गैरआवासीय नेपाली संघ (एनआरएनए)को उद्गमस्थल हो बेलायत । १६ वर्षअघि स्थापना हुँदादेखि नै यस अभियानमा एक महत्वपुर्ण खम्बाको भुमिका बेलायतले खेल्दै आएको छ । यसपटक त झन् साढे १३ हजार बढि सदस्यसहित संसारभरका ८१ देशमा फैलिएका एनआरएनए राष्ट्रिय समन्वय परिषदमध्येकै सबैभन्दा ठूलो बनेको छ बेलायत ।

संख्याको हिसाबले संसारकै ठूलो बनेर इतिहास रचेको बेलायतसामु यसपटक अर्को महत्वपुर्ण अवसर पनि छ । डेढ दशकको इतिहासमा पहिलोपटक एनआरएनए यूकेको नेतृत्वमा महिला अध्यक्ष निर्वाचित गरेर अर्को उदाहरणीय इतिहास रच्ने अवसर बेलायतबासी नेपालीहरुसामु छ ।
एनआरएन यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको पक्षमा अहिले देखिएको जनलहरले पनि देखाउँछ कि बेलायतका नेपाली फेरि अर्को इतिहास रच्न आतुर छन् ।
एक शिक्षित, कर्तव्यनिष्ठ र हिम्मतिली नेतृकी रुपमा दरिएकी पुनमले सिंगो समुदायबाट न्यायो स्वागत पाइरहेकी छन्, उत्साहपुर्ण ढंगले हौसला बटुलिरहेकी छन् ।
एनआरएनए अभियानको जननी मुलुक मात्र नभएर अहिलेसम्मको यात्रामा एक मार्गदर्शक र अगुवा एनसिसीका रुपमा स्थापित छ बेलायत । जसमाथि अहिले विश्वभरका एनआरएनहरुको चासोपुर्ण नजर परिरहेको छ । एनआरएनमा महिला, बौद्धिक समुदाय लगायतको संलग्नता र सहभागिता खड्किरहेको अवस्थामा एनआरएन यूकेलाई नेतृत्व गर्छु भनेर अघि बढेकी एक शिक्षित, बौद्धिक, सामाजजिक क्षेत्रकी अनुभवी र क्षमतावान नेतृलाई अवसर दिन सक्यौं भने त्यसले सारा विश्वका एनआरएनहरुमाझ सकारात्मक सन्देश प्रवाह गर्ने मात्र होइन, बेलायतको गरिमालाई अझ उंचो पार्ने कार्य अवश्य गर्नेछ ।
योग्य र सक्षम पुनम
एनआरएन यूकेको अध्यक्ष उम्मेदवारका रुपमा चर्चित छन् अहिले पुनम । विश्वकै सबैभन्दा ठूलो एनआरएन एनसिसीका रुपमा रहेको बेलायतको नेतृत्व गर्ने अध्यक्षको पदमा उनी सक्षम, क्षमतावान र सुहाउंदो पात्र हुन् ।
दुई वर्ष अघि सम्पन्न एनआरएन यूके निर्वाचनमा सबैभन्दा बढि मत प्राप्त गरी अत्याधिक बहुमतले उपाध्यक्ष पदमा विजयी भएकी थिइन् पुनम । कार्यसमितिभित्रको सबैभन्दा महत्वपुर्ण र गहैं मानिने संघसंस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी उनले नै लिएकी थिइन् ।
बेलायतस्थित सम्पुर्ण नेपालीको सहभागितामा सम्पन्न काउन्सिल बैठकको संयोजनदेखि एनआरएन र समुदायबीचको सम्बन्ध बिस्तारका लागि जुन समन्वयकारी भुमिका र नेतृत्व पुनमले देखाइन् त्यसले नै उनलाई संस्थाको भावी अध्यक्षको लागि बलियो दाबेदारका रुपमा स्थापित गर्ने काम गरिदिएको छ ।
बेलायतको जनगणनामा नेपालीहरुको पहिचान स्थापित गर्नका लागि बेलायती प्रधानमन्त्रीको कार्यालयसम्म पुगेर लबिंग गर्ने कार्यमा होस् वा नेपालमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पक्षमा न्याय खोज्दै लण्डनस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने काममा होस्, पुनमले एक कुशल संयोजक र सक्षम नेतृको रुपमा आफुलाई प्रमाणित गरिसकेकी छन् ।
