खिम घले
पछिल्लो १०/१२ दिनदेखि सामाजिक सञ्जाल टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको विषयले भरिएको छ । फेसबुक, ट्वीटरदेखि यूट्युव सबैमा उनैको विषयमा चर्चा भइरहेको छ । त्यही सामाजिक सञ्जाल आएको कुरा पत्याउने र त्यसैको आधारमा धारणा बनाएर सडकमा आउने क्रम पनि बढ्दो छ ।
तर, नेपालमा सामाजिक सञ्जालमा कुनै विषय उठ्ने र त्यसैले निर्देशित गरेर ठूलो समुह सहडमा आएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्तो हुँदै आएको छ । सामाजिक सञ्जालमा आएकै विषयहरुलाई सत्य मानिदिंदा कतिपय अवस्थामा कानुन कार्यान्वयन गर्ने निकायहरुलाई समेत असर परेको स्पष्ट छ ।
त्यसो त सामाजिक सञ्जालको प्रयोगले यस्ता नकरात्मक अवस्थाको सृजना मात्र गरेको छैन, धेरै उपयोगी अभियानहरु पनि चलाउन सघाउ पुगेको छ । एक प्रकारले भन्ने हो भने यिनै सामाजिक सञ्जालहरु अहिले व्यापार व्यवसायदेखि सामाज सेवा होस् वा जुनसुकै अभियानको लागि पर्याय नै बनिसकेको छ । कतिपय अवस्थामा सामाजिक सञ्जालले सामाजिक न्यायका लागि आवाज पनि उठाएको छ । अहिले पनि सडकमा आउनेहरुलाई लागेको त्यही हो ।
कुरा सुरु गरौं रबि लामिछानेकै विषयबाट, रवि लामिछाने विगत १२ दिनदेखि चितवन प्रहरीको हिरासतमा छन् । उनीलगायतका तीन जनालाई प्रहरीले उनकै पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा लिइएका हुन् । शालिकरामले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियोमा रविलगायत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई आफ्नो आत्महत्याको कारण उल्लेख गरेपछि उनीहरुलाई हिरासतमा लिइएको हो ।
प्रहरीले विधि विज्ञान प्रयोगशालाबाट त्यही भिडियोको आधिकारिताका जाँच गरेपछि रविसहित तीनै जनालाई पक्राउ गरेको हो । अहिले पनि अनुसन्धानमा खटिएका प्रहरी उक्त भिडियो शालिकरामले मर्नुअघि आफैले खिचेको भन्ने कुरामा विश्वस्त छ ।
तर, अहिले उक्त भिडियोको आधिकारितालाई लिएर सामाजिक सञ्जालमा टिप्पणीहरु मात्र आएका छैनन्, मानिसहरु सडकमै पुगेका छन् । आइतवार साँझमात्र प्रहरीले चितवनमा अश्रुग्याँस प्रहार गरेर भीडलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आयो । उनीहरु एउटै माग रहेको छ, रविलाई फसाइएकोले रिहाई गर । शालिग्राम पुडासैनीलाई जवरजस्ती वा अरु कसैले उक्त भिडियो खिचिएको हो र त्यसपछि उनको हत्या गरिएको हो भन्ने उनीहरुको भनाई रहेको छ ।
रवि आफैले पनि दोस्रो पटक पाँच दिन म्याद थप गरिएपछि हिरासतभित्रै आफु असुरक्षित भएको अभिव्यक्ति दिएका छन् । त्यसले उनको समर्थकहरुलाई झनै उत्तेजित बनाएको छ । उनीहरुले थप बल लगाएका छन् ।
खासमा यसो हुनुको सबैभन्दा प्रमुख कारणको रुपमा सामाजिक सञ्जाल देखा परेको छ ।सुरुमा आफ्नो तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले शालिकरामको भिडियो बाहिरिएपछि दवावमा महसुस गर्यो । रविको समुहले पनि त्यो भिडियो बाहिरिएपछि त्यसको विरुद्धमा कार्यक्रम गर्ने तयारी गर्यो । जव नेपाल आज भन्ने यूट्यूव च्यानलबाट उक्त भिडियो प्रसारण भयो, त्यसले सबै पक्षलाई दवावमा पार्यो ।
