नगेन्द्रराज नेम्वाङ ‘वागिस’
हामी सबैको चाहना स्वास्थ्य र आनन्द जीवन बिताउने हो । चाहना भएर पनि शारीरिक रोग र मानसिक तनावबाट मुक्त हुन सकिरहेका छैनौं । मानसिक तनावबाट मुक्त हुन नसक्नुका कारणमध्ये एक हाम्रो दैनिक जीवनशैली ।
अर्जेन्ट भनेको बिजुलीको करेन्टजस्तै हो । मानसिक रुपमा झड्का हान्छ यसले । हाम्रा गुरु डा. योगी बिकाशानन्द भन्नुहुन्छ, ‘हाम्रा दैनिक जीवन भोगाई मनोरञ्जन र हतासमा बितिरहेको हुन्छ । मनोरञ्जनात्मक कार्यक्रमले क्षणिक समयको आनन्द मिले तापनि जहाँ अमूल्य समय, पैसा र स्वास्थ्य गुमिरहेको हुन्छ । अर्जेन्ट भनेको नगरी नहुने जस्तो लाग्छ तर नगर्दैमा केही पनि बिग्रने वाला छैन ।’
उदाहरणको लागि टेलिफोनको घण्टी बज्छ । टेलिफोन रिसिभ गर्न आतुर हुन्छौं । यो अर्जेन्ट मात्र हो, महत्वपूर्ण होइन । टेलिफोन रिसिभ नगर्दैमा बिग्रिनेवाला केही पनि छैन । फेरि गर्ला अर्थात् कल ब्याक गर्न मिल्छ ।
एउटै समयमा धेरै कार्यक्रम हुनु र सबै कार्यक्रममा सहभागी हुन नपाउनु यो पनि अर्जेन्ट मात्र हो, महत्वपूर्ण होइन । यहाँबाट पनि मानसिक तनाव उत्पन्न हुन्छ । जीन्दगीको महत्वपूर्ण त भयानक रोग लाग्नबाट बच्नु, दैनिक आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु, आफ्नो परिवारलाई समय दिनु, शारीरिक समस्या ढाड दुखाई, कम्मर दुखाईबाट मुक्त रहनु, मानसिक समस्या, चिन्ता, तनावबाट मुक्त रहनु हो । महत्वपूर्ण चीजलाई प्राथमिकता दिइएन भने, मनोरञ्जन र अर्जेन्ट अगाडि आइदिन्छ ।
मनोवैज्ञानिकहरु भन्छन्, ‘टेलिभिजनभित्र धेरै च्यानलहरु हुन्छन् । तर, एकपल्टमा एउटै च्यानल मात्र हेर्न पाइन्छ । बीबीसी न्युज पनि हेर्न मिल्दैन एकैपल्ट भने जस्तै, त्यस्तै हाम्रो जीवनमा पनि मनोरञ्जन र सामाजिक कार्यक्रममा दौडधूप गर्दा महत्वपूर्ण चीज स्वास्थ्य र आनन्द गुम्ने पो हो की ?’