उपाध्यक्षमा निर्वाचित भएर आउनुअघि पनि उनले एनआरएन यूकेको कार्यसमितिअन्तर्गत रहेर काम गरेको अनुभव बटुलिसकेकी थिइन् । एनआरएन यूकेको महिला विभागको उपप्रमुख भएर उनले काम गरेकी थिइन् । तमु धिं यूके आमा समुहको संस्थापक अध्यक्ष पुनमले एशिएन महिला एशोसिएसन आमासहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेकी छन् । सामाजिक कार्यहरु भनेपछि हुरुक्कै हुने उनले क्यान्सर रिसर्च यूकेमा ८ वर्षसम्म स्वयम्सेविकाका रुपमा समेत सेवा गरेकी छन् ।
डेढ दशकको इतिहासमा पहिलोपटक आज तपाईंहरुकै एउटा चेली संस्थालाई सहि नेतृत्व दिन सक्छु भन्ने हिम्मतसहित यहाँहरुमाझ आएकी छु । मलाई काम गर्ने अवसर दिने,नदिने त्यो सबै तपाईंहरुकै हातमा छ, बेलायतबासी नेपालीसमक्ष सहयोगको लागि अपील गर्दै पुनमले भनेकी छन्, मलाई विश्वास गर्नुहोस् । म तपाईंहरुको मत खेर नजाने गरी काम गरेर देखाउनेछु । एनआरएनमा आबद्ध सबैले गौरव गर्न सक्ने गरी संस्थाको गरिमालाई उंचो पार्न सक्छु भन्ने आत्मविश्वास मसंग छ ।
हाम्रो एनआरएन, राम्रो एनआरएन निर्माणको आफ्नो अभियानलाई पूरा गर्ने दृढ अठोट पुनमसंग छ । उनले नागरिकता निरन्तरताको मागलाई तार्किन निश्कर्षमा पुर्याउने, पूर्व गोर्खाहरुको समानताको मागसहितको आन्दोलनलाई शिघ्र सफल बनाउन पहल गर्ने, युवा तथा महिला शसक्तिकरण अभियानलाई अघि बढाउने, एनआरएन कार्यालय सञ्चालनमा ल्याएर संस्थागत कामहरुलाई व्यवस्थित गर्ने, सदस्यता नविकरण गराउँदा हरेक पटक फोटो, पासपोर्ट लगायतका झञ्झट हटाउने, नयाँ पुस्तालाई एनआरएन अभियानप्रति आकर्षित गर्ने लगायतका एजेण्डालाई आफ्नो प्रमुख एजेण्डा बनाएकी छन ।
त्यसबाहेक नेपाल भ्रमण वर्ष २०२० सहयोग समिति गठन गरी विभिन्न प्रबद्र्धनात्मक कार्यक्रम गर्ने, एनआरएनले घोषणा गरेको १० अर्बको लगानी कोषलाई सहयोग गर्ने गरी गैरआवासीय नेपाली सामुहिक कोष समिति गठन गरी आवश्यक लगानी प्रवर्द्धनका कार्यहरु गर्ने , बेलायतको स्थानीय समुदाय र यहांको नेपाली समुदायबीचको सम्बनध सुदृढिकरणका लागि पहल गर्ने योजना पुनमले अघि सारेकी छन् ।
बेलायतमा रहेका नेपालीहरुको सीप, अनुभव , ज्ञान र दक्षतालाई नेपालसम्म हस्तान्तरण गराउनको लागि नलेज ट्रान्सफर कमिटि गठन गरी प्रभावकारी ढंगले काम गराउने, एनआरएन यूकेको अधुरो रहेको नेपाल हाउस प्रोजेक्टलाई अघि बढाउने, बेलायतको जनगणनामा नेपालीको पहिचान समावेश गराउन पहल गर्ने र बेलायतमा नेपाली भाषा, संस्कृति, कलाको संरक्षण तथा पुस्तान्तरणका लागि स्थानीय समुदायहरुसंगको समन्वयमा भाषा कक्षाहरु सञ्चालन गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने योजना पनि उनीसंग छन् ।
संस्थाका कल्याणकारी कार्यहरुलाई नियमित र व्यवस्थित गर्न कल्याणकारी सहयोग समिति गठन गर्ने, बेलायतमा नियमित रुपमा संकलन गरिएको सहयोग नेपालमा जम्मा गर्ने र आवश्यकता परेको बेला व्यवस्थित वितरण गर्ने बन्दोबस्त मिलाउने, नेपालका स्वास्थ्यचौकी र अस्पतालहरुमा टेलिमेडिसिनको व्यस्था गर्न पहल गर्ने योजना उनीसंग छन् ।
