लन्डनमा ११ औं नेपाली मेला सम्पन्न: नेपालमा लगानीको स्वर्णिम अवसर : मुख्यमन्त्री गुरुङ

SHARE:

एम्बासेडर कप सिक्लेस पार्चे समाज यूकेलाई
एटा संवाददाता

लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय नेपाली मेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । मेलाको आकर्षणको रुपमा रहेको एम्बासेडर कप सिक्लेस पार्चे समाज यूकेले जितेको छ । त्यस्तै, घान्द्रुक समाज यूके दोस्रो र चारभञ्ज्याङ्ग तमु समाज तेस्रो भए । उनीहरुलाई क्रमश: १ हजार १ सय पाउन्ड, ७ सय पाउन्ड र ५ सय पाउन्ड नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, विजेता सिक्लेस पार्चे समाज यूकेले एनआरएनए कप र नगद ३ सय पाउन्डसमेत हात पारेको छ ।

नेपाली दूतावास लन्डनको सहकार्यमा सम्पन्न कार्यक्रममा २६ वटा संघसंस्थाले आ–आफ्नो संस्कृतिमा आधारित झाँकी तथा नृत्य प्रदर्शन गरेका थिए । मेलामा उत्कृष्ट झाँकी तथा नृत्य प्रस्तुत गर्ने संघ संस्थालाई कपले सम्मान गरिएको हो । त्यस्तै, झाँकीतर्फ सिक्लेस पार्चे समाज यूके प्रथम, घान्द्रुक समाज यूके दोस्रो र रेडिङ्ग तमु समाज तेस्रो भए । उनीहरुलाई क्रमश: ५०० पाउन्ड, ३०० पाउन्ड र २०० पाउन्ड प्रदान गरिएको थियो । र, चारभञ्ज्याङ्ग तमु समाज यूके, गोर्खाली समाज यूके र पासा पुछ: समाज यूकेले २००÷२०० पाउन्ड नगद सान्त्वना पुरस्कार प्राप्त गरे ।

नृत्यतर्फ सिक्लेस पार्चे तसमाज यूके, घान्द्रुक समाज यूके दोस्रो र साउथ ईस्ट रिजनल तमुधिं लन्डन तेस्रो भए । उनीहरुलाई उनीहरुलाई क्रमश: ५०० पाउन्ड, ३०० पाउन्ड र २०० पाउन्ड प्रदान गरिएको थियो । र, चारभञ्ज्याङ्ग तमु समाज यूके र तामाङ सोसाईटी यूकेले २०० पाउन्ड नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरे । विजेता संघसंस्थाहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन, तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङ र प्रायोजकहरुले एम्बासेडर कप, एनआरएन कप नगद पुरस्कार तथा मेडलहरु प्रदान गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङले ‘संरचनाको हिसाबले संघीयता, शासनको हिसाबले गाउँ÷गाउँमा सिंहदरबार पुर्‍याएका छौं, शान्तिको आभाष पैदा गराएका छौं, द्वन्द्वहरुलाई समाधान गरेका छौं’ भन्दै देशमा समृद्धिको युग प्रारम्भ भएको जीकिर गरे । उनले सरकारले १५ औं पञ्चवर्षीय योजना तर्जुमा गरेको, आउने २५ वर्षमा प्रतिव्यक्ति १२ हजार ५०० डलर आय पुर्‍याउने लक्ष्यअनुरुप विकास र समृद्धिको अभियानमा अगाडि बढिसकेको समेत बताए । त्यस्तै, उनले गण्डकी प्रदेशले आगामी ५ वर्षमा ९५ प्रतिशत जनतालाई साक्षर बनाउने, ३ हजारदेखि ५ हजार मेघावाट जलविद्युत् उत्पादन गर्ने, आगामी १० वर्षमा विश्वविद्यालय, क्यान्सर, मुटु, मिर्गौलालगायत रोगको उपचार गर्नसक्ने अस्पताल स्थापना गर्ने योजना रहेको जनाए ।