पहिलो त, प्रहरीलाई अनुसन्धान तिब्र बनाउन दवाव पर्यो । आरोपीहरुलाई नियन्त्रणमा लिनु प्रहरीको काम हुन्थ्यो । त्यसको तयारी गर्यो । अर्कोतिर रविको समुहलाई पनि दवाव पर्यो । आरोप लागिसकेपछि त्यसको प्रतिकार गर्नुपर्ने उनीहरुले महसुस गरे, त्यसैले उनीहरुले पनि अस्मिताँंग अन्तर्वार्ता लिने कोशिसदेखि आफुहरुसँग भएका सबै प्रकारका सूचनाहरुलाई प्रसारण गर्ने तयारी गर्यो । यि सबै कुराबाट प्रहरी बेखवर थिएन । रवि र उसको समुह सुरुदेखि नै निगरानीमा
परिसकेको थियो । प्रहरीले कार्यक्रम प्रस्तुत हुनुअघि नै उनीहरुलाई पक्राउ गरियो ।
यहाँसम्म पनि ठिकै थियो । प्रहरीले रविलाई अनुसन्धानको क्रममा पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनी निर्दोष देखिए रिहा हुने थिए । तर, यही बीचमा सामाजिक सञ्जालमा रविको समर्थकहरुले जे जस्ता कार्यहरु गरे त्यसले नेपालीको मानसिकतालाई उद्देलित बनाइदियो । धेरैले त्यसैलाई पत्याए र सडकसम्म पुगेका छन् ।
उनीहरुले गलत तरिका अपनाएर पनि रविलाई निर्दोषिता सवित गर्ने जुन कोशिस गरे यसले समस्या सिर्जना गरेको छ । त्यस मध्येमा महत्वपूर्ण भनेको फोटोसप गरेर भिडियोमा शालिकरामको आँखामा अर्को मान्छेको तस्विर राख्नु थियो । यसले उक्त भिडियो अरु कसैले खिचेको र जवरजस्ती बोल्न लगाएर हत्या गरेको भन्ने पारिदियो । त्यस्तै अर्को एउटा यातना दिइएको तस्विर सार्वजनिक गरियो । त्यसले पनि यथेष्ट भ्रम छर्ने काम गर्यो । यसरी दर्जनौ फुटेज, तस्विर र भनाईहरु आयो, जस्ले रविलाई फसाउनका लागि शालिकरामको हत्या गरिएको, त्यसमा उच्च नेतादेखि प्रहरी मिलेको भन्ने हल्ला फैलाईयो । धेरै जना यसमा न्यायाधीश बने । सामाजिक सञ्जालबाटै फैसला सुनाए । प्रहरीको अनुसन्धान वा अदालतको निर्णयसम्म कुर्ने कसैले धैर्यता नै लिएन ।
यसले समाजलाई उद्देलित बनायो । कति धेरै मानिसहरु सडकसम्म पुगे । धेरैले नबुझिकनै त्यस्ता कन्टेन्ट शेयर गरे । आफ्नो शब्दहरु थपे, मनपरि गालि गरे, कति जना त यसैकारण विद्युतीय अपराधमा हिरासतमा बसिरहेका छन् । यस्तो अवस्था आउनुको मुल कारण भनेको सामाजिक सञ्जालले निर्माण गरेको भीड नै हो । यसमा कतिपय बुज्रुक भनेर चिनिएकाहरु समेत मिसिएका छन् ।
यसले के देखाएको छ भने सामाजिक सञ्जालको उचित प्रयोग भएन भने यो खतरानाक छ । अहिले धेरै मानिसले बनाएको धारणा वा तथ्यहरुका बारेमा सोध्यो भने भन्ने गरिन्छ, मैले मिडियाबाट थाहा पाएको । फेरी सोध्नुस् कुन मिडियाबाट भनेर उसँग जवाफ हुँदैन । धेरैको जवाफ हुन्छ, फेसबुकमा आएको थियो वा यूट्युबमा थियो भन्ने जवाफ पाइन्छ ।
यहाँ मैले कसैको पक्ष लिन चाहेको होइन, मैले यहाँ सामाजिक सञ्जालमा आउने ‘फेक जानकारी’ले निर्माण गर्ने जनमतको मात्र कुरा गरेको हो । साथै त्यसले सम्बन्धित निकायहरुमा उत्पन्न गराउने असहज अवस्थाको कुरा मात्र गरेको हो । यदी रवि निर्दोष रहेको खण्डमा उसले न्याय पाउनु पर्छ भन्ने कुरामा कसैको दुई मत हुन सक्दैन । तर, उनीमाथी अनुसन्धानै नहुने वा हुन नहुने भन्ने जनमत सिर्जना गरिनु पनि ठिक होइन । साथै भीडले फैसला गर्दै जाने हो भने न्याय कसरी पाइएला भन्ने चिन्ता पनि हो ।