संस्थाको आर्थिक पारदर्शीताका लागि अघिल्लो कार्यसमितिबाट प्राप्त सम्पुर्ण विवरण सार्वजनिक गर्ने र आफ्नो कार्यकालभर हुने हरेक पेनीको कारोबार सम्पुर्ण सदस्यहरुमाझ स्पष्ट र पारदर्शी हिसाबले बुझाउने वचनवद्धता उनले गरेकी छन् । संस्थाका हरेक गतिविधि र जानकारीबारे सुचित गर्न नियमित रुपमा मुखपत्र प्रकाशन गर्ने योजना उनको छ ।
गैरआवासीय नेपालीहरुलाई नेपालमा मतदानको अधिकार सुनिश्चित गर्न तथा उनीहरुको लागि छुट्टै एनआरएन मन्त्रालय गठन गर्नका निम्ति आइसिसीसंगको समन्वयमा पहल गर्ने प्रतिबद्धता उनले गरेकी छन् ।
महासचिवमा बौद्धिक र शालिन फडिन्द्र भट्टराई
एनआरएन वृत्तमा एक बौद्धिक, बुझेको र अनुभवी पात्रका रुपमा लिइन्छन् महासचिव उम्मेदवार फडिन्द्र भट्टराई । मिलनसार एवम् भद्र व्यक्तित्वका धनी उनी सधै मिठो तर स्पष्ट बोल्छन् । बेलायतको नेपाली समुदाय र यहाँका संघसंस्थाहरुमा राम्रैसंग भिजेका भट्टराईको युवाहरुमाझ अझ विशेष क्रेज छ ।
पत्रकारिता र कविता, साहित्यमा समेत सक्रिय उनले एनआरएन अभियानसहित अरु समसामयिक विषयमा नियमित कलम चलाउंदै आएका छन् ।
एनआरएन यूकेको महासचिव पदलाई सुहाउने र आवश्यक भुमिका निभाउन सक्षम रुपमा भट्टराईलाई हेरिएको छ । योग्य र सक्षम पात्रका रुपमा उनीबाट समुदायले धेरै आशा र अपेक्षा समेत राखेको छ ।
एनआरएन अभियानमा लामो समयदेखि सक्रिय उनले यसअघि एनआरएन यूके कार्यसमितिको सदस्य र सचिवको जिम्मेवारी वहन गर्ने क्रममा पनि आफुलाई अब्बल प्रमाणित गरिसकेका छन् ।
दुई वर्षअघिको निर्वाचनमा पनि महासचिव पदमै प्रत्यासी थिए फडिन्द्र । तर नतिजा उनको पक्षमा आएन । न त सुरुदेखिकै तयारी थियो न निर्वाचन लड्ने मनस्थिति नै । अन्तिम समयमा आएर सहकर्मी र अग्रजहरुको आग्रह टार्न नसकेर उम्मेदवारी दिएका उनी केहि मतको अन्तरले पछि परे ।
सामान्यता कुनै पनि संघसंस्थामा निर्वाचन हारेपछि निश्क्रिय बस्ने प्रवृत्ति देखिन्छ । अझ एनआरएनमा त गुमनाम नै बन्नेहरु धेरै हुन्छन् । तर अपवाद थिए फडिन्द्र । एनआरएनमा वर्षौंदेखिको आफ्नो क्रियाशिलतालाई निरन्तर मात्रै होइन, निर्वाचनको पराजयपछि झन बढि सक्रिय बनाए उनले ।
एनआरएन यूकेमा कार्यकारी भुमिका नपाएका उनलाई एनआरएन केन्द्रले भने महत्वपुर्ण जिम्मेवारी दियो । एनआरएन आइसिसीको मिडिया र भाषा तथा साहित्य दुवै टास्कफोर्समा सदस्यका रुपमा मनोनित बने उनी । दुवै टास्कफोर्सभित्र आफ्नो भुमिकामा उनले कुनै कसर बाँकी राखेनन् । एनआरएन युरोप क्षेत्रीय सम्मेलनका क्रममा भाषा तथा साहित्य टास्कफोर्सले आयोजना गरेको साहित्य गोष्ठी सञ्चालनको जिम्मा उनैले पाए । उनको कार्यक्रम संयोजन र सञ्चालन शैलीले प्रशस्तै प्रशंसा बटुल्यो ।
यसपटक एनआरएन यूकेको निर्वाचनमा भट्टराईको उम्मेदवारी निकै बलियो ठानिएको छ । वास्तविक नतिजा त निर्वाचनपछि नै आउनेछ । तर उनको पक्षमा जुन लहर देखिन्छ, त्यसले एनआरएन यूके वृत्त र समुदायमा उनलाई महासचिवको रुपमा स्वीकार गरिसकिएको देखिन्छ ।