मुख्यमन्त्री गुरुङले आफूलाई निमन्त्रणा गरेकोमा नेपाली मेलाका आयोजक तमुधिं यूकेलाई धन्यवाद दिँदै, ‘नेपाली मेला सबै जातिको, भाषीहरुको, सबै संस्कृति र धर्मावलम्बी नेपालीहरुको साझा रहेछ’ भन्दै सबैलाई धन्यवाद र सम्मान गर्न अनुरोध गरे । त्यस्तै, उनले, ‘गण्डकी प्रदेश विश्वकै अग्लो ताल, थोरङ्ग पास, गहिरो गल्छी र विश्वकै १४ वटा अग्लो हिमालमध्ये ३ वटा हिमाल रहेको स्रोत, साधन, प्राकृतिक सम्पदा लगायतले भरिएको बताए । साथै, उनले गण्डकी प्रदेशले पर्यटन, उर्जा, कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा विकास गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताउँदै अहिले लगानीको स्वर्णिम अवसर भएकोले सबैलाई लगानी गर्न आव्हान गरे ।

त्यस्तै, नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख एवं कार्यवाहक राजदूत शरदराज आरनले तमुधिं यूकेले नेपाली मेलामार्फत नेपालको संस्कृति, पर्यटन, भेषभूषा, नेपाली मन र नेपालीपनलाई विशेष प्रवद्र्धन गर्दै आएकोमा धन्यवाद दिए । साथै, उनले नेपाली पहिचान, संस्कृति, रीतिरिवाजलाई दोस्रो तथा तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आव्हान गरे ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङले नेपाली मेलामार्फत नेपाली संस्कार तथा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले एम्बासेडर कप प्रायोजक नेपाली दूतावास लन्डन, एनआरएन कप प्रायोजक एनआरएनए यूके, प्रमुख अतिथि, विशेष अतिथि, कलाकार, संचारकर्मी, प्रायोजक लगायत कार्यसमिति र दर्शकहरुलाई धन्यवाद दिए ।

त्यस्तै, मेला संयोजक एवं तमुधिं यूके उपाध्यक्ष जुमकाजी गुरुङले सन् २००९ देखि नेपाली मेलाको आयोजना गर्दै आएको बताउँदै मेलाका प्रमुख अतिथि, विशेष अतिथि, वर्किङ्ग कमिटी, प्रायोजक, उद्यमी तथा व्यापारीहरुलाई धन्यवाद दिँदै सबैलाई स्वागत गरेका थिए ।

विभिन्न च्यारिटी तथा व्यापारी स्टलहरु समेत भाग लिएको कार्यक्रममा विश्वका ८००० मिटर भन्दा अग्लो १४ वटा हिमाल आरोहरणको क्रममा रहेका गोर्खा सैनिक निर्मल पुर्जा, समाजसेवी इन्दिरा राना, मिस इंगलैंड सेकेन्ड रनरअप प्रतिष्ठा तृष रावत , योगेश्वर आमात्य लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा युवाहरुले समेत विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरि  मनोरञ्जन गराएका थिए ।

दर्शकहरुले लिएको प्रवेश टिकटको आधारमा ‘राफल ड्र’ उडाएको थियो । राफल ड्र का विजेतालाई लन्डन–काठमाडौं–लन्डनको हवाई टिकट र एक तोला सुन उपहार प्रदान गरिएको थियो । विभिन्न देशका कुटनैतिक नियोगका अधिकारीहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा क्होला सोंथर गाउँपालिकाका प्रमुख प्रेम घले, उपप्रमुख मुनी गुरुङ लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए यूकेका नयाँ कार्यसमितिका उम्मेदवारहरुको समेत बाक्लो उपस्थिति थियो ।

तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम महासचिव तुलाराम गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालनमा सूर्य गुरुङ, निलम गुरुङ, सिर्जना गुरुङ, योगेश गुरुङले सघाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!