एटा संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गतसाता भएको बेलायत भ्रमणले बेलायतवासी नेपालीहरुमा थप उत्साह जगाएको छ ।
तमुधिं यूकेद्वारा आयोजित ११ औं नेपाली मेलामा सहभागी हुन बेलायत आएका मुख्यमन्त्री गुरुङले नेपाली मेला लगायत बेलायतका विभिन्न स्थानमा भएका कार्यक्रममा नेपालमा लगानीको वातावरण रहेको बताउँदै नेपालको समृद्धिमा बेलायतवासी नेपालीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । गत शुक्रबार २३ अगस्टका दिन बेलायत आएका मुख्यमन्त्री गुरुङले नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाबारे चित्रण गर्दै नेपालमा स्थायी शान्ति कायम भइसकेको, विकासका अवरोधहरु हटिसकेको र स्थायी सरकारसमेत रहेकाले आपूmले सिकेको सीप, क्षमता, ज्ञान र कमाएको धन नेपालमा लगानी गर्न आव्हान गरे ।

मुख्यमन्त्री गुरुङले बेलायतका विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा विशेषगरी गण्डकी प्रदेशको आगामी ५ वर्षे तथा १० वर्षे विकास योजनाबारे जानकारी गराएका थिए । ‘संरचनाको हिसाबले संघीयता, शासनको हिसाबले गाउँ÷गाउँमा सिंहदरबार पुगिसकेको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार विकास र समृद्धिको अभियानमा अगाडि बढिसकेको जनाए । त्यस्तै, उनले गण्डकी प्रदेशले पर्यटन, उर्जा, कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा विकास गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताउँदै गण्डकी प्रदेशमा लगानी गर्न बेलायतवासी नेपालीहरुलाई अनुरोध गरे । अहिलेको संविधानले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेकोले पनि नेपालमा लगानी गर्न सहज हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
राष्ट्र निर्माण पहिलो चरणमा रहेको र विकासको बेला भएको जनाउँदै मुख्यमन्त्री गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सरकारले १५ औं पञ्चवर्षीय योजना अघि सारेको बताए । नेपालमा अनुकूल समय भएकोले लगानीको खाँचो भएको उनले सन्देश दिए । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ऐतिहासिक बेलायत भ्रमणको क्रममा निवर्तमान बेलायती प्रधानमन्त्री टेरिजा मे सँग त्रिपक्षीय सन्धिको पुनरावलोकन गर्नुपर्ने कुरा उठाएको बताउँदै छिट्टै भूतपूर्व गोर्खाजहरुका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
बेलायत आएदेखि नै विभिन्न संघसंस्थाद्वारा आयोजित भेटघाटमा व्यस्त रहेका मुख्यमन्त्री गुरुङले सिंगापुरलाई विकास गर्न ६० वर्ष र चीनलाई ४० वर्ष लागेको प्रसंग कोट्याउँदै नेपालले आपूmलाई विकास गर्न असाधारण तरिकाले काम गर्नुपर्ने अवस्था रहेको औंल्याए ।
नेपाल विभिन्न राजनैतिक कारणले पछि परेको भन्दै अब राजनीतिक समस्या समाधान भइसकेकोले पनि विकास निर्माण विकल्प नभएको उनको भनाइ थियो । मुख्यमन्त्री गुरुङले नेपालमा नयाँ राजनीतिक प्रणाली आए पनि काम गर्ने कार्यशैली भने पुरानै रहेकोले विकास निर्माण र जनताको काममा ढिलासुस्ती भएको बताउँदै काम गर्न नयाँ सिस्टम खाँचो औंल्याए ।
गत आइतबार १ सेप्टेम्बरका दिन स्वदेश फर्केका मुख्यमन्त्री गुरुङलाई नेपाली राजदूतावास लन्डन, एनआरएनए यूके, तमुधिं यूके, तमु प्ये ल्हु संघ यूके, लमजुङ समाज यूके, नेकपाका भातृसंगठन प्रवासी नेपाली मञ्च र नेपाली प्रगतिशील मञ्च, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूके लगायत स्थानीय नेपाली उद्यमी, व्यापारी, गाउँले आफन्तजन लगायतले स्वागत तथा सम्मान गरेका थिए । उनीसँगै स्वकीय सचिव एलिजा गुरुङ, क्होला सोंथर गाउँपालिकाका प्रमुख प्रेम घले र उपप्रमुख मुनी गुरुङ भ्रमणमा सहभागी थिए ।