एनआरएन युकेमा यसपटक साढे १ हजार भन्दा बढिले सदस्यता लिए । संसारका ८० देशमा रहेका एनआरएन राष्ट्रिय समन्वय परिषदहरुमध्येकै सबैभन्दा ठूलो एनआरएन यूकेको महासचिव पदको जिम्मेवारी कम्ता चुनौतिपुर्ण छैन । तर यहि चुनौतिलाई सामना गर्न तम्तयार र प्रतिबद्ध बनेर आएका छन् भट्टराई ।
संस्थागत सुधारलाई आफ्नो प्रमुख एजेण्डा बनाएका उनीसंग एनआरएन यूकेको महासचिवका रुपमा संस्थामा संयोजनकारी भुमिका खेल्ने योजना छ ।
एनआरएनमा बढ्दै गएको खादा, माला र आसन, भाषणको विकृतिलाई कम गर्ने, संस्था र सदस्यहरुबीचको दूरी घटाउने लगायतका कार्यमा पनि आवश्यक सुधारको लागि महासचिवको रुपमा सशक्त भुमिका खेल्ने सोंच उनको छ ।
एनआरएनमा बौद्धिक खडेरी छ भनेर आलोचना भइरहन्छ । अझ बेलायतमा झन् बढि खड्किएको विषय हो यो । तर संस्थामा भट्टराई जस्ता बौद्धिक, अनुभवी, सक्षम र समाजमा स्थापित पात्रहरुको उपस्थितिले यस्ता आलोचनाहरुलाई चिर्दै जान सजिलो बन्ने आशा गर्न सकिन्छ ।
अनुभवी र भद्र यज्ञमुर्ति ढकाल स्कटल्याण्डबाट उपाध्यक्षमा
गैरआवासीय नेपाली संघ बेलायतको केन्द्रीय कार्यसमितिमा स्कटल्याण्डबाट चयन हुने उपाध्यक्षका उम्मेदवार यज्ञमुर्ति ढकाल लामो समयदेखि स्कटल्याण्डमा रहेर सामाजिक कार्यहरुमा क्रियाशिल अनुभवी र पाका अभियन्ता हुन् ।
गत वर्ष गठित एनआरएन स्कटल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा प्रत्यासी बनेका उनी सहमतिको लागि पछि हटेका थिए । परिषदको संस्थापक संरक्षकमा मनोनित ढकालले यसपटक स्कटल्याण्डमा एनआरएनको सदस्यता बिस्तारको लागि अग्रणी भुमिका खेलेका थिए ।
स्कटल्याण्डस्थित दियो क्लब यूकेका पूर्व अध्यक्ष एवम् संरक्षक रहेका उनी अहिले संस्थाको सल्लाहकार छन् ।
त्यस्तै ग्लास्गो नेपाली एशोसिएसनका वर्तमान सल्लाहकार एवम् संस्थापक सदस्य ढकाल सो संस्थाको कोषाध्यक्ष रहेकै बेला च्यारिटीमा दर्ता गरिएको थियो ।
ढकालले गुल्मी जिल्ला समाज यूकेको कार्यसमितिमा बसेर समेत काम गरिसकेका छन् ।
एनआरएन यूकेको केन्द्रीय कार्यसमितिमा स्कटल्याडबाट उपाध्यक्षका उम्मेदवार ढकालले एनआरएनलाई ग्राउण्ड लेभलका सदस्यहरुसम्म जोड्ने पुलका रुपमा काम गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् ।
ग्राउण्ड लेभलका भावना र आवाजलाई केन्द्रसम्म पुर्याउने र केन्द्रका कुरा ग्राउण्ड लेभलसम्म ल्याउने, बुझाउने नै मेरो प्रमुख लक्ष्य रहनेछ, ढकालले भने ।
स्कटल्याण्डस्थित सम्पुर्ण नेपाली संघसंस्थाबीचको एकतालाई बलियो बनाउने, एनआरएनमा स्कटल्याण्डबासी नेपालीहरुको पहुँच एवम सहभागिता बढाउने लगायतका योजना उनीसंग छन् ।
भिजन र एजेण्डासहित उपाध्यक्षमा सुनिलबाबु खड्का
न अरु प्रत्यासीलाई गाली गलौज, न अस्वस्थ्य प्रतिष्पर्धा । एकजना सालिन र निष्कपट व्यक्तित्व हल्ला कम, एजेण्डा र भिजनका साथ अहिले चुनावी मैदानमा छन् । उनलाई समाज बिगारेर चुनाव जित्नु छैन, आश्वासनमात्र दिएर मतदाता लोभ्याउनु पनि छैन् ।
