरमा चढाइयो, हेलिकप्टरद्वारा एक अग्लो कहालीलाग्दो भीरको टुप्पामा अवतरण गराइयो । आकाशमा उड्न लगाइयो, माछा र चितुवा उड्न सकेनन् दौडिन र पौडी खेल्न नसक्ने चील आकाशमा आनन्दका साथ उडी दिए । अन्तिम प्रतियोगताको विजय हासिल चिलले प्राप्त गर्यो । सबै प्रतियोगिहरुले स्वर्णपदक प्राप्त गरे, आ–आफ्ना क्षेत्रमा । चितुवाको क्षेत्रमा मरुभूमि दौडिनका लागि, माछाको क्षेत्र समुद्र पौडिनको लागि हो भने चीलको क्षेत्र आकाश उड्नका लागि हो ।
कथाको सन्देश कसरी बुझ्न सकिन्छ भने हाम्रा गुरु डा. योगी बिकाशानन्द भन्नुहुन्छ, ‘हामी सफल जीवन जिउनका लागि आफ्ना क्षेत्र पत्ता लगाउनु सक्नुपर्छ ।’ ती क्षेत्रहरु, जस्तै साहित्य, अध्यात्म, राजनीति, पत्रकारिता, व्यापार व्यवसाय, कलाकारिता, समाजसेवा आफ्नो क्षेत्रमा मात्र सफलता प्राप्त गर्न सकिन्छ । आफ्नो क्षेत्र पत्ता लाउने तरिका आफूलाई कुन विषयमा बढी इच्छा जान्छ । इच्छा शक्ति पनि हो । इच्छानुसार विषय रोजियो भने सफल जीवन जिउन सकिन्छ । सफलताका पछाडि नाम, दाम, मान सम्मान सबै हुन्छन् ।