यही सिलसिलामा एक वर्ष अघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको विषयलाई पनि लिन सकिन्छ । त्यस घट्नामा अझै पनि अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरीको असक्षमता एक ठाउँमा होला, त्यसको दोष त्यहाँ भएको आन्दोलन र व्यापक रुपमा प्रयोग भएको सामाजिक सञ्जालले पनि लिनु पर्छ । त्यहाँ जुनढंगले प्रहरी अनुसन्धानलाई सामाजिक सञ्जाल र त्यसले बनाएको जनमतको आधारमा भीड जम्मा भएर दवाव सृजना गरियो, त्यसले नै अनुसन्धानकर्मीलाई अपराधीसम्म पुर्याउनबाट रोक्यो वा पुगेर पनि छाड्नु पर्ने अवस्था सृजना भयो ।
अझै पनि आधा दर्जन प्रहरी त्यही विषयमा निलम्बित छन्, पीडितले न्याय पाएका छैनन्, हत्यारा खुलेआम छन् । प्रहरी नकाम भयो, प्रशासन नकाम भयो, सरकार लाचार भयो भनेर सराप्न त सकिन्छ, तर स्वतन्त्र रुपमा अनुसन्धान गर्न नदिएर अनेक खालका हल्ला फिंजाएर आन्दोलन गराउने र मान्छे मर्नेसम्मको अवस्था सृजना हुनु भनेको सामान्य कुरा होइन, यसो हुनुको प्रमुख कारण सामाजिक सञ्जालमा फैलाइएका अनेक खाले हल्ला थियो । यस्तो कार्यले अनुसन्धानलाई प्रभावित बनाउँछ । अनुसन्धान गर्ने प्रहरी र न्याय दिने न्यायाधीश पनि त अखिर यही सामाजका सदस्य हुन् ।
यस सन्दर्भमा धेरै अघिको ऋतिक रोशन काण्डको पनि झल्को आउँछ । त्यसबेला अहिलको जस्तो सामाजिक सञ्जाल पनि थिएन । उद्यपी कुनै पत्रिकाले ऋतिक रोशनले नेपाल मन पर्दैन भन्यो रे भन्ने सामाचार छापेका भरमा काठमाडौंमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । जुन कुरा पछि ऋतिकले कही कतै भनेको प्रमाण भेटिएन ।
त्यसैगरी इराकमा १२ जना नेपालीको हत्या भएको घट्ना पछि कान्तिपुरमा भएको आक्रमणमा पनि यस्तै खाले अफवाह कारण बनेको थियो । मेनपावर कम्पनीहरु फुटाउँदै हिंडेको समुहमा कसैले मेनपावरको एजेन्ट यहाँ छिर्यो भनेर कान्तिपुर पब्लिकेशन्सको भवनदेखाएको भरमा कान्तिपुरमा आक्रमण भएको थियो । पछि छानविनका क्रममा त्यसमा संलग्नहरुको कान्तिपुरसंग कुनै किसिमको गुनासो पनि नभएको र कुनै कारण पनि नभएको तर भीडको लहैलहैमा लागेर आक्रमण गर्न आएको भेटिएको थियो ।
अन्त्यमा,
सामाजिक सञ्जालको प्रयोग अहिलेको समाजमा एक प्रकारको अपरिहार्य नै भइसकेको छ । सामाजिक सञ्जालबाट पर बस्नु भनेको समाजबाट टाढिनु जस्तै हुन थालेको छ । तर, त्यही सामाजिक सञ्जालमा एकत्रित भएको भिडले सही र गलत नछुट्याउँदा शान्ति सुरक्षा मात्र होइन, समाज नै भाँडिने संभावनाहरु पनि देखिएको छ ।
कतिपय मानिसका बैयक्तिक विषयहरुलाई अनावश्यक रुपमा सार्वसनिक गर्ने, त्यहाँ आउने फेक इन्परमेशनका भरमा धारणा बनाउने र त्यसैको आधारमा काम गर्दा दुर्घट्ना हुँदैन भन्ने कुनै निश्चितता छैन । त्यसैले सामाजिक सञ्जाल चलाउनु र आफ्नो धारणा राख्नु एउटा कुरा हो, त्यसमा आउने गलत जानकारीहरुबाट आफु बच्ने र समाजलाई कसरी बचाउने भन्ने अहिले प्रमुख सवाल बन्न थालेको छ ।