एनआरएनए यूके उपाध्यक्षका प्रत्यासी सुनिलबाबु खड्का आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि मत दिन सबैमा अपिल गरिरहेका छन् । आफ्नो जीवनमा सूर्योदय नहुन्जेलसम्म कोशिस जारी राख्नुपर्छ, अंध्यारो आफैं भाग्छ , उनी उम्मेदवारीबारे प्रष्टयाउंछन्, मेरो उम्मेदवारी पनि समाजको सकारात्मक रूपान्तरणका लागि एक प्रयास हो । यो मेरो प्रयासमा सबैको साथ रहनेमा म विश्वस्त छु ।
उपाध्यक्षमा सुनिलको उम्मेदवारी किन ? उनीसंग स्पष्ट जवाफ छ, नागरिकता निरन्तरताको मागलाई तार्किक निष्कर्षमा पुरयाउन, भूतपूर्व गोर्खाहरुको समानताको लडाईंलाई शीघ्र समाधानका लागि दवाव दिन, नेपालमा रहेको पैत्रिक सम्पत्ति सुरक्षा गर्न, युवा तथा महिला सशक्तिकरण अभियानलाई अगाडि बढाउन, आंशिक रुपमै भएपनि एनआरएन कार्यालय सञ्चालनमा ल्याइ काम व्यवस्थित गर्न, प्रत्येक पटक सदस्यता नवीकरण गर्दा पासपोर्ट र फोटो बुझाउने झन्झटबाट मुक्त हुन र नयां पुस्तालाई एनआरएन अभियानप्रति आकर्षित गर्न ।
उनी समाजसेवाको नाममा पद ओगट्न, खादा पहिरिन र व्यवसाय उकास्न मैदानमा उत्रिएकै होइनन् । श्रोत साधन पर्याप्त छ, समय र पारिवारिक साथ छ । अनि उनी उत्साहित छन् एनआरएन अभियानमा ।वकिंग निवासी युवा उद्यमी तथा समाजसेवी सुनिल खड्का विगत १८ वर्षदेखि बेलायतमा छन् । नेपाली डायस्पोरासंग निकट भएर काम गरेकाले पनि उनी आफूलाई सबैले मत दिने विश्वास गर्छन् ।
मस्तिष्कमा समझदारी, कांधमा जिम्मेवारी, ह्दयमा इमान्दारीताका साथ बेलायतवासी नेपाली र हाम्रो मातृभूमि नेपालको लागि ह्दयदेखि मानवीय सेवामा समर्पित हुन उम्मेदवार भएको सुनिलबाबु बताउँछन् ।
अडानमा अडिग अभियन्ता : आइसिसी सदस्य उम्मेदवार दयानिधि सापकोटा
एनआरएनए यूके निर्वाचनमा यसपटक सबैभन्दा बढि चर्चा भएको क्षेत्र मिडल्याण्ड हो । २ हजार मतदाता रहेको यस क्षेत्रलाई एनआरएनमा प्रतिनिधित्व गर्दै अगुवाई गरिरहेका अभियन्ता दयानिधि सापकोटा आइसिसी सदस्यको उम्मेदवार छन् ।
दयानिधि आफ्नो भिजन र लक्ष्यमा जति स्पष्ट छन्, आफ्नो विश्वास र अडानमा उत्तिकै अडिग पनि । एनआरएन यूकेमा महिला अध्यक्षको इतिहास कोर्नुपर्छ भनेर मिडल्याण्डलाई एकमत बनाएर अभियानमा ल्याउनुमा अन्य उम्मेदवारहरुसंगै उनको पनि विशेष भुमिका छ ।
सापकोटाले आइसीसीमा उम्मेदवारी दिंदै आइसीसी सदस्यहरुको केन्द्रसंग समन्वय अभाव देखिएकाले त्यसलाई व्यवस्थित गर्ने, नेपाली नागरिकता निरन्तरता विषयमा जोड दिने, केन्द्रमा भएका गतिविधि डिजिटलाइज्ड प्रणालीबाट विश्वका ८० देशमा एकैपटक अवगत गराउन पहल गर्ने, आर्थिक पारदर्शीता अपनाउने, सामाजिक अग्रसरता थप तीव्र बनाउने आदि योजना बनाएका छन् ।
एनआरएन यूकेको मुल प्रवाहमा मिडल्याण्डको ठूलो नेपाली समुदायलाई समेट्ने अभियानको अंग्रपंक्तिमा दयानिधि छन् । संस्थाको विधानले व्यवस्था गरेपनि एनआरएन यूके केन्द्र इंग्ल्याण्ड राज्य समन्वय परिषदको गठनबाट पछि हटेपछि त्यसको विरुद्धमा सबैभन्दा चर्को आवाज उठाउने उनै थिए । फलस्वरुप चौतर्फी दबाब आएपछि यसपटक इंग्ल्याण्ड परिषदको लागि समेत निर्वाचन गराइंदैछ ।
