काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बताएका छन् ।
सिंहदरबारमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए । उनले भने, ‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं ।’
विवादित व्यवसायीसँग व्यावसायिक साझेदारी देखिएपछि गुरुङले वैशाख ९ मा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
यस्तै लामिछानेले कसैलाई विस्थापित र घरवारविहीन बनाउने उद्देश्य सरकारको नभएको बताए । उनले भने, ‘दुई दिन, चार दिन अलिकति दुःख भयो होला, स्रोत साधनको सीमितताले पनि दुःख भएको हुनसक्छ । तर, कसैलाई पनि विस्थापित, घरवारविहीन बनाउने, सडकमा ल्याउने अवस्था सरकारले सिर्जना गर्दैन ।’
सरकारले शुक्रबारदेखि काठमाडौंको थापाथली, गैरीगाउँ, मनोहरालगायतका क्षेत्रका सुकुमवासी बस्तीलाई खाली गराइरहेको छ ।