बेलायतको लेस्टरमा बस्दै आएका दयानिधि व्यवसायिक रुपमा समेत निकै सफल र स्थापित छन् ।
बेलायत नेपाल दुवैतिर च्यारिटीकर्म, आपतविपत र प्राकृतिक विपत्तिमा साथ, नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने उनी नाम जस्तै दयालु मानिन्छन् बेलायतमा ।
काम देखाएरै चिनिएका दिपक श्रेष्ठ इंग्ल्याण्ड परिषदको अध्यक्ष उम्मेदवार
एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका चर्चित एवम लोकप्रिय एनआरएन अभियन्ता दिपक श्रेष्ठ उम्मेदवार छन् ।
यसअघि एनआरएन यूकेको कार्यसमिति सदस्य एवम् कोषाध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेका छन् श्रेष्ठले ।
सरल र मिजासिलो स्वभाव, अनि जिम्मेवारीप्रतिको इमान्दारिता र समर्पण । एनआरएन यूकेको कार्यसमितिमा दुई कार्यकालसम्म उनले देखाएको कामले नै उनलाई यहाँको नेपाली समुदायमा एक सक्षम, कर्तव्यनिष्ठ र इमान्दार अभियन्ताका रुपमा स्थापित गरिसकेको छ ।
म एनआरएनमा कुनै पद भन्दा पनि विशेष भुमिकाको खोजीमा थिएं । पहिलो पटक बन्दै गरेको इंग्ल्याण्ड राज्यको अध्यक्षको रुपमा काम गरेर देखाउन धेरै ठाउँ छ भन्ने लाग्यो र उमेदवारी दिने निर्णय गरेको हुं, श्रेष्ठले भने, एनआरएन यूकेका अग्रज एवम मेरा सहकर्मी साथीभाईहरुले पनि मलाई राज्य परिषदकै नेतृत्वमा जान प्रेरित गर्नुभएको छ ।
इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रास रुटसम्म पुर्याउने, स्वस्र्फुत रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।
बेलायतमा सामाजिक क्षेत्रमा समेत कहलिएका अभियन्ता श्रेष्ठ बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष हुन् । उनकै नेतृत्वमा अहिले १ करोड २५ लाख रुपियाको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माणाधिन छ । श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुंदै आएको छ ।
आइसिसी सदस्यमा योगकुमार फगामी : एनआरएनमा प्रमाणित एक कुशल नेतृत्व
एनआरएन यूकेको वर्तमान कार्यसमितिका अध्यक्ष योगकुमार फगामी आइसिसी सदस्यको लागि उम्मेदवार छन् । एनआरएन यूकेमा महासचिव, उपाध्यक्ष हुंदै अध्यक्षको रुपमा एक कार्यकाल काम गर्ने क्रममा फगामीले आफ्नो कुशल नेतृत्व , क्षमता र इमान्दारिता प्रदर्शन गरिसकेका छन् ।
अध्यक्ष निर्वाचित हुनुअघि आफ्नो कार्यकालमा एनआरएन यूकेको सदस्य संख्या १० हजार बनाउने प्रतिबद्धता गरेका उनले त्यसभन्दा अझ बढि साढे १३ हजार पुर्याएर संसारभरमै सबभन्दा धेरै पञ्जीकृत सदस्य रहेको सबैभन्दा ठूलो एनसिसीका रुपमा स्थापित गर्न सफल बनेका छन् ।
त्यसो त क्षेत्रीय अवधारणामा जाने एनआरएन यूकेको वर्षौंदेखिको अधुरो योजना पनि फगामीकै नेतृत्वमा पहिलोपटक सफलतापूर्वक कार्यान्वयन भएको छ । जसले गर्दा पहिले नारामा मात्रै सिमित बेलायतका सम्पुर्ण नेपालीहरुको साझा संस्था अहिले साँच्चीकै स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्ससम्म समेत पुग्न सफल बनेको छ ।
आइसिसी र एनसिसीबीचको समन्वय एवम् सहकार्यलाई थप सहज र प्रभावकारी बनाउन पहल गर्ने लक्ष्यसहित उनी आइसिसी सदस्यको उम्मेदवार बनेका छन् ।
एनसिसी अध्यक्षका रुपमा काम गर्दैगर्दा मैले त्यस्ता धेरै समस्याहरु देखें जसको कारण आइसिसी र एनसिसी मिलेर काम गर्न अफ्ठेरो भइरहेको छ । एनसिसीले आफ्ना कुराहरु आइसिसीमा लगेर राख्ने, सुनुवाई गराउने जस्ता काम पनि सजिलो छैनन्, फगामीले अनुभव सुनाए, हामीले जे जस्ता समस्या भोग्यौं, आउने नेतृत्वहरुले भोग्नु नपरोस् भनेर त्यसको समाधानका लागि पहल गर्ने योजना मैले बनाएको छु ।
आफ्नो कार्यकाल सफल पार्न बेलायतको सिंगो नेपाली समुदायबाट प्राप्त साथ र सहयोगका लागि फगामी कृतज्ञ छन् । समाजकै लागि थप योगदान गर्ने र गैरआवासीय नेपाली अभियानको पक्षमा आफ्नो अनुभव, ज्ञान, क्षमताको थप सदुपयोग गर्ने आकंक्षामा बेलायतका नेपालीबाट आवश्यक साथ र समर्थन पाउने आशा उनले राखेका छन् ।
पुनमको साथमा समावेशी र सक्षम टिम

एनआरएन यूकेको पहिलो महिला अध्यक्षका रुपमा इतिहास कोर्ने पुनमको अभियानमा अहिले उनी एक्ली छैनन् । बेलायतको सिंगो नेपाली समुदायबाट जसरी उनले साथ, र हौसला पाइरहेकी छन्, अन्य विभिन्न पदका लागि मैदानमा रहेका अधिकांश उम्मेदवारहरुबाट समेत समर्थन पाएकी छन् ।
अध्यक्षका रुपमा पुनमको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै उनकै नेतृत्वमा काम गर्ने आकांक्षसहित धेरै उम्मेदवारहरु उत्साहित बनेर आएका छन् ।
खुला उपाध्यक्षको २ वटा पदमा पशुपति पोखरेल र सुनिलबाबु खड्का उम्मेदवार छन् । मिडल्याण्डकाट सामुहिक उम्मेदवारी घोषणा गर्दै उपाध्यक्षको उम्मेदवार बनेका हुन् पशुपति । सिर्जनशिल लेस्टर नेपालको पूर्व अध्यक्षका रुपमा काम गरिसकेका उनले नेपालमा रहंदा देखि नै विभिन्न सामाजिक अभियान र राजनीतिक संगठनमा रहेर समेत काम गरेको अनुभव संगालेका थिए । अर्का उपाध्यक्ष उम्मेदवार सुनिलबाबु खड्का बेलायतका एक स्थापित व्यवसायी हुन् । नाम र सम्मान भन्दा पनि काम गर्ने प्लेटफर्मकै खोजीमा रहेका उनी स्पष्ट एजेण्डा र भिजनसहित मैदानमा छन् ।
स्कटल्याण्डको कोटाबाट उपाध्यक्षका उम्मेदवार हुन् यज्ञमुर्ति ढकाल । उनी सामाजिक क्षेत्रमा लामो अनुभव संगालेका पाका अभियन्ता हुन् । त्यस्तै, महिला उपाध्यक्षकी उम्मेदवार छन् रोजिना प्रधान । रोजीहिरा फाउण्डेसनमार्फत व्यक्तिगत रुपमा समेत नेपालमा धेरै च्यारिटीका काम गरिसकेकी अभियन्ता हुन् रोजिना। उनले एनआरएन यूकेको उपाध्यक्षका रुपमा संस्थामा महिला तथा युवा सहभागिता बढाउने, परोपकारी कोष अभिवृद्धि गराउने लगायतका योजना ल्याएकी छन् ।
महासचिव पदका उम्मेदवार फडिन्द्र भट्टराई एनआरएन वृत्तमा एक शिक्षित र बौद्धिक व्यक्तित्व हुन् । कार्यसमिति सदस्य र सचिवका रुपमा काम गरिसकेका उनलाई महासचिवका रुपमा निकै सुहाउँदो र बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।
२ वटा खला सचिवको लागि मिडल्याण्डका कोशलेश्वर ढकाल (कृष्ण) र प्लमस्टिडका जित रानाभाट उम्मेदवार छन् । शान्ति नेपाली समाज बेलायतको अध्यक्षका रुपमा उदाहरणीय काम गरेर प्रशंसा बटुलेका पात्र हुन् ढकाल । बर्मिंगहम र मिडल्याण्ड क्षेत्रमा धेरै स्थानीय नेपालीका दुखसुखमा साथी बनेका उनी थोरै बोल्ने र धेरै काम देखाउने स्वभावका अभियन्ता हुन् ।
हाईली स्किल्ड माइग्रेन्टका रुपमा १० वर्षअघि बेलायत आएका जित रानाभाट पनि सचिवका उम्मेदवार छन् । प्रभावशाली शैक्षिक योग्यता र बौद्धिक व्यक्तित्वका धनी रानाभाटले वर्तमान कार्यसमिति सदस्य र विद्यार्थी समन्वय विभागको प्रमुखका रुपमा काम गरेका छन् । उनले स्किल ट्रान्सफर लगायतका महत्वपुर्ण एजेण्डासहित आफ्नो निर्वाचन अभियान अघि बढाइरहेका छन् ।
महिला सचिवमा उम्मेदवार रञ्जिता मल्ल बेलायतकी एक सफल व्यवसायी हुन् । पेशाले आईटी ईञ्जिनियर रञ्जिता एनसिआई ग्रुप यूकेकी निर्देशक हुन् । उनले एनआरएनमा महिला सशक्तिकरण, नेपाली र बेलायती समुदायबीचको अन्तरघुलन, च्यारिटी लगायतलाई आफ्ना मुख्य एजेण्डा बनाएकी छन् ।
युवा व्यवसायी तिलक भट्टराई कोषाध्यक्ष पदका उम्मेदवार छन् । यति नेपाली एशोसिएसन, जेन्ट्स यूके सहितका विभिन्न सामाजिक संस्थाको कार्यकारी भुमिका रहेका उनी एनआरएन राज्य समन्वय विभागको एक संयोजकका रुपमा समेत काम गरेका थिए । उनी आर्थिक पारदर्शिता र आत्मनिर्भरताको एजेण्डासहित मैदानमा आएका छन् ।
सहकोषाध्यक्ष उम्मेदवार विष्णु चालिसे नटिंगहम नेपाली समाजका पूर्व अध्यक्ष हुन् । सफल युवा व्यवसायी चालिसे साझा नेपाली समाज यूकेमा पनि उपाध्यक्ष छन् । एनआरएनमा आर्थिक पारदर्शिता उनको पहिलो प्राथमिकता रहनेछ ।
नर्सिंग एशोसिएसन यूकेकी पूर्व अध्यक्ष समेत रहेकी प्रसुना कंडेल यसपटक एनआरएन यूके महिला संयोजककी उम्मेदवार छन् । कलाकारिता र समाजसेवामा समेत सक्रिय प्रसुनाले संस्थामा महिला सहभागिता बढाउनु नै प्रमुख लक्ष्य बनाएकी छन् । त्यसैगरी, युवा संयोजकको पदमा उम्मेदवार बनेका छन् नविन गुरुङ । ह्याब अ मोमेन्टबाट चर्चित मिडियाकर्मी नविन बेलायतमा एक सफल युवा व्यवसायी र फुटबल खेलाडी पनि हुन् । रचनात्मक सोंचका धनी उनले युवामैत्री विभिन्न योजना अघि सारेका छन् ।
कार्यसमिति सदस्यमा यम आचार्य, समिर खनाल, प्रकाश कंडेल, हेम लिम्बू, कृष्ण खरेल, नृपेश उप्रेती, भिमलाल भट्टराई, गोमा पौडेल र डा सुनिल शाह उम्मेदवार छन् । जो बेलायतको नेपाली समुदायमा चिरपरिचित, सामाजिक कार्यहरुको लामो अनुभवका धनी र आआफ्नो व्यवसायिक क्षेत्रमा सफल र स्थापित छन् ।
त्यसैगरी इंग्ल्याण्ड राज्य समन्वय परिषदको लागि दिपक श्रेष्ठ अध्यक्ष, लालबहादुर गुरुङ (एलबिजेड) उपाध्यक्ष, गोविन्द शर्मा खरेल सचिव, पुण्य रेग्मी कोषाध्यक्ष तथा चन्दन गुरुङ, मोहन ओली र वन्दना केसी सदस्य पदका उम्मेदवार छन् ।
पुनम जिताऔं अभियान
(प्रकाशित सामग्री सम्बन्धित पक्षको निजी विचार हो ।)






